२३ असार २०८१ आइतबार
image/svg+xml
कला

बन्दी सिपाही

कथा

आज प्रहरी दिवस रहेछ। टिभीमा हेर्छु, कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त प्रहरीका आफन्तजन रुँदै अमर प्रहरी स्मारकमा पुष्प गुच्छा चढाइरहँदा मैले त्यो बन्दी सिपाहीलाई सम्झिएँ। मुटु चिसो बनेजस्तो लाग्यो।

मलाई बन्दी सिपाहीको धेरै माया लाग्छ। पछाडि डोरीले बाँधिएको छ हात, पातलो सर्ट र साधारण जिन्सको पाइन्ट लगाएको उसको अनुहारमा केही चोटपटक देखिन्छन्। म उसलाई हेर्छु, नजर झुकाएर बसेको छ। पुसको चिसोमा कति जाडो भएको होला। म ज्याकेटभित्र हात घुसाउँदै सोच्छु। सोयाङको एउटा घरमा राखिएको त्यो बन्दी सिपाही चुपचाप, बेचैन छ।

‘सुराकी हो कमरेड,’ मेरो प्रश्नको जवाफ।

‘जे भए पनि मानवीय नाताले कमसेकम ज्याकेट त लगाउन दिनुपर्ने नि कमरेड,’ मैले भनें।

‘मर्न लागेको मान्छेलाई केको जाडो?’ अर्को साथीको संवेदनाहीन जवाफ। मन चिसो भयो। साथीहरू यताउता लागेपछि मैले उसको हातको डोरी खोलिदिएँ अनि एउटा मेरो ज्याकेट लगाउन दिएँ। उसले मेरो मुखमा पुर्लुक्क हेर्‍यो। त्यो नजरमा याचना थियोे तर म केही गर्न सक्ने अवस्थामा थिइनँ।

‘बहिनी, मलाई कहिले छोड्ने रहेछ ?’ उसको प्रश्नअगाडि म जवाफ विहीन छु।

‘म नयाँ हो दाइ, थाहा छैन।’

त्यो बन्दी सिपाहीको अनुहारमा अँध्यारो छायो। लाचार, विवश आँखामा आँसु देखें अलिकति। गरिब हुनुको लाचारी अनि शाही नेपाली सेनामा जागिर खाएको विवशता !

‘मेरी श्रीमतीको अपरेसन थियो। ताप्लेजुङदेखि बिदामा विराटनगर हिँडेको, यतिका दिन भयो।’

‘के बिरामी?’

‘गर्भवती थिइन्। एक्कासि ब्लिडिङ भएपछि तत्कालै अपरेसन गर्नुपर्ने छ भनेर ब्यारेकमा खबर आएको थियो,’ उसले लामो सास फेरेर भन्यो।

उसलाई पाँचथरबाट बन्दी बनाएर ल्याएको पन्ध्र दिन भइसकेको रहेछ।

‘उनको अपरेसन कस्तो भयो? नानीबाबु के भयो? उनलाई कस्तो छ? यति मात्र थाहा पाउन पाए म मरे पनि कुनै पछुतो हुने थिएन बहिनी।’

मेरो मन कस्तो कस्तो भयो।

‘यसको आज अन्तिम दिन’ एक जना साथी भन्दै थिए। मलाई उसको डोरी फुकाएर भगाइदिऊँजस्तो लाग्यो।

म त्यो बन्दी सिपाहीको अनुहारमा हेर्छु, आँखा निराशाले पोतिएका छन्।

‘मेरो घर धनकुटाको विकट गाउँमा छ। बाबुआमा सोझा छन् र मेरी श्रीमती पनि त्यस्तै। मैले केही अपराध गरेको छैन बहिनी। म नभए मेरा बाआमाको त जहाज नै डुब्छ। म निर्दोष छु बहिनी। बरु तपाईंको केही लाग्छ भने मलाई भनसुन गरेर छुटाएर पठाइदिनोस्, तपाईंको ऋणी रहनेछु !’

