१९ असार २०८१ बुधबार
image/svg+xml
कला

पटकपटक टालेको मन उध्रियो रे फेरि पनि!

मुक्तक

१) मुक्तक

राख्नू झटारोले हान्नेहरू हुन्छन् यहाँ,

मुख थुनी हातखुट्टा बान्नेहरू हुन्छन् यहाँ।

यार्चागुम्बा टिप्न जादा टर्चलाइट नबिर्सिनू,

उकालोमा चढ्ने खुट्टा तान्नेहरू हुन्छन् यहाँ।

२) मुक्तक

जीवनयात्रा हो र त बनिदिनु बच्चा तिमी,

काम गर्दा कहिल्यै पनि बन्नू हुन्न कच्चा तिमी।

बरु पेट टाँसियोस् डँडाल्नै सम्म पुगोस्,

सफलता त्यही हुन्छ बन्नु सधैं सच्चा तिमी।

३) मुक्तक

मानिस हुँ भन्छ र घमण्ड गर्छ,

गर्न त गर्छ तर जलेर मर्छ।

खोबिल्टो खनेर ऊ पुरिन्छ आफैं,

धरापमा पार्न जब पाइला सर्छ।

) मुक्तक

यसो हेर्दा हजुरलाई जाबो पानी हुन्छ,

त्यै पानीको पनि आफ्नो जिन्दगानी हुन्छ।

एक्लै हो आफ्नो बाटो हिंड्ने बाँचुन्जेल,

कमाइने घाटसम्म मात्र मलामी हुन्छ।

५) मुक्तक

मान्छे चिन्न गाह्राे भयो मानवता मरेपछि,

मान्छे जस्तै आकृतिमा दानवता सरेपछि।

मनमोज गर्छन् गर्न हुने होस् कि नहुने होस्,

आन्द्राभुँडी  देखाउँछन् छुटानाम गरेपछि।

६) मुक्तक

स्वाभिमानको बगैंचामा जिउँदै थिई भनी दिनू,

परिश्रमको आफ्नै पौरख पिउँदै थिई भनिदिनू।

पटकपटक टालेको मन उध्रियो रे फेरि पनि,

विचारको सियो धागोले सिउँदै थिई भनिदिनू।

७) मुक्तक

सगरमाथा टुप्पो छुन सुरु पहिलो कदम हुन्छ,

जसले आफैंलाई चिन्दैन महामूर्ख अधम हुन्छ।

धनीलाई हजार पनि अलिकति मात्र लाग्ला,

गरिबलाई त्यही हजार करोड होइन पदम हुन्छ।

८) मुक्तक

हरायो अब  छैन बर्गत पुरानो,

गले पाखुरी छैन हर्कत पुरानो।

सबै पाटपुर्जा खुकुला भए झन्,

चलाउनु छ गरि  मर्मत  पुरानो।

९) मुक्तक

आयो नयाँ वर्ष उस्तै रूप लिएर आयो,

लोकतान्त्रिक नाङ्गो नाच खुप लिएर आयो।

सुख शान्ति समृद्धिको धुलो उडाएर,

कुर्सीमै गिद्दे नजर दौडधूप लिएर आयो।

१०) मुक्तक

केही नलाग्ने रैछ आफ्नै नाप भुल्नेसँग,

जनताका मनमुटुको राप भुल्नेसँग।

मै खाऊ र मै लाऊमा मस्ती हिजोआज,

बगरमा हिडेको  त्यो  पदचाप भुल्नेसग।  

प्रकाशित: ८ चैत्र २०८० १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App