२४ असार २०८१ सोमबार
image/svg+xml
कला

स्वस्थ समाजका निम्ति ‘स्वस्थ महिला’

महिला सुन्दरताका पर्यायवाची हुन्। सम्पूर्ण साहित्य महिला–सौन्दर्यमा घुमेको हुन्छ। महिला–शरीर प्रकृतिको सुन्दर सृष्टि हो। त्यो सुन्दर नहोस् पनि किन ? यसैबाट सृष्टिको निरन्तरता हुन्छ।

महिला–शरीर जति सुन्दर छ, त्यतिकै जटिल पनि। बाल्यकालदेखि किशोरावस्थासम्म पुग्दा तिनका शरीरमा आउने परिवर्तन व्यापक हुन्छन्।

डा. सुमनराज ताम्राकारको नवीनतम कृति ‘स्वस्थ महिला’ले महिला–शरीरका जटिलतालाई सरल शब्दमा बुझाउन खोजेको छ। महिला–स्वास्थ्यकै क्षेत्रमा क्रियाशील चिकित्सककै कलमले यसबारे लेखेपछि स्वाभाविक रूपमा यसलाई आधिकारिक मान्न सकिन्छ। यसकारण यो पुस्तक महिला–स्वास्थ्य बुझाउने एउटा गुनिलो कदम हो।

पुस्तकले महिला–स्वास्थ्यमा आइपर्ने विभिन्न समस्या र त्यसमा अपनाउनुपर्ने उपायबारे सरल र सहज व्याख्या गरेको छ। यो पुस्तक आफूसँग हुनु भनेको कतिपय विषयमा आफैं जानकार हुनु र तदनुकूल व्यवहार गर्न सक्षम हुनु पनि हो। यसले महिला–स्वास्थ्यका जटिलतालाई बुझाउन सहज पारेको छ।

महिला–शरीरको महत्वपूर्ण विशेषता भनेको सन्तानोत्पादन हो। त्यसका निम्ति मासिक धर्म महिलाको शरीरसँग जोडिएको प्रमुख पक्ष हो। त्यसैले पुस्तकमा रजस्वलादेखि क्यान्सरजस्ता प्राणघातक रोगसम्मका पक्षलाई समेटिएको छ। यस अर्थमा महिला मात्र होइन, तिनीसँग जोडिएका बाबु, पति वा सन्तानले समेत बुझ्नुपर्ने पक्ष यसमा छन्। एउटी महिलालाई स्वस्थ राख्नु भनेको परिवार, समाज र सिंगो राष्ट्रलाई बलियो बनाउनु हो। त्यसका निम्ति पुस्तकले मार्गदर्शन गर्छ।

प्रत्येक महिला बाल्यकाल, किशोरावस्था, युवावस्था, प्रौढावस्था हुँदै वृद्धावस्थासम्म पुग्दा शरीरमा अनेकन परिवर्तन हुन्छन्। ती परिवर्तनले महिलाको शरीर मात्र होइन, मनलाई पनि प्रभाव पारेका हुन्छन्। ती पक्षलाई बुझ्न र बुझाउन स्वयं महिला मात्र होइन, पुरुषलाई पनि आवश्यक छ। यी पक्षलाई पुस्तकले एकैठाउँमा ल्याइदिनु आफैंमा स्तुत्य कार्य हो।

मासिक धर्मजस्तो एउटै विषयका पनि अनेकन् आयाम छन्। यसको सुरुवात, निरन्तरता र अन्त्यपछिको अवस्था पनि आफैंमा जान्नुपर्ने पक्ष हो। यी प्रक्रियामा महिला–शरीरमा देखिने समस्यालाई कसरी हेर्ने भन्ने दृष्टि स्वाभाविक रूपमा यस पुस्तकले दिन्छ।  

