२० असार २०८१ बिहीबार
image/svg+xml
कला

कहीं नभएको जात्रा मान्छेको मनमा!

अनुभूति

हिजोआजका केही घटनाक्रम र विचित्र प्रसङ्गहरू सुन्दा–देख्दा मलाई यस्तो लाग्छ कि कहीं नभएको जात्रा हाँडीगाउँमा होइन, मान्छेको मनमा निक्लँदो रहेछ।

‘नर देः’ अर्थात् हाँडीगाउँमा कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि तीन दिनसम्म मनाइने यो जात्रा काठमाडौंका अन्य जात्राभन्दा एकदमै बेग्लै र अनौठो छ। ब्रह्मा, विष्णु र महेश्वरको खटयात्रामा रथको गजुर भुइँतर्फ अनि गर्भगृह र भगवान्को मूर्ति आकाशतर्फ राख्ने ‘चोक्तेः नारायण’ जात्रा हरेक वर्ष निकाल्ने गरिन्छ। त्रिदेवका खट बोक्ने बेग्लाबेग्लै टोलका व्यक्ति र थप केही फरक विशेषताका कारण मुलुकमै कतै नदेखिएको प्रचलन देखिएकाले जनबोलीमा यो आहान बसेको पाइन्छ।

हाँडीगाउँमा त परापूर्वकालदेखि यो जात्रा निक्लँदो रहेछ तर मान्छेको मन पनि थरीथरीका जात्राको उद्गम स्थलजस्तो नै रहेछ कि क्या! मनजात्रा निस्कनलाई कुनै खास तिथिमिति जुर्नु पर्दैन रहेछ। साइत हेरेर, रीत पुर्‍याएर, विशेष पूजाआजा वा अनुष्ठान जसरी सम्पन्न गर्न पनि नपर्ने रहेछ। बाल, वृद्ध, वनिता, जुनै उमेरमा पनि आवेग र उन्मादले आत्मविचारलाई च्याप्प अँठ्याएपछि कति बेला मनको जात्रा धुमधामसँग निस्कँदो रहेछ भन्नै नसकिने!

०००

केही वर्षअगाडि नर्सका रूपमा म कार्यरत थलोमा सँगै काम गर्ने एउटी साथीसँग हालसालै मेरो देखभेट भयो। अस्पतालको हुलमुलमा च्यापिएका हामीले हात हल्लाएर मुस्कान मात्र आपसमा साटासाट गर्‍यौं तर उनलाई देख्नासाथ उनीसँगको त्यो विशेष अतीतले मलाई आफूतिर तानेको तान्यै गर्न थालिहाल्यो। त्यो दिन घर फर्किसकेपछि सिनेमा हलको प्रोजेक्टरमा रिल घुमेझैं विगतका सारा परिघटना मेरो आँखाअगाडि घुम्न थाले फननन!  

मेरा सहयोगी साथीको आफन्तकहाँ त्यसबखत एउटा नमिठो घटना घट्न पुगेको थियो। त्यो घटनाबारे थाहा लागेपछि, बेसरी नचुटिकनै नकुटिकनै दुःखको गह्रौं बोझले मेरो तनमनलाई थिलथिलो पारेको थियो। बेसरी बिथोलिएको मेरो सोचमा पनि जाम परेको थियो।

यस लेखकी केन्द्रीय पात्रको जीवनमा हठात् सिर्जिएको एउटा भयावह घटनाले जरा नै हल्लाइदिएको थियो मेरो सिंगो अस्तित्वलाई केही हप्ताभरि। मेरो मानसिकतामा ऊ यसरी टाँसिइरही कि कति रात अनिँदो काटें मैले, उसले किन त्यसो गरी भन्ने सोचेरै। ११ वर्षकी केटीलाई अवसाद र तनावहरूले यसरी हावाकावा खेलाउँछन् भने हामी छिप्पिएका मान्छेहरू मनमनै दिनमा हजारबार मरिरहेका त छैनौं कतै? भन्ने दुश्चिन्ताले लखेटिरह्यो मलाई।

