२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

विदेश जान पाउनुपर्ने मागसहित आज ४ बजे सर्वोच्च जाँदै सन्दीप

फाइल तस्बिर

नाबालिग बलात्कारको अभियोग लागेका सन्दीप लामिछाने पाटन उच्च अदालतले गरेको फैसला विरुद्ध आज अपराह्न ४ बजे सर्वोच्च अदालत पुनरावेदन दिन जाने भएका छन्। 

बुधबार सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले नागरिक न्युजसँग कुरा गर्दै सन्दीप आज अपराह्न ४ बजे सर्वोच्च अदालत जान लागेको बताए। 

उनले भने, ‘ हामी आज पुनरावेदनको लागि सर्वोच्च अदालत जाँदै छौँ। सन्दीप सहित हामी सर्वोच्च जान लागेका हाैं। आज पुनरावेदन दर्ता गराउँछौँ। अब पेशी जाँहासम्म  लाग्छ सोमबार कि बुधबार हुन सक्छ होला।’

यद्यपि लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौँमै विचाराधीन छ। उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कायालयले १७ गते सर्वोच्चमा निवेदन दिएको थियो। उक्त निवेदनमा माघ २० गते सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल(कैफियत प्रतिवेदन) झिकाउने आदेश दिएको थियो। 

उक्त पुनरावेदनको पेसी फागुन १२ गतेलाई तोकिएको छ। यस पुनरावेदनको पेसी अघि नै अर्को पुनरावेदन सन्दीपले सर्वोच्चमा दिन लागेका हुन्। 

गत भदौ ५ गते एक १७ वर्षकी बालिकालाई ललाइफकाई नगरकोट घुम्न लगेको र त्यहाँबाट नियत बस ढिलो गरी राति तिलगंगास्थित एक होटलमा ल्याएर बलात्कार गरेको आरोप उनीमाथि छ। मुद्दामा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई ‘मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश’ दिएको थियो।

जिल्ला अदालतको उक्त आदेश ‘बेरीतको भएकाले बदर गरिपाऊँ’ भन्दै लामिछानेले उच्च अदालत पाटनमा निवेदन गरेका थिए। उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार लामिछानेलाई पुर्पक्षका लागि जेल चलान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै २० लाख धरौटीमा  र १० वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको थियो। तर उच्च अदालततको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्चमा पुगेको हो।

सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) को बोड बैठकले माघ १८ गते बुधबारे निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो।

सन्दीपलाई छनोट समितिले भने माघ १९ गते राष्ट्रिय टिममा आवश्यक परेको भन्दै टिममा समावेश गरेको थियो।    

नेपाली क्रिकेट टिम युएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदै छ। काठमाडौं जिल्ला अदालतले काठमाडौं बाहिरसहित विदेश जान रोक लगाएकाले सन्दीप सो टिममा छैनन्। उक्त टिममा समावेश हुन पाउने पर्ने मागसहित आज सन्दीप पुनरावेदनकोलागि सर्वोच्च जान लागेका हुन्। 

उनी नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य हुन्। हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा उनको उत्कृष्ट प्रदर्शनमा नेपालले लिग २ क्लिन सिप समेत गरेको छ भने लिग २ मा ५० विकेट पूरा गर्ने समग्रमा तेस्रो तथा नेपालका लागि पहिलो खेलाडी समेत हुन्।

प्रकाशित: १० फाल्गुन २०७९ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App