मैले के भन्ने? निःशब्द छु।

यसो बाहिर हेर्छु, साथीहरू खाना बनाउने तयारीमा थिए। कोही रेडियो सुन्दै थिए भने कोही पढ्दै थिए। जंगलबाट नजिकै अलैंचीबारीबिचमा भएको घरमा बसेको थियो जनमिलिसियासहितको टोली। म भर्खरै पार्टीमा हिँडेकी थिएँ।

कहिलेकाहीं त भागेर घर फर्किहालौंजस्तो लाग्थ्यो। विशेषगरी राति चिसोले लगलग काम्दै ड्युटीमा बस्दा घरको तातो ओछ्यानको याद आउँथ्यो तर अब फेरि म जुन ठाउँबाट पार्टीमा हिँडेकी थिएँ, त्यहीं फर्कन असम्भव र असुरक्षित थियो।

मेरो कमान्डर कमरेड ज्वाला मलाई सधैं परिवर्तन र क्रान्तिको कथा सुनाउँथिन्।

उनको कथा सुन्दा एक दिन मेरो देश विश्वको सबैभन्दा उत्कृष्ट बन्ने छ जस्तो लाग्ने। नेताहरूको प्रशिक्षण सुन्दा अहिले नै गएर सेनाको ब्यारेक र प्रशासन ध्वस्त बनाइदिऊँ जस्तो हुने। लाग्थ्यो, गणतन्त्र आएपछि गाउँका आमा, दिदी, भाउजूहरूले जँड्याहा लोग्नेको कुटाइ खाएर रुनुपर्दैन, मेरा बाले दसैं मान्न ऋण खोज्नुपर्दैन र मेरी आमाले फाटेको बर्को ओढ्नुपर्दैन, गाउँको साहु आएर गोठमा बाँधेको गाई फुकाएर लैजाँदा मेरी आमा रोए जस्तो फेरि कुनै आमा रुनुपर्दैन।

यी सपनाले मन फुरुंग पर्थ्याे।  

गणतन्त्रमा मेरी आमाको हातखुट्टा चिसोले फुट्ने छैन, मेरा बाले टाउकोमा हात राखेर साहुको हिसाबकिताब सुन्नुपर्ने छैन। मसँग ठुला ठुला सपना कहाँ थिए र?

छुवाछुत र अन्यायको अन्त हुनेछ।

प्रायःजसो म हाम्रो एरियाकी कमान्डर कमरेड ज्वाला दिदीसँग हिँड्थें, उनको छायाजस्तै भएर। पार्टीको खासै जिम्मेवारी केही थिएन तर यसो भिडभाडमा बोल्न सक्ने र नयाँ नेपालको कहानी सुनाएर मान्छेको आँखामा सपना भर्न सक्ने भइसकेकी थिएँ।

गाउँघरमा सबैसँग हेलमेल हुन सक्ने कला मैले सिकिसकेकी थिएँ भने प्रत्येक घरमा पुग्दा साइनो लगाएर बा, आमा, दाइ, दिदी, भाउजू भनेर उनीहरूको भान्छाको तातो भात र एक गिलास मागेर खान सक्ने भइसकेकी थिएँ। मिठो बोल्न, शान्त भएर विरोधीको कुरा सुन्न र मुसुक्क हाँसेर तर्क गर्न सिकिसकेकी थिएँ।

सोयाङ र नयाँ बजार अनि नामसालिङका घर घरमा कमरेड सीमा भनेर चिनिन थालेकी थिएँ। मसँगैका साथीहरू अरू क्षेत्रतिर बाँडिएका थिए। म भने त्यही क्षेत्रमा थिएँ। कतिपय साथीहरू मलाई कमान्डरको चम्चा भन्थे, ज्वालाको झोले भन्थे।

म पनि ज्वाला दिदीको प्यारो थिएँ। कमान्डरको नजिक भएका कारण दुईचार सय गोजीमा हुन्थ्यो। यसो ग्रामीण बजार निस्किएका बेला मम, थुक्पा धित मरुन्जेल खान पाइन्थ्यो। यही कुरा केही साथीलाई मुटुमा काँडा बिझेजस्तै बिझ्थ्यो। म थाहा पाउँथें। तिनै साथीहरूले परेको बेला घर भागौं भागौं जस्तो लाग्ने गरी व्यवहार गर्थे।

नयाँ नयाँ साथीहरू थपिँदै जान्थे। पुराना साथीहरू हराउँदै पनि थिए। त्यसरी हराएका साथीहरूलाई गद्दार घोषणा गरिन्थ्यो। जतिसुकै आत्मीयता भए पनि एकअर्काप्रति शंका जहिले पनि हुने।

साथीहरू, नेताहरू जमघट भएका बेला ड्युटी बस्नुपर्थ्याे, हातमा सकेट बम बोकेर। मैले पनि सकेट बम बोकेर धेरै पटक ड्युटी बसिसकेकी थिएँ। अहिले सम्झन्छु, साँच्चै त्यो बेला आपत् परेको भए त्यो बमले सबैभन्दा पहिले म आफै मारिने रहेछु।

‘दुस्मन आयो भने यसरी सुतली तानेर हान्ने अनि आफू जमिनमा लम्पसार परेर सुत्ने’ मलाई बमका बारेमा यति मात्रै जानकारी थियो।