काठमाडांै नजिकको काँठ क्षेत्रमा बसोबास गर्ने एउटा परिवार। आमा अर्काको मेलापात गर्दै बचेराका मुखमा माड लगाउँथिन्। बाबु, यसो कहिलेकाहीं मात्र पाइने क्याटरिङको काम गरेर परिवारको जीवन धान्न प्रयासरत। चार जना केटाकेटीलाई दुःखजिलो गर्दै हुर्काउँदै आइरहेको थियो त्यो संकटग्रस्त परिवार।

‘जहाँ गाह्रो त्यहीं सारो’ भनेजस्तै भएको थियो एक दिन। एउटा शनिबार अभिशप्त बनेर आयो उनीहरूका निम्ति। घरदेखि थोरै परको कोठेबारीमा आलु रोप्नलाई ब्याडको तयारी गर्दै थिइन् उनीहरूकी आमा। त्यही बारीमा आमाले अह्राएबमोजिम माटोमा गोबरमल ढुट्याएर मिसाउँदै थिए उनीहरूका दिदीबहिनी पनि।

अचानक के कुरा मिलेन कुन्नि, १४ वर्षकी दिदी र ११ वर्षे बहिनीको भनाभन बढेर लाप्पा खेलमा बदलियो। गोबरमाटो मुछेका हातले दुवैका अनुहार र केशलाई जगल्ट्याए। दिदीबहिनीको बाझाबाझ यसरी बढ्यो कि छरछिमेकले सुन्ने स्तरमा झगडा चर्कियो। ‘आ! यिनार्को लडन्तभिडन्त सधैंको यस्तै हो’ भनेर आमाले वास्तै गरिनन्। त्यसपछि जे नहुनु थियो त्यही भयो। दिदीबहिनी कुस्ती खेलेलगत्तै उनीहरूकै घरको सिकुवामा भुइँ छाडेर उभिएकी बहिनीलाई देखे छिमेकीले। ११ वर्षे माइली छोरी, कुनै दिन बाख्रा बाँध्ने दाम्लोको पासो लगाएर घरको दलिनमा भुइँ छाडेकी भेटिएली भनेर सपनामा पनि चिताएको थिएन कष्टसाध्य जीवन बाँचिरहेको त्यो परिवारले।

छिमेकका दुई जना हत्त न पत्त आमा चाहिँलाई बोलाउन गए। आमा घर आइपुगेपछि मात्र सानीलाई समाएर उचाल्न र डोरी काट्नतिर लागेछन् छिमेकका मान्छे। जहाँ र जहिल्यै, जीवन बचाउनु नै प्राथमिक कर्म भन्ने जान्दाजान्दै पनि आमाको अनुपस्थितिमा हात हाल्ने आँट गरिएनछ। त्यसो गर्दा आइलाग्ने भवितव्यको ख्याल गरेर बडो दूरदर्शी बन्नपट्टि लागेछन् छिमेकीहरू। नजाने त्यो दूरदर्शिताले जीवनजत्तिकै अनमोल कति क्षण खेर गयो कुन्नि, मलाई थकथक लाग्यो। दिगदारीले नराम्ररी अँठ्यायो। कहिलेकाहीं दूरदर्शिता पनि बडो गह्रौं बनिदिन्छ, जिन्दगीको दाँजोमा।

मुस्किलसित चलिरहेको छोरीको सास त भेटिन् आमाले तर भनेको बेला सवारीसाधन नपाइने गाउँ उनको। हारगुहार गरेर अचेत छोरीलाई अस्पताल ल्याइपुर्‍याउँदा मुटुको चाल मात्र होइन, सासको गति पनि बहुतै धिमा भइसकेको थियो।

सन्जोगले आइसियुमा बेड पाइएछ र उनलाई भेन्टिलेटरमा राखिएछ। त्यस दिनपछि हाम्री सहकर्मीले सधैं रुँदै सुनाउँथिन्, ‘हाम्रो जस ईश्वरको कृपा! तर लक्षण राम्रो छैन भन्छन् डाक्टरहरू। होस् पनि कसरी? मिसिनले मुटु चलाइरा’को छ, मिसिनले नै माइलीको छाती तलमाथि पार्देर सास फेरेजस्तो देखाइरा’छ। अनि? भेन्टिलेटर निकाल्दियो भने अहिल्यै सबथोक बन्द।

खेला खत्तम!’