सन्तान उत्पादनको जिम्मेवारीमा रहेका महिला अंग रोगका कारण पनि उत्तिकै संकटमा हुन्छन्। पाठेघर, डिम्बाशय एवम् सम्पूर्ण महिला प्रजनन अङ्गहरूमा के कस्ता ट्युमर तथा क्यान्सर पलाउन सक्छन्, आङ खस्ने समस्या भनेको के हो ? बाँझोपनबाट हुने क्षति, यौनाङ्गमा हुने अत्यधिक स्राव तथा संक्रमणबारे बुझाउन खोजिएको छ। तेस्रो लिङ्गी को हुन् ? पिसाब चुहिने समस्यामा के गर्ने ? भन्ने सुझाव दिइएको छ। परिवार नियोजनका साधन तथा अन्य धेरै विषयमा सर्वसाधारणका जिज्ञासालाई सरल भाषामा चर्चा गरिएको छ।

वास्तवमा सही जानकारी नहुँदा शारीरिक परिवर्तन पनि आफैंमा समस्याजस्तो लाग्न सक्छ। महिलाको एउटै शरीर हो, त्यो बालिका, युवा, प्रौढ र वृद्ध हुँदा फरक फरक भइरहेको हुन्छ। कतिपयलाई महिला शरीरले देखाएका प्रकृतिका आधारमा यिनीहरू रोगी नै हुन् कि भन्ने पनि लाग्न सक्छ। यस्ता परिवर्तनकै क्रममा कतिपय संक्रमण हुन सक्छन्। तिनलाई बेलैमा चिन्ने वा हुनै नदिनेतर्फ यसका ज्ञानले उन्मुख गराउन सक्छ।

महिला–जीवनमा सन्तानोत्पादनको सीमित अवधिका निम्ति हुने महिनावारी एउटा उमेरमा पुगेपछि बन्द हुन्छ। रजोनिवृत्तिपछि पनि महिलामा अनेकन् परिवर्तन देखिन्छन्। नेपालमा सामन्यतया ४० देखि ५५ वर्षसम्ममा महिलाहरूको महिनावारी सुक्ने गरेको छ। रजोनिवृत्तिपछि महिलाको जीवन एक तिहाइ बाँकी हुने हुँदा यस अवधिमा लामो समयसम्म एस्ट्रोजेन हर्मोनको अभावमा विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ। यस उमेर समूहका एक तिहाइ बिरामीमा अप्रत्याशित रूपमा पाठेघरमा रक्तस्राप हुनुको कारण ‘क्यान्सर’ पनि हुन सक्ने पाइएको छ।

मानव शरीरका अङ्ग विशेषका कोषहरू अनावश्यक र अनियन्त्रित रूपले वृद्धि भएमा ट्युमर पलाउँछ। ट्युमर साधारण र खतराजनक गरी दुई प्रकारका हुन्छन्। खतरा खालको ट्युमरलाई मेडिकल भाषामा क्यान्सर भन्ने गरिन्छ। ९० प्रतिशत क्यान्सर अस्वस्थ खानपिन, रहनसहन र वातावरणीय प्रभावले हुने विश्वास गरेको पाइएको छ। स्त्री रोग समस्या लिई भर्ना हुने बिरामीहरूमध्ये करिब ३ प्रतिशत डिम्बाशयको ट्युमर हुने पाइएको छ।  

त्यस्तै महिलामा हुने क्यान्सरमध्ये स्तनपानपछि दोस्रो प्रमुख क्यान्सर पाठेघरको मुखको क्यान्सर रहेको छ। विश्वमा प्रतिवर्ष ५ लाख महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको पुस्तकमा उल्लेख छ। यसरी एचपिभी धेरै प्रकारको भए पनि १३ प्रकारको भाइरसले मात्र पाठेघरको मुखको क्यान्सर निम्त्याउँछ।

पाठेघरको दुवैतिर हुने ग्रन्थि डिम्बाशय हो। प्रजनन उमेरका महिलामा प्रत्येक महिना एउता विकसित डिम्ब निष्काशन हुने गरेको छ। वंश निरन्तरताका लागि शुक्रकीटसँग डिम्बा निषेचित भई पाठेघरमा आई गर्भ रहने गर्छ। गर्भ रहन नसकेमा महिनावारी हुने गरेको छ। डिम्बाशयबाट जतिपटक डिम्ब निष्काशन हुन्छ, त्यति नै पटक डिम्बाशयमा घाउ हुन्छ। त्यसैले लामो समयसम्म डिम्बाशय निष्काशन हुन्छ, डिम्बाशयको क्यान्सर हुने सम्भावना बढ्ने रोचक व्याख्यासमेत पुस्तकमा छ।  

