२४ असार २०८१ सोमबार
image/svg+xml
कला

भारी पर्ला नयाँ वर्षको संकल्प

यस्ताे पनि!

अंग्रेजी नयाँ वर्ष लागेपछि म यस्तो गर्छु, उस्तो गर्छु भन्नेहरूको ताँती लाग्छ। केही समयभित्रै त्यो संकल्प छेउकिनारा लागिहाल्छ। तर केही भने आफ्नो संकल्पमा टिकिरहन्छन्। टिक्नेहरूका लागि एउटा अप्रिय खबर छ।

प्रायः नयाँ वर्षमा लिइने संकल्पहरूमा खानालाई नियन्त्रण गर्ने पनि पर्छ। यस्तोमा धेरैले सामाजिक सञ्जालतिर प्रायः चल्तीमा रहेका ‘नयाँ वर्ष, नयाँ खान्की, नयाँ तपाईं’ जस्ता नारा हुने गरेका छन्। यस्ता नाराले धेरैलाई फाइदा नगर्ने विज्ञहरूले सचेत गराएका छन्।

द ब्रिटिस डायबेटिक एसोसिएसन (बिडिए)ले सर्वसाधारणलाई ‘शरीर सफा गर्ने खान्की’, ‘वजन घटाउने दैनिकी’ अनि ‘रजोनिवृत्ति व्यवस्थापन’ जस्ता कुरालाई ध्यान नदिन आग्रह गरेको छ।

प्रायः सर्वसाधारणले नयाँ कुरा हेरिहालूँ न भन्ने मनशायले पुराना औषधी छाड्ने, दैनिकी परिवर्तन गर्ने, खाना र पौष्टिक तत्व परिवर्तन गर्ने व्यवहार देखाउने गरेका छन् र यस्तो व्यवहार उनीहरूको स्वास्थ्यका लागि हानिकारक मात्र नभएर घातक नै हुनसक्नेतर्फ बिडिएले सचेत गराएको छ।

पछिल्लो समय वजन घटाउन आतुर हुनेहरूले जुस डायट, साइडर भिनेगर, फलफूल, अण्डादेखि लिएर पानी पनि त्याग्ने चलन चल्न थालेको छ। सामाजिक सञ्जालमा यी निकै लोकप्रिय देखिएका छन्।

यस्तो नयाँ कुरा ‘चाख्न’ चाहने चखुवाहरूले पुराना गतिविधि, औषधी र खान्की नै त्याग्दा स्वास्थ्यमा गम्भीर असर पुग्ने बिडिएकी अध्यक्ष क्यारोलिन बोभे बताउँछिन्।

कतिपयले छोटो बाटोको खोजीमा यस्ता कुरा अपनाउँदा स्वस्थ खाना र स्वस्थ जीवनशैलीले दिने सन्देश हराउने सम्भावना हुने बोभेको धारणा छ। सामाजिक सञ्जालमा सित्तैमा दिइने सुझाववालाहरूको कहिलेकाहीँ योग्यता नै नहुने पनि देखिएको छ।

रजिस्टर्ड डायटिसियन एना ग्रुम विशेषज्ञबाहेक अन्यबाट सुझाव लिँदा लामो समयसम्म पोषणविहीनताको अवस्थामा रमाउँदा शरीरमा क्लिष्ट स्वास्थ्य समस्या उप्जन सक्ने बताउँछिन्।

उनी भन्छिन्, ‘कार्बोहाइडेट धेरै भयो भनेर वजन घटाउन चाहिने कुरा पनि नखाँदा धेरैको पेटको समस्या थपिने, पाचनमा असर पार्ने र ऊर्जा नै नआउनेजस्ता समस्या थपिन सक्छ।’

अर्की डायटिसियन एलेक्सिया डेम्पसे भन्छिन्, ‘नयाँ वर्षका लागि कसम खानुस् तर जनवरी १ छानेरै किन कसम खानु पर्‍यो? पर्याप्त गृहकार्यपछि खाँदा हुन्न र?’

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १७ पुस २०८० ०१:१७ मंगलबार

यस्ताे पनि! द ब्रिटिस डायबेटिक एसोसिएसन (बिडिए) भारी पर्ला नयाँ वर्षको संकल्प