२० असार २०८१ बिहीबार
image/svg+xml
कला

यौनिक तथा लैंगिक अल्पसंख्यकले मनाए ‘प्राइड मन्थ’

जुन महिनाले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि विशष महत्व राख्छ। यसै सन्दर्भमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरू जुनलाई ‘प्राइड मन्थ’ अर्थात् गर्वको महिनाका रूपमा मनाउने गर्छन्।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि आफ्नो पहिचान देखाउने तथा आफ्ना समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा लिन इटहरीमा ‘प्राइड मन्थ’ मनाइएको छ।

सुनसरीका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले ‘राइट हेयर राइट नाउ’ नारासहित ‘प्राइड मन्थ’ मनाए। इटहरी उपमहानगरपालिकाको सहयोगमा मानव कल्याण समाज इटहरीले कार्यक्रम गरेको हो।

सन् १९६९ जुन २८ मा न्युयोर्क सहरको गेबार स्टोन वालइनमा प्रहरीले छापा मारेर यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई हिरासतमा लिएपछि उनीहरूको रिहाइका लागि धेरै दिनसम्म चलेको दंगा शृंखला र अन्त्यमा उनीहरूको रिहाइको सम्झनामा संसारभर यस समुदायले विभिन्न कार्यक्रम गरी जुनलाई गौरवको महिनाका रूपमा मनाउने गरेको मानव कल्याण समाज इटहरी प्रमुख देवनारायण चौधरीले जानकारी दिए। यस कार्यक्रमले यस समुदायमाथि हुने गरेको हिंसा, अन्यायविरुद्ध सँगै समुदायको हक अधिकार प्राप्तिको सुनिश्चितताका लागि पनि कार्यक्रम आयोजना गरिएको उनले बताए।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य सपना परियारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका हकअधिकार संविधानमा नै मौलिक हकका रूपमा उल्लेख गरिएको बताउँदै यसलाई उपलब्धिका रूपमा लिनुपर्ने बताइन्। थप अधिकारका लागि सबै मिलेर संघर्ष गर्न पनि उनले आह्वान गरिन्।

निल हिरा समाज कोशी प्रदेशका अध्यक्ष मुस्कान श्रेष्ठद्वारा उद्घाटन गरिएको र्‍याली मानव कल्याण समाज इटहरीको कार्यालयबाट सुरु भएर विराटनगर लाइन, इटहरी चौक, आइतबारे हुँदै कार्यक्रम स्थलमा आएर समापन भएको थियो। कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले विभिन्न प्रस्तुति पनि दिएका थिए।

प्रकाशित: ६ असार २०८१ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App