ज्वाला दिदी चाहिँ चिनियाँ पेस्तोल बोक्थिन्। मलाई पनि त्यस्तै पेस्तोल बोक्न खुब रहर लाग्ने। मेरो रहर बुझेरै उनले कहिलेकाहीं पेस्तोल बोक्न दिन्थिन्।

कम्मरमा पेस्तोल अनि पेस्तोलको नाल अलिकति देखिनेगरी बोकेर हिँड्दा अर्कै लोकमा पुगेजस्तो लाग्ने अनि बेला बेला पेस्तोल छाम्दै मान्छेका अगाडि हिँड्नुको मजा बेग्लै हुने। हतियारप्रतिको मोहले धेरै पछिसम्म तानिरहन्थ्यो मलाई।

‘यति सानै उमेरमा किन हिँडेकी नानी?’ कतिपय आमाहरूको प्रश्न हुन्थ्यो।

‘दुई करोड जनताको भाग्य र भविष्य लेख्न आमा,’ यसरी फ्याट्ट भन्थें।  

‘मर्न डर लाग्दैन?’

‘म मारिँदा देश र जनताको भलो हुन्छ भने म मर्न तयार छु,’ कति सजिलोसँग भनिन्थ्यो ऊबेला।

‘पढ्नुपर्ने बेलामा यसरी हिँड्नु हुन्नथ्यो नि नानी।’  

‘बुर्जुवा शिक्षा पढेर के काम र आमा?’ मेरो प्रतिप्रश्न हुन्थ्यो।

म अलि सानै भएका कारण सबै घरमा छुट्टै माया पाउँथें। ‘सीमा कमरेडलाई त छुट्टै मेजमानी हुन्छ,’ साथीहरू भन्थे।

यसपटक पनि नेपालटार कार्यक्रममा पुगेर भर्खरै सोयाङ सेल्टर घर आइपुगेका थियौं। त्यही घरमा त्यो बन्दी सिपाहीलाई राखिएको रहेछ। मलाई त उसलाई देख्नेबित्तिकै माया लागेको थियो। त्यतिबेला मेरा दाइलाई सम्झेकी थिएँ। अनाहकमा जेल परेका मेरा दाइलाई प्रहरी हिरासतमा यस्तै निरास र हतास भेटेर आएको साँझ घरमा माओवादी पार्टीका कार्यकर्ता आइपुगेका थिए अनि बिस्तारै पार्टीको नाराप्रति नजिकिएकी थिएँ। त्यसैको परिणामस्वरूप एक दिन घर छोडेर हिडेकी थिएँ।

हामी बसेको सेल्टर घरमा एरिया कमान्डरहरू र जनवर्गीय संंगठनका नेताहरूको संयुक्त मिटिङ चलिरहेको थियोे। ज्वाला दिदी मिटिङमा भएका कारण म पनि त्यहीं थिएँ। हामी नयाँ कार्यकर्तालाई पार्टीका सबै कार्यक्रम थाहा हुँदैनथ्यो। जनमिलिसियाका साथीहरू ड्युटीमा थिए। मैले त्यो बन्दी सिपाहीलाई हात खोलेर ज्याकेट लगाउन दिएकोमा मिलिसिया कमान्डर खुब रिसाए मसँग। म पनि के कम ?

‘मानवीय नाताले दिएँ,’ भनिदिएँ।

‘यसको स्पष्टीकरण दिनुपर्छ,’ उनले भने।

‘आधिकारिक रूपमा सोध्नुस् कमरेड, मौखिक मात्रै होइन, लिखित रूपमा म स्पष्टीकरण दिनेछु,’ मैले भनें।

मेरो कुरा सुनेर बन्दी सिपाही झन् निरास भयो।

‘मेरो कारणले तपाईंलाई अप्ठ्यारो नपरोस् बहिनी, बरु म ज्याकेट लगाउँदिनँ।’  

‘पर्दैन दाइ,’ यति भनेर फेरि डोरीले उसै गरी पछाडि हात बाँधिदिएँ।

मैले ज्याकेट दिएको विषयमा धेरै हल्लाखल्ला भएपछि जिल्ला सहइन्चार्जले मलाई घटनाका बारेमा सोधे। मैले पनि त्यहीं जवाफ दिएँ, जसरी मिलिसिया कमान्डरलाई दिएकी थिएँ।

‘कमरेड, यस्तो चिसोमा त्यसरी राख्दा उसलाई कति गाह्रो भएको होला? आखिर ऊ पनि त मान्छे नै हो नि ! उसले अपराध गरेकै छ भने सजाय मिलोस् तर त्यतिबेलासम्म त कमसेकम मान्छे भएर बाँचोस,’ मैले भनें।