मेरो मित्रमण्डली भारी मनले उसको चर्चा गर्दै चुकचुकाइरहन्थ्यो। होसहवास गुम भएको परिवारले खेपेको त्यो कहालीलाग्दो सकसलाई बयान गर्न भएभरका शब्द पनि कम लाग्दै थिए मलाई। पाँच दिनसम्म इन्तु न चिन्तु भएर ओछ्यानमा लडिरहेकी थिई ऊ। भेन्टिलेटरबाट सास फेरिरहेकी र आँखामा पनि कुनै हलचल नदेखिएकी यस्ती मान्छेको ब्रेनडेथ भइसकेको आशंका गर्थे डाक्टरहरू।

हामी भन्ठान्थ्यौं, अब बाँचिछ भने पनि कि पक्षाघात कि त केही शुद्धि नहुने कोमा अवस्थाको जीवन हुने भो यो सानीको किनकि तीन मिनेटभन्दा ढिला समयसम्म अक्सिजन पाएनन् भने मस्तिष्क कोषहरू बेकम्मा हुन्छन्। चिकित्सा विज्ञान त्यसै भन्छ।

०००

एक दिन बिहानी ड्युटीका हामी तीन जना स्टाफ दिउँसोको खाना खाइसकेपछि त्यही सानी केटीलाई सोचेर ननिको मानिरहेका थियौं। सात दिन भइसकेको थियो भेन्टिलेटरमा उसको आइसियु बसाइ।

लन्चमा गएकी हाम्री सहकर्मीले आएर सुनाइन्, ‘आज बिहान त भेन्टिलेटर अफ गरेछन्। आफैंले सास फेर्न थालिछ माइलीले। पानी खान्छ्यौ भनेर सोध्दा ‘अँ’ मा मुन्टो हल्लाई अरे। अनि थोरै पानी पिइछ पनि! अहिले लन्च आवरमा नि थोरै कालो चिया चम्चाले ख्वाउँदा सुलुसुलु निलिछ। भरेतिर पानी मिसाको दुध पनि अलिकति खान दिन्छन् अरे !’

उफ, मेरो भगवान्! खुसीको आँसु थामिएन हामी कसैको। मनभरि भयौं सबै। ‘आयुको छोरालाई वायुले छुँदैन’ भन्नुहुन्थ्यो मेरी मुवाँ। हो रहेछ। माया मारिसकेकी फुच्चीले मुत्युलाई चक्मा दिएर फिरेको त्यो खबर आफैंमा एउटा चमत्कार थियो हाम्रा लागि। गाउँमा ‘विश्वासी’हरूले ‘आमेन!’ पछि भुराहरूलाई बाँड्ने एउटा ठुलो रंगिन हुप्सियो अथवा एउटा चकलेटको लोभमा हरेक शनिबार ‘बालसँगाती’मा सरिक हुन्थें म। बाइबलको कुनै परिच्छेदमा आउने ‘अनि, प्रभु यशु बौरिउठ्नुभो...’ शीर्षकको अद्भुत पुनरावृत्ति भएझैं लाग्यो मलाई त्यो घडी।

भर्खरै लन्च खाइसकेका थियौं। खुसी सही नसक्नुको भएपछि, टनक्क टन्केको ट्याम्के भुँडीलाई बाल दिएनौं। खाजाखाना खाने कोठामा युनिफर्ममै कम्मर भाँच्दै छमछमी नाच्न थाल्यौं हामी, ‘तिम्रै नै मयाँ लाग्दछ माइली सम्झन्छु छिन छिन, तिमीले मयाँ नगरे पनि गर्छु म दिन दिन ...।’  

तत्काल उसलाई भेट्न आतुर भयो मलाई र अनुमति मिल्छ भने ऊ सम्बन्धित यस अमङ्गलकारी घटनाबारे लेख्ने मेरो इच्छाले पनि भावुक स्वीकृति पायो। ‘आज त माइलीलाई भेट्ने खुसीमा सबै जना तँ छाड् म छाड्मै लागिरहछन्। पर्सि आइतबार भेट्नु न।’ भनिन् मेरी सहकर्मीले।

