१९ असार २०८१ बुधबार
image/svg+xml
कला

दृश्य

लघुकथा

समाचार सुनिरहेको थिएँ। छोरो आएर छेउमै बस्यो। आज त सौहार्द तरीकाले  छेउमै आएर बस्यो।

-हँ, के भन्न खोज्यो यसले! मेरो खातामा पैसा छ भनेर चाल पाएछ कि! मनमनै कुरा खेल्दै थिए। समाचारले-अब हामीले आफै श्रम गरौं, गाउँको मुहार फेरौं,भनेर सुनायो।

यतिबेर केही नबोली बसेको छोराले -यी गफाडीहरू! कति गफ दिन जान्दछन्। सिन्को नभाँची पटकपटक गफैले चुनाव जितिरहे,भन्यो। मैले साधनस्रोत जुटाउँदै छन् गर्लान् नि! के भनेको थिएँ ऊ त झनै जङ्गियो।

-वर्षौं बिते, पटकपटक सत्तामा पुगे। आफ्नो जुत्ता र लुगाफाटो फेरे, गाला राता पारे, खाए मोटाए अरू के गरे?

अवाक् म आफै नरम हुँदै- कुरा त तेरो ठिक हो तर पनि राज्यव्यवस्था जनमुखी बनाएर सुविधाहरू समताको सिद्धान्तअनुकूल वितरण गरी सबैलाई अवसर दिने योजना छ रे नि!

भनेको त-यी आफै बदलिन नसकेका विलासी लम्पट मूर्खहरूले समाज बदल्छन् भनेर पत्याइरहने? देख्नुभएन राज्यको ढुकुटी बाँडेर खाने बेलामा कति भद्र सहमति हुन्छ? खानपिन सकिन्छ अनि कुकुरबिराला युद्ध सुरु हुन्छ। तँ ठुलो कि म? हाकाहाकी ठग्छन्! घुस खाएँ त खाएँ सक्छ भने तँ पनि खा! भन्दै हिंडेको? यिनलाई त लाजघिन, डरत्रास केही लाग्दैन,खान पाए पुग्छ। कति हेर्नु कारबाहीको नाटक खेलेर एकले अर्कोलाई बचाएको नाङ्गो दृश्य?

यी आफै फेरिन्नन् बाबा! अब यिनबाट फेरिने आस मूर्खले गर्छ। यिनका त टाउकै फेर्नुपर्छ।

-डा.छायादत्त न्याैपाने

प्रकाशित: २२ पुस २०८० ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App