‘यिनीहरूले हाम्रा साथीलाई कस्तरी मारेका छन्?’ मिलिसिया कमान्डर बोले।

‘त्यति धेरै कुण्ठा नबोक्नुस् कमरेड। हामी परिवर्तनका सम्वाहक हौं भने हामीले पनि उनीहरूले झैं व्यवहार गर्‍यौं भने उनीहरू र हामीमा के फरक भयो र?’ मैले भनें।

‘ल कमरेडहरू, यो विषयमा पछि कुरा गरौंला। अहिले आआफ्नो काममा लाग्नुस्’ अरू केही बोलेनन् जिल्ला सहइन्चार्ज।

मैले जितेजस्तो लाग्यो। अलिकति हाँसें। मिलिसिया कमान्डर अँध्यारो मुख लगाएर अन्तै लागे।

मैले तातो चिया बनाएर त्यो बन्दी सिपाहीको अघिल्तिर राखिदिएँ अनि हातको डोरी खोलिदिएँ। उसका आँखामा मप्रति कृतज्ञता देखेर मलाई पनि खुसी लाग्यो। म यस्तो पात्र थिएँ, जो बम र बारुदको धुवाँमा पनि आफ्नोपनको फूल फुलिरहेको देख्थें।

प्रेम र सद्भावरूपी आशा आँखामा सधैंभरि साँचेर राख्ने गर्थें।

‘यिनीहरू हाम्रा दुस्मन हुन्,’ सेनाप्रहरीप्रतिको धारणा भन्थे साथीहरू तर मलाई त्यस्तो कहिल्यै लागेन।

हाम्रो घर छेउका एकजना दाइ सेनामा थिए। त्यो जागिरले परिवार पाल्न कति गाह्राे थियो। कहिलेकाहीं भाउजू चामल पैंचो माग्दै आउँथिन् त हामी पनि तेल पैंचो लिन पुग्थ्यौं मैले त्यो छिमेकी दाइलाई दुस्मन मान्नै सकिनँ।

‘यो राज्य व्यवस्थाको बफादार कुकुरहरू हुन् यिनीहरू,’ साथीहरू भन्थे।

‘यिनीहरू कुकुर भएरै त परिवार पालेका छन्, हामीले के गरेका छौं?’ मेरो प्रश्नको जवाफ आउँदैनथ्यो।

मलाई तल्लो तहका सरकारी कर्मचारीप्रति सहानुभूति थियोे। हामी गाउँमा हिँड्दा पनि सरकारी कर्मचारीहरूको घर परिवारप्रति अलि रुखो व्यवहार गर्थे साथीहरू। मलाई त्यो प्रवृत्ति पटक्कै मन नपर्ने। आखिर हामी सबै गरिबीको ज्वालामा पिल्सिरहेका एउटै वर्गका मान्छे थियौं। सेना–प्रहरीमा तल्लो दर्जामा जागिर खाएर पनि उनीहरूको जीवनस्तर पटक्कै माथि उठेको थिएन। अभाव र दरिद्रता उस्तै थिए हाम्राजस्तै अनि कसरी उनीहरू हाम्रा दुस्मन भए?

‘तपाईं यथास्थितिवादी हुनुहुन्छ हो कमरेड, वैचारिक रूपमा अलि स्पष्ट हुनुपर्‍यो। यसले तपाईंलाई पलायनको बाटोतर्फ डोर्‍याउने छ,’ मलाई एकजना साथीले सम्झाए।

म खिस्स हाँसेर टोलाएँ।

‘गरिबलाई गरिब देख्नु मेरो भुल हो र?’ मनमा कुरा खेलिरहे।

‘के म क्रान्तिकारी होइन त?’

मन खिन्न भएको थियो। फेरि एकैछिनमा म कतै हाँसिरहेकी हुन्थें, बालापन कहाँ गएको थियो र?

त्यो बन्दी सिपाहीको नाम अनुप राई, घर धनकुटा रहेछ।

एकछिन उसको कहानी सुनें, नमिठो लाग्यो। झमक्क साँझ पर्न लागेको थियो। पुसको सिरेटो र तुसारो झर्न थालिसकेको थियो।

साथीहरू गाँउका केही घरमा बाँडिएर बसेका थिए। म बसेको घरमा नेताहरू बस्ने भएकाले चहलपहल बढी थियो। त्यो बन्दी सिपाहीलाई चुलाको छेउमा बसाइएको थियो। म पनि उसको छेउमा बसेर आगो तापिरहेकी थिएँ। ऊ मसँग कुरा गरिरहेको थियोे। मेरा आँखामा उसले भनेका कुरा दृश्य बनेर नाचिरहेका थिए।