०००

आइतबार, उसलाई भेट्न हतारिँदै गएँ म आइसियु। अन्य सामान्य बच्चीझैं सहज थिई ऊ। मजाले आफ्नो नाम बताउँदै बिना कुनै हिचकिचाहट एकसरो कुरा पनि गरी मसँग। थुप्रै अन्योल र अलमलहरू अनुहारमा छरपस्टिएका उसका बाबु छेवैमा उभिएका थिए। बाबु बाहिरिएपछि आमा भित्र आइन्।

‘किन अस्पताल बस्नुपरेको नि?’ भन्ने मेरो सोधाइमा उसले भनी, ‘जरो आएर।’

‘नानी, के गरेकी तैंले? हेर् त, हामी सबै कति रोयौं। अरू सबैले कति दुःख पाए। तँ पनि त मरेर बाँचिस्,’ उसकी आमालाई छोरी बाँच्न सफल भएकीमा अफै रुन पुगेको थिएन।

‘आफूलाई ह्याँ केही थाहा छैन भन्दैछु। अझ हेर न त्याँ ! घरिघरि...,’ झिजो मान्दै त्यति मात्र भनी उसले आमालाई।

मैले पनि धेरै शोधखोज गरेर उसलाई दिक्क लगाइनँ। बरु उसको केस फाइल सरसर्ती हेरें पढें। सामान्य स्वास्थ्य अवस्था नर्मल रेन्जमा भए पनि उसलाई पार्सियल एम्नेसिया अर्थात् आंशिक विस्मृतिले छोएको हो कि? भन्ने प्रश्नचिह्न राखिएको थियो।

त्यसो त, संकोचका कारण अथवा आत्मग्लानिले गाँजेर पनि विशेषतः त्यो खास घटना उसले बिर्सेको अभिनय गरेकी पनि हुनसक्छे भन्थे डाक्टर सा’बहरू।

यस्तो दुष्प्रयास दोहोर्‍याउन सक्ने सम्भावना रहेकाले उसलाई विशेष हेरचाह र कडा निगरानीमा राख्न आवश्यक रहेको उल्लेख थियो मनोचिकित्सकको परामर्शमा। मैले पनि अबउप्रान्त नियमित मनोचिकित्सकको सल्लाह र घरको वातावरण पनि उसको अनुकूल बनाउन जरुरी बनेको सल्लाह उसका आफन्तसामु तेर्साएँ। तर मेरो सुझावले हावा खायो,‘आ दिदी ! अहिले खाए भरे के खाउँ छ, तो एउटीको गोठालो लागेर वातावरण–सातावरण बनाउन कल्लाई फुर्सद र! तेल्लाई मात्र हेरेर भएन। तेतिका लालाबाला छन्, न बाउको आयस्ता न आमाको कमाइ। औंसी पुर्ने लागेजस्तो उसै त कैलेकाइँ छोरछोरीको मुखाँ माड लाग्दैन। धन्न ! फिरी बेड पाइयो र पो! नत्र तेतिका दिन आइसियुमा राखेर उपचार गर्दाको चालीस पचास हजार रिन तिर्दैमा तेसका बाउको उमेर सिद्दिइसक्थ्यो। आ होस्, ज्याद्री रै’छ। कालको मुखाँट फुत्केर आ’की छ। अब जे त होला नि !’

मेरो फोगटिया सल्लाहको वास्तवमा कुनै अर्थ थिएन र छैन पनि। हातमुख जोर्ने समस्यासँग जुध्दै ठिक्क हामीजस्ता धेरैलाई यस्ता परामर्श र अनुकूल वातावरणका कुरा एकादेशको कथाजस्तो मात्र हो।

आकाश पातालको फरक छ जीवन, कुरामा र व्यवहारमा। तर कम्तीमा उसका दौंतरीहरूसँग छात्रावासमा राखेर उसलाई मनलाग्दी पढाइदिने चाँजोपाँजो मात्र मिलाइदिन पाए? भन्ने उत्कट चाहना सलबलाउँथ्यो मभित्र। उसकी आफन्त भन्थिन्, ‘काललाई त छलेर आई तर अब तेल्लाई गाउँमा बाँच्न मुस्किल पार्दिन्छन्। तँ त यसरी झुन्डेकी त होस् नि ! भन्नेछन् साथीसँगाती र गाउँलेहरूले।’

