२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

मान्छेको औकातबाट किन झर्छ मान्छे?

मुक्तक

१) मुक्तक

मायापिरतीको दियो जलायौ,

अलिकति बाँकी थियो जलायौ।

अब छैन केही भयो सिनित्तै,

नाता सम्बन्धको मियो जलायौ।

२) मुक्तक

प्रकृतिको हरियाली हेर्दा हेर्दै बगर भयो,

महानगर होइन त्यो हत्याराको नगर भयो।

देश बसौ विदेश जाऊ मृत्युकै छ सन्त्रास,

गरिबलाई  न त धर्ती  न  त   सगर  भयो।

३) मुक्तक

भोको पेट कति बाँचू मारिदे सरकार,

गरीबलाई भड्खालामा पारिदे सरकार।

सुरक्षाको स्वाङ गर सजिलो छ मार्न,

बरु अझै बम वर्षा झारिदे सरकार।

४) मुक्तक

जानीजानी किन झूटा भ्रम छर्छ मान्छे,

बाँचुन्जेल मरिहाल्ने हर्कत गर्छ मान्छे।

सित्तै पाए अलकत्र  खाऊ जस्तो गर्दै,

मान्छेको औकातबाट किन झर्छ मान्छे?

५) मुक्तक

नानी भन्यो फेरि गोली चलायो,

हिजोआज अनि भोलि चलायो।

आकाशझैं शान्त समुद्रलाई,

वचनका वर्षा नबोली चलायो।

६) मुक्तक

समयले कोतारेका डाम लिएर आयौ,

अब तिमी मुस्कुराई काम लिएर आयौ।

आशा छ एक दिन उज्यालो छाउने छ,

डामसँगै तिमी आउँदा घाम लिएर आयौ।

७) मुक्तक

यसो हेर्दा हजुरलाई जाबो पानी हुन्छ,

त्यै पानीको पनि आफ्नो जिन्दगानी हुन्छ।

एक्लै हो आफ्नो बाटो हिंड्ने बाँचुन्जेल,

कमाइने घाटसम्म मात्र मलामी हुन्छ।

८) मुक्तक

न हुँ ढुङ्गा माटो म हुँ मात्र पानी,

म पानी बनेरै बित्यो जिन्दगानी।

यो जीवन न आकार न भो रूप रंग,

म दाउरा बलेरै बनेछु खरानी।

९) मुक्तक

न  बन्नु छ भद्दा न त उच्च ठूलो,

यति प्रार्थना छ नबनूँ म लुलो।

न त पदप्रतिष्ठा न चाहें रुपैयाँ,

मलाई भए पुग्छ समताको तुलो।

१०) मुक्तक

संसार हुन्छ हुन्न के था आफू नै मरेपछि,

चट्टानमा सुन फल्छ मेहेनेत गरेपछि।

दुःख रोपी सुख खोज्ने कस्तो तिम्रो बानी प्रिय,

जे रोप्यो त्यही फल्छ जमिनमा छरेपछि।

प्रकाशित: ११ माघ २०८० ०४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App