कोसी अञ्चल अस्पतालको प्रसुती वार्डमा छटपटाइरहेकी मुनालाई लागिरहेको थियो कि अनुप आइपुग्नेछ, अन्तिम क्षणसम्म भए पनि। संकटकाल थियो। अनुप राई नेपाली सेनाको सिपाही थियो।

‘आमा, अनुप आइपुगेन?’ बारम्बार मुना आफ्नी सासूलाई सोधिरहेकी थिइन्।

‘आउँछ, मैले क्याप्टेन सापलाई बिन्ती बिसाएकी छु।’

‘खै, म त बाँच्दिन जस्तो लागिसक्यो,’ पिलपिल रुन्छिन् मुना।

‘केही हुँदैन हउ, अलिकति त सहनु पनि पर्छ हामी आइमाईहरूले !’

फेरि अर्को दिन सोध्छिन् मुना, ‘अनुप किन आएन आमा?’ अनुपकी आमा चुपचाप बसिरहन्छिन्।

‘तपाईंको बिरामीको अवस्था ज्यादै नाजुक छ। गर्भमा भएको बच्चालाई अपरेसन गरेर तुरुन्तै निकाल्नुपर्नेछ। यो बिल तिरेर आउनुहोला बा काउन्टरमा गएर।’

अनुपका बुबा डाक्टरको हातबाट बिल थापेर थरथर काँप्दै कुर्सीबाट उठ्छन्।

०००

चुलाको छेउमा ज्वाला दिदी आइपुगेपछि हाम्रो कुरा अगाडि बढ्न पाएन।

‘कस्तो छ?’ जिल्ला सहइन्चार्जले आगोमा हात सेकाउँदै बन्दी सिपाहीलाई सोधे।

‘राम्रै छ हजुर, मलाई एकपटक बिरामी भएकी श्रीमतीलाई भेटेर आउन दिनुस्!’

अनुप सबैसँग यही अनुरोध गरिरहेको थियो, आफू अपहरणमा परेदेखि नै।

‘ती बुढा भएका बाआमाको एउटा मात्र सहारा हुँ म। गरिब, निमुखा हामी। हाम्रो केही छैन हजुर। मेरी गर्भवती श्रीमतीको अपरेसन छ। मलाई जान दिनुस् न,’ ऊ बिन्ती बिसाइरहेको छ।

‘ठिकै छ, तपाईंको विषयमा छानबिन हुँदै छ। केही समय पर्खनुस्।’  

‘मैले केही अपराध गरेको छैन हजुर। गरिब, पढाइलेखाइ थोरै, त्यही भएर सेनामा भर्ती भएको,’ पटकपटक उसको स्पष्टीकरण थियो।

मेरो मनमा उसलाई भगाइदिऊँ जस्तो लागिरहन्थ्यो तर म सक्दिनथें। ऊ हरबखत टोलाइरहन्थ्यो। मलाई माया लागेर आउँथ्यो तर बाध्यता र परिस्थितिभन्दा ठुलो माया होइन रहेछ।

हामीले बिताइरहेको समय र भोगिरहेको वर्तमान ज्यादै कठिन थियो। कतिखेर को कहाँ मरिने हो थाहै हुन्नथ्यो।

केही समयअघि हाँस्दै बिदा भएको साथी मारिएको खबर आउँथ्यो। मलाई मर्नुपर्छ भन्ने थाहा थियो। मर्न त डर लाग्दैनथ्यो तर मर्नुअघिको यातनाका किस्साहरूले हृदय चिसो बन्थ्यो।

सेनाले पक्रेर लगेपछि नङमा सियो घोपिदिन्छ रे, बलात्कार गर्छ रे, ब्लेडले चिरेर नुन खुर्सानी लगाइदिन्छ रे..., अरू पनि यातनाका प्रकारहरू थपिँदै जान्थे साथीहरूका मुखबाट। ती सबै भोगेर मर्नुभन्दा एकै गोलीमा मर्न पाऊँजस्तो लाग्थ्यो। गोली पनि निधारमा नै लागोस्जस्तो लाग्थ्यो।

गाउँगाउँमा जानु, कहिलेकाहीं जनताको घरमा काम गरिदिनु, कार्यक्रममा जानु, यसरी नै दिनहरू बित्थे। गाउँघरका सानातिना झैझगडामा पनि पुगिन्थ्यो। झगडियाहरूको सुनुवाइपछि पीडकलाई श्रम शिविर पठाइन्थ्यो।