उफ ! फेरि अर्को त्रासदी, फेरि अर्को अलच्छिन सम्भावना ! उसलाई सम्झेर यति लेख्नुबाहेक थप केही गर्न नसक्ने मेरा आफ्नै मजबुरीहरू थिए, छन्। ऊ भने अत्यन्तै उत्साही, जाँगरिली र मनमौजी किशोरी रे। ‘भो, अब आमालाई मेलापात गर्न सघा, भाइबैना पढ्छन्’ भन्दा मान्दै मानिन अरे। पढ्न मरिहत्ते गरेकाले भर्खर दुई कक्षा छिचोल्न लागेकी रहिछ उसले।

प्लास्टिकको दाम्लोले दर्फर्‍याएको उसको घाँटीको एकचोक्टा कालो दागलाई अनि सास फेराउन छिराइएको ट्युबले बनाएको ओठको कापको उसको घाउलाई हेर्दै मैले सोचिरहें।

किशोरवयको सिँढीमा प्रथम पाइला टेक्नलाई बालापनको अन्तिम खुड्किलो छाड्ने तरखरमा खुट्टो उचाल्दै गरेको उसको उमेर। मनभरि यो याममा फुल्ने सुनगाभा फूलजस्ता सुन्दर सपना बोकेर रगरगाइहिँड्ने उसका पैतालाहरू। एकै झमटमा आशा र उत्साहको अभावरूपी भुमरीमा फसेर ती गोडा किन भुइँ छाड्न बाध्य बने होलान्? बेजोडको जिजीविषा भएकी अबोध फुच्चीको मनमा अचानक त्यस्तो के आइलाग्यो होला कि उसलाई जीवन बेरङ्ग, बेस्वाद, बेकार लाग्यो र आफूलाई सिध्याउने दुस्साहस गरी होली।

त्यो सनक थियो कि अतिशय भावुकताले उब्जाएको जीवनप्रतिको वितृष्णा? वा आपूmलाई माया गर्नेहरूप्रतिको घुर्की? वा ख्याल ख्यालमै झ्याल परी कि ऊ? त्यो सब म भन्न सक्दिनथेँ किनकि उसको आलो घाउ कोट्याएर खोतल्न मनाही थियो।

जे होस्, अरू थोक उपलब्धी केही पाइए जस्तो नलागे पनि कम से कम कलिलैमा नासिन आँटेको एउटा जीवनफूल जोगियो। अतीतको त्यो अँध्यारो पाटो साँच्चिकै विस्मृतिको गर्भमा सधैंका लागि विलीन होस् भन्ने कामना गरेकी थिएँ ताकी उसको भविष्यलाई त्यसले ग्रहण लगाउन नपाओस्।

०००

महिना दिनअघि अस्पताल जाँदा फेरि भेटिइन् ती साथी। खाना खाने समयमा भेट भएको थियो। बसेर एक छिन बात मार्‍यौं। यसपालि पनि हाम्रो भलाकुसारीको केन्द्र माइली नै भई।

‘उस बेलाकी लुरी माइली अहिले त जिउ लागेर मोटाएकी छ। सोलोडोलो भा’की छ। त्यो कुरा त के, यो अस्पताल र तपाईंलाई समेत बिर्सिसकी। उसको आफ्नै संसार बना’की छ। देख्दै रहरलाग्दी दुई बर्से भुकुल्ली छोरी स्याहार्दै भक्तपुरमा लोग्नेसँग बस्छे। लब म्यारिज गरी आफैंले। पछि हाम्ले मन्दिरमा लगेर यसो टिको टँसाइ गर्देर बिहे गर्दिएम्।’

‘माइली अहिले कहाँ के गर्दैछे नि?’ भन्ने मेरो सोधाइमा यो पालि पुनः नाचूँ नाचूँ लाग्ने जवाफ थियो उसको।

प्रकाशित: १५ असार २०८१ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App