त्यस्तै विवाह नै नगर्ने, ढिलो गरी विवाह गर्ने तथा ढिलो बच्चा पाउने र स्तनपान नगराउने महिलाहरूमा तुलनात्मक रूपमा डिम्बाशयको क्यान्सर बढी हुने मानिएको छ। पुस्तकमा आङ खस्ने समस्याबारे पनि प्रस्ट पारिएको छ। महिनावारीको गडबडीपछि दास्रो ठुलो समस्या आङ खस्ने नै हो। खासगरी पाठेघरलाई टेवा दिने तन्तुहरूमै कमजोरीपना आई आङ खस्ने गरेको पाइएको छ। त्यसैगरी हाम्रो परिप्रेक्ष्यमा विवाहको एकदुई वर्षसम्म कुनै साधन प्रयोग नगरी यौन सम्पर्क राख्दा पनि गर्भ रहेन भने निःसन्तान मानिने प्रचलन छ। पुस्तकअनुसार शुक्रकीट बन्ने प्रक्रियामा समस्या, बनिसकेको वीर्य बाहिर आउने बाटोमा समस्या, योनीमा वीर्य स्खलन हुन समस्या तथा शुक्रकीटको बनावटमा समस्या पुरुषजन्य निःसन्तानका कारण हुन्।  

पोसिलो खाना खाने, शारीरिक तौल सन्तुलनमा राख्ने, धूम्रपान, मद्यपान त्याग्नुका साथै यौनाङ्ग वरिपरि बढ्ता न्यानो हुने गरी वा तातो बनाउने र कसिलो भित्री वस्त्र लगाउन नहुने पुरुषको कारण हुने निःसन्तानको उपचार रहेको छ। 

यसरी महिलाको स्वास्थ्यसम्बन्धी समस्या र समाधानबारे अनेक तरिकाले यस पुस्तकमा उल्लेख गरिएको छ। यस पुस्तकले हरेक सर्वसाधारण, विद्यार्थी एवम् शिक्षकलाई धेरै फाइदा पुर्‍याउन सक्छ।

अहिलेको अवस्थामा स्त्री–रोगसम्बन्धी जिज्ञासा राख्नेहरूको सङ्ख्या बढ्दो छ। त्यस्तै नेपाली महिलाको औसत आयुको वृद्धिसँगै अनेक प्रकारका स्त्री–रोग लाग्ने खतरा पनि छँदै छ। दक्ष स्वास्थ्यकर्मीको सेवा, अल्ट्रासाउन्ड, सिटी स्क्यान, रक्त परीक्षण आदिको सहज उपलब्धताले विभिन्न खालका स्त्री–रोग समयमै निदान हुन थालेको छ। यो पुस्तक साधारण लेखपढ गर्न सक्ने महिलाले पढ्न, बुझ्न सकिने गरेर सरल बनाइएको छ।  

दैनिकजसो स्त्री–रोगसम्बन्धी बिरामी बढ्दै गइरहेको अवस्थामा नेपाली भाषामा यो पुस्तक प्रकाशन हुनु राम्रो हो। यस्ता विषयको जानकारीले कतिपय रोग लाग्नै नदिने अवस्था सिर्जना हुन सक्छ। रोग लाग्नुभन्दा लाग्नै नदिनु स्वस्थकर हो। त्यसका निम्ति यस्ता सामग्रीले योगदान गर्न सक्छ। डा. कोजुले पुस्तकमा उल्लेख गरेका विभिन्न ५९ वटा महŒवपूर्ण विषय लाभकारी छन्। यो पुस्तक सबै किशोरीका हातमा पर्ने हो भने स्वाभाविक रूपमा भविष्यमा ‘स्वस्थ महिला’ निर्माणमा योगदान पुग्ने देखिन्छ।  

प्रकाशित: २३ मंसिर २०८० ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App