फटाइँ गरे, स्थानीय जनसरकारको नीतिनियमविरुद्ध कार्य गरे भाटे कारबाही गरिन्थ्यो। बाँसको भाटामा नम्बर लेखिएको हुन्थ्यो। जसले जति नम्बरको भाटा टिप्छ, त्यति नै पटक भाटा हानिन्थ्यो।

जाँड–रक्सी बनाउने भाँडाकुँडा फुटाइन्थ्यो भने बनाउन बन्देज थियो। तास खेलिरहेको ठाउँमा भेटे तास र नुन खुवाएको कहानी सुनाउँथे साथीहरू। यी कामहरू जनतासँग प्रत्यक्ष जोडिने थिए। एक प्रकारले सडक, सहर, सदरमुकामबाहेक राज्यको उपस्थिति कतै थिएन। त्यही भएर हाम्रो क्रान्ति उचाइमा पुगेको भन्ने कुरा म प्रायः नेता, कमान्डरको मुखबाट सुनिरहन्थें।

म एरिया स्तरको कमान्डरसँग हिँड्थें। जनविद्रोह पत्रिका पढिन्थ्यो। ममा पनि बिस्तारै वैचारिक परिवर्तन हुँदै थियोे।

अहिले सम्झन्छु, म क्रान्तिका नाराहरूमा प्रेम लेख्थें, विद्रोहका गीतहरूमा रहर गाउँथें, जुन समय र परिस्थितिका विरुद्ध थियो।

म प्रेमले संसार जित्नुपर्छ भन्थें तर प्रेम त मान्छेहरूले मूल्यहीन बनाइसकेका रहेछन्। त्यसैले म एक्लै भएको रहेछु।

व्यक्ति हत्या मलाई मन पर्दैनथ्यो तर युद्धमा यी सबैको महत्व नहुने रहेछ। सिपाहीको रहर र चाहनाले युद्धका नियमहरू बदलिने रहेनछन्। नत्र युद्धको तयारी गरिरहँदा शान्तिको कामना सबैभन्दा बढी त्यही अग्रभागमा लड्ने सिपाहीहरूले गरिरहेका हुन्छन्।

म पनि शान्ति चाहन्थें, शान्ति कै कामना गरिरहन्थें। चुपचाप बसिरहँदा पनि मनमा कुरा खेलिरहेका थिए।

साथीहरूको चहलपहल धेरै नै थियो। खाना खाने तयारी हुँदै थियो क्यारे, चिसो बढिरहेको थियो। सिरेटोसँगै तुसारो झन् झन् बढ्दै थियोे सोयाङमा। चुलाको छेउमा बसेर चिया खानुको मज्जा छुट्टै थियो।

ढोकाबाट बेला बेला पस्ने सिरेटोले झस्काएर जान्थ्यो। खाना खाने तयारी भइरहँदा एक्कासि हावा चल्न थाल्यो। बिजुली बत्ती थिएन, टुकी बत्तीहरू त निभिहाले।

‘कस्तो अचम्म, यसरी एक्कासि हावा चलेको राम्रो होइन, फेरि के हुन आँट्यो?’ सेल्टर घरकी आमा सानो टर्च बालेर केही खोज्दै थिइन्।

‘होइन, यो घरमा राखेको ठाउँमा केही सामान भेटिए पो? मकैको पिठो यहीं राख्या थें।’

‘त्यही हेर्न, तेरो आँखा बालेर...,’ घरका बा पनि के कम?

बल्ल मकैको पिठो भेटेपछि आमाले के के बरबराउँदै चुलामा हालिन्। घरभित्र मकैको पिठोको धुवाँ नै धुवाँ भयो। त्यो धुवाँ र मकैको पिठो डढेको बास्नाले मलाई फेरि घरको याद दिलायो। मेरी आमा पनि एक्कासि आँधीहुरी चल्यो भने यसरी नै मकैको पिठो चुलामा हालेर के के बरबराउँथिन्। आमाको छाया आँखामा नाँच्यो। आमाले यसो गरेपछि आँधीहुरी अलि मत्थर भएजस्तो लाग्थ्यो। म भने घरको कुनामा डराएर बसिरहन्थें, घरको छाना नउडाओस् भन्ने कामना गर्दै।

जीवनमा जे जस्ता घटनाहरू घटे पनि सबैभन्दा पहिला आमा र घरसँग जोडिएका यादहरू तँछाडमछाड गर्दै आइहाल्ने रहेछन्। आज पनि मकैको पिठो डढेको बास्नाले घर अनि आमाको बेस्सरी याद दिलायो। मनमा गाँठो परेजस्तै भयो। यो आँधीहुरी गाउँमा पनि पुग्यो होला। यता मेरा आँखामा कराउँदै मकैको पिठो खोजिरहेकी आमा झुलुक्क झुल्किएपछि आँखा रसायो।

यता सेल्टर घरमा अँध्यारो व्याप्त थियोे। बिस्तारै हुरी रोकियो। कसरी रोकिएको होला ? चुलामा हालेको मकैको पिठोको बास्ना र हुरीको के सम्बन्ध होला ?

