२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

मेस्सीको अर्जेन्टिनालाई क्रोएसियाको डर

लियोनल मेसी र अर्जेन्टिनाको विश्वकप उपाधि सपना जीवित नै छ। तर मंगलबार दोहामा हुने पहिलो सेमिफाइनलमा उनीहरूको यो सपनामा लुका मोड्रिचको कप्तानीमा रहेको क्रोएसिया बाधक बन्न सक्छ। जो आफैँ विश्वकपको उपाधि जित्ने सबैभन्दा कान्छो टोली बन्ने संघारमा छ।  

सन् २०१० मा स्पेन विश्वकपको उपाधि जित्ने सबैभन्दा कान्छो टोली बनेको थियो। त्यसयता २०१४ मा जर्मनी र २०१८ मा फ्रान्सले विश्वकप जितेका थिए। यी यसअघि नै विश्वविजेता बनिसकेका थिए।

समूह ‘सी’ मा रहको अर्जेन्टिनाका लागि कतार विश्वकप २०२२ को यात्राको थालनी भने सुखद हुन सकेन। साउदी अरेबियासँग पहिलो खेलमा स्तब्ध भएको अर्जेन्टिनाले त्यसपछि भने जितलयबाट विमुख हुन परेको छैन। दोस्रो खेलमा मेक्सिको र तेस्रो खेलमा पोल्यान्डलाई हराएको अर्जेन्टिनाले अन्तिम १६ मा अस्ट्रेलियामाथि सहज जितसहित क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँगको भेट पक्का गरेको थियो। यद्यपि नेदरल्यान्ड्सविरुद्ध ८३ मिनेटसम्म २–० को अग्रता लिएको अर्जेन्टिना अन्तिम समयमा अग्रता जोगाउन नसक्दा खेल पेनाल्टीमा धकेलिएको थियो। अर्जेन्टिनाले नेदरल्यान्ड्सको यात्रा पेनाल्टी सुटआउटमा ४–३ ले अन्त्य गर्दै क्रोएसियासँगको सेमिफाइनल भेट पक्का गरेको थियो।

२०१८ मा दक्षिण अमेरिकामै विश्वकपको उपाधि संघारमा पुगे पनि मेसीको टोली जर्मनीसँग निराश भएको थियो। २०१८ को रूस विश्वकपमा भने अर्जेन्टिनाको यात्रा फ्रान्सले अन्तिम १६ मा पूर्णविराम लगाइदिएको थियो।

गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाका लागि विश्वकप जित्ने योभन्दा सुनौलो अवस नआउन सक्छ, विशेष गरी मेसीका लागि। मेसीको यो पाँचौं विश्वकप सहभागिता हो। उनले यसअघि नै कतार विश्वकप आफ्नो अन्तिम सहभागिता हुने संकेत गरिसकेका छन्।

‘हामी उत्कृष्ट लयमा छौं, त्यसैले पनि विश्वविजेता बन्ने लक्ष्य पूरा हुन्छ भन्नेमा आशावादी छांै,’ अर्जेन्टिनाका गोलकिपर इमालिनो मार्टिनेजले भने, ‘क्रोएसियाको मिडफिल्डर पंक्ति निकै मजबुत छ। उनीहरू निकै अनुभवी छन्। पछिल्लो विश्वकप जुन प्रशिक्षकको प्रशिक्षणमा खेलेका थिए, यस पटक पनि उनीहरूले त्यही प्रशिक्षकको प्रशिक्षणमा खेलिरहेका छन्। यसले उनीहरूको टोलीलाई थप बलियो बनाएको छ।’ सात पटकका बालन डी’ ओर विजेता मेसी पनि विश्वकपको उपाधिसहित सुखद बिदाइको पर्खाइमा छन्। गत वर्ष कोपा अमेरिकाको उपाधि जित्दै मेसीले आलोचकहरूको स्वरलाई मत्थर पार्ने काम गरेका थिए। विश्वविजेता बनेमा उनी वर्तमान फुटबलका महान् खेलाडी बन्नेछन्।

यता क्वार्टरफाइनलमा दक्षिण अमेरिकी फुटबलको महारथी ब्राजिललाई हराएको क्रोएसिया सेमिफाइनलमा पुन: सोही नतिजा दोहोर्‍याउन चाहन्छ।  

क्रोएसियाको लगातार दोस्रो पटकको फाइनलको लक्ष्यमा अर्जेन्टिनाविरुद्ध पनि ३७ वर्षे मोड्रिचको मिडफिल्डमा चल्ने जादुमा निर्भर हुनेछ। जसलाई मार्सेलो ब्रोजोभिच र माटियो कोभासिचले दरिलो साथ दिइरहेका छन्।

क्रोएसियाले फाइनलसम्मको यात्रा तय गर्दा अन्तिम १६ मा जापान र क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा निराश पारेको थियो।

पछिल्लो पटक यी दुई टोली रूस विश्वकपको समूहचरणमा आमने सामने भएका थिए। जहाँ क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो।

प्रकाशित: २७ मंसिर २०७९ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App