‘यसरी आँधीहुरी एक्कासि आएको राम्रो होइन, मान्छे मर्छन् !’ सेल्टर घरका बा टुकी बाल्दै भन्दै थिए।

मैले पुलुक्क बन्दी सिपाहीको अनुहार हेरें। ऊ निन्याउरो मुख लगाएर चुलामा टोलाइरहेको थियो। मलाई उसको वरिपरि मृत्यु नाचिरहेको छजस्तो लाग्यो। छि, मेरो अपराधी मन!

‘मलाई कहिले छोड्छ होला है बहिनी? छोडे पनि कहाँ जाने? जागिर पनि जान्छ होला। गएन भने पनि मलाई शंका गर्छन्। म त कहींको नरहने भएँ। अस्पतालमा के भइरहेको होला? साह्रै पिर लाग्यो।’

म निःशब्द भएँ। कस्तो रहेछ मान्छेको मन ? अहिलेको भर छैन, भोलिको कल्पनाले रमाउने, डराउने।

मलाई त्यो बन्दी सिपाहीप्रति सहानुभूति धेरै थियो। सायद चाहेको जस्तो भए उसलाई छोडिदिन्थें तर मलाई रोक्थ्यो मनको डरले। मैले त्यसो गरें भने पार्टीको कारबाही भोग्नुपर्थ्याे। जे पनि हुन सक्थ्यो। मलाई ऊ तुरुन्तै विराटनगर अस्पतालमा पुगिहालोस् जस्तो लाग्थ्यो।

खाना खाइसकेपछि म सुत्न पल्लो घरतिर जानुपर्ने भयो। जानुभन्दा अगाडि एकपटक बन्दी सिपाहीलाई हेरेर जान मन लाग्यो। उसलाई हात बाँधेर चुलाको छेउमा राखिएको थियोे भने सुत्नलाई गुन्द्री ओछ्याइएको रहेछ।

‘सुत्नु दाइ, म पनि सुत्न गएको,’ मैले भनें।

‘बहिनी, तपाईंको म ऋणी रहनेछु। यति धेरै माया गर्नुभयो,’ उसले माया लाग्दो नजरले हेरेर मलाई आँखाभरि आँसु पारेर भन्यो।

‘सुत्नु है दाइ’ म अरू नबोली फटाफट पल्लो घरतिर लागें।

बाहिर धेरै चिसो थियो। मिलिसिया टोली ड्युटीमा थियो। मलाई मिलिसिया कमान्डरले फेरि बन्दी सिपाहीलाई कुटपिट गर्छ जस्तो लागेको थियोे। अलि तुच्छ स्वभावको थियो ऊ। म ओछ्यानमा चुपचाप सुतें, सेल्टर घरकी बहिनीसँग। सानै त थिएँ, मस्त निदाइहालेछु।

बिहान उठेर हतारहतार बन्दी सिपाही राखेको घरतर्फ लागें। त्यो सेल्टर घर सुनसान थियो।

मन झसंग भयो।

हिजो बन्दी सिपाहीलाई राखिएको चुलाको छेउ खाली थियोे। आँखा झिमझिम गरेर हेरें। त्यो बन्दी सिपाही त्यहीं निन्याउरो अनुहार लगाएर बसिरहेको छ जस्तो लाग्यो।

‘बहिनी, मलाई कहिले छोड्ने रहेछ?’ उसले सोधे जस्तो लाग्यो।

झन्डै आँसु खसे आँखाबाट। कति चाँडै ऊ मसँग खुलेर बोलेको थियो।

‘आमा त्यो दाइ खै ?’ सेल्टर घरकी आमालाई सोधें।

‘नानी, त्यो भाइलाई राति साह्रै नमज्जाले कुट्यो नि तिम्रा साथीहरूले। मलाई त यही आँगनमा मार्छन् जस्तो लागेको थियो। सहनै सकिनँ अनि जहाँ लगेर मार्छौ मार तर मेरो घरमा मार्न पाउँदैनौ भनें। कस्ता निर्दयीहरू! झिसमिसेमै लिएर गए। रातभरि ऐया आमा! भन्दै थियो। सोझो राई रहेछ, मेरै छोरोजस्तो लागेर आयो, पापीहरू!’

मलाई पनि नमिठो लाग्यो।

‘नानी, तिमी घर जाऊ। यसरी हिँड्नु राम्रो होइन,’ सेल्टर घरको दाइले एक गिलास तातो दुध दिँदै भने। मलाई दुध खानै मन लागेन। सेल्टर घरमा भएका अरू साथीहरू सधैंझैं सामान्य थिए। सबै हाँस्दै, बोल्दै, खाँदै थिए। फरक त मलाई मात्रै परेको थियोे। म चुपचाप त्यही चुलाको कुनामा बसें।

‘मैले भनेका कुरा साथीहरूलाई नभन्नू है,’ दाइले भने।

‘हवस्,’ मैले टाउको हल्लाएँ।

समय बिस्तारै बित्दै गयो। मैले त्यो बन्दी सिपाहीलाई सम्झिराख्थें। कहाँ राखेको होला? कि पार्टीले मुक्त गर्‍यो? कसलाई सोध्नु? कसरी थाहा पाउने? नेताहरूलाई सोध्न पनि डर लाग्थ्यो।

त्यो घटनाको दश दिनपछि एक नम्बर एरियाबाट मेरो सबैभन्दा मिल्ने गाउँकी साथी नम्रता (क. सिमाना) आएकी रहिछन्। इलाम जिल्लालाई दश भागमा विभाजन गरिएको थियो। म आठ नम्बर एरियामा कार्यरत थिएँ। हामी महिला संगठनको एउटा कार्यक्रममा भेटिएका थियौं। उनी एक नम्बर एरियादेखि प्रतिनिधिहरू लिएर आएकी थिइन्। धेरै समयपछि हाम्रो भेट भएको थियो। घरै पुगेजस्तो लाग्यो। एकछिन त बोल्नै सकेनौं।

‘मलाई भागेर घर जान मन लाग्छ,’ उनले बिस्तारै भनिन्।

‘घर गएर पनि के गर्नु? झन् सेनाले पक्रेर मार्छ,’ मैले भनें।

‘हामी त घरको न घाटको हुने भएछौं सानी !’

‘कहाँ जानु?’ मैले सोधें आफैलाई।

‘हाम्रो एरियामा अस्ति एकजना बन्दी बनाएर ल्याएको आर्मीलाई साथीहरूले बिजोगले मारेपछि आफैसँग ग्लानि लागेको छ। त्यही दिनदेखि भागेर कतै जाऊँ जस्तो लागेको छ,’ उनले बिस्तारै भनिन्। त्यो सुनेपछि मलाई शरीर नै बरफझैं चिसिएजस्तो लाग्यो।

‘हँ, के भन्छेस् हउ?’

‘हो नि, बिचरालाई बित्थैमा मारे। पछि बुझ्दा ऊ निर्दोष थियोे रहेछ।’

‘वाह! मान्छे मारेपछि निर्दोष करार गरिदिने जनअदालत!’ मलाई नमिठो लाग्यो।

‘नम्रता, उसले मलाई सोधिरहन्थ्यो। म कहिले छुट्छु बहिनी भनेर,’ मैले त्यो बन्दी सिपाहीका बारेमा थाहा भएको सबै कुरा सुनाइदिएँ। उनी पनि स्तब्ध भइन्।

‘पानी खान दिनुस् हजुर, मेरी गर्भवती श्रीमती अस्पतालमा मेरो बाटो हेरेर बसेकी छिन्। बुढा भएका बाआमाको मबाहेक केही छैन। मैले कुनै गल्ती गरेको छैन। मलाई छोडिदिनुस् हजुर। म एक पटक मेरी श्रीमतीलाई हेरेर आउँछु,’ त्यो बन्दी सिपाही रगताम्मे भएर याचना गरिरहेको थियो।

‘साला ! जनताको दुस्मन !’  

‘होइन हजुर, म पनि गरिबको छोरो हुँ।’ भनी नसक्दै अर्काले मोटरसाइकलले पछाडिबाट ठक्कर दियो अनि सालको रुखमा ठोक्काएर बेहोस बनायो त्यो बन्दी सिपाहीलाई।

अलिअलि बोल्दै थियोे ‘म पनि गरिबको छोरो हुँ, मलाई एकपटक उनलाई भेट्न दिनुस्, आमाबाको मबाहेक कोही छैन। छोरा कि छोरी...!’

‘ड्याम्म, ड्याम्म’ बन्दुक पड्कियो। सुखानी जंगलबिचमा त्यो चित्कार सुन्ने कोही भएन।

रगत लागेर कटकट भएको कमरेड सीमाले दिएको ज्याकेट लगाएर हात पछाडि बाँधिएको त्यो बन्दी सिपाहीको लास बेवारिसे बनेर लडिरहेको थियो। 

प्रकाशित: ११ कार्तिक २०८० ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App