२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

हिमामा सुत्केरीलाई पोषिलो खाना, बच्चालाई न्यानो कपडा

जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकाया सुत्केरीलाई पोषिलो खाना र बच्चालाई न्यानो कपडा कोसेली स्वरुप लिएर गाउँबस्तीमा पुगेकी छिन्। उनी सुत्केरीलाई एक क्यारेट अण्डा र ५ पोका तेल, बच्चालाई कम्मल र भोटेचोलो लिएर गाउँबस्तीमा पुगेकी हुन्।  

उनले आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि कोसेली लिएर गाउँमा जाँदा स्थानीय उत्साहित थिए। उनले गाउँमा पुगेर कोसेली  दिने र संगसंगै सुत्केरी स्याहार लगायतका विषयमा छलफल गरेकी हुन्।

गाउँपालिकाले तयार गरेको महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तर्गत उपाध्यक्ष रोकायाले सुत्केरीलाई पोषिलो खानेकुरा, बच्चालाई न्यानो कपडा, एकल महिलालाई धोति र सल प्रदान गरेकी हुन्। दुर्गमताका कारण यहाँका सुत्केरीले आराम गर्न र पोषिलो खाना पाउँदैनन्। उनले भनिन्,‘गाउँमा सुत्केरी स्याहारका विषयमा सचेतना दिँदै कोसेली प्रदान गरिएको छ।’

गाउँपालिका भरीका एक सय सुत्केरीलाई पोषिलो खानेकुरा, १ सय जना एकल महिलालाई धोति, सल र एक सय बच्चालाई न्याने कम्मल र भोटे चोलो उपलब्ध गरिएको उपाध्यक्ष रोकायाले बताइन्।  

यही कार्यक्रमभित्र रहेर जेष्ठ नागरिकलाई सम्मान र विपन्न बालबालिकालाई स्टेशनरीका सामग्री प्रदान गरिएको छ। महिलालाई सीपमा पोख्त बनाउन हाते होजियारी तालिम दिइएको छ। उनले भनिन्,‘दुर्गमका महिलाले भोग्नु परेको समस्या केन्द्रित कार्यक्रम लिएर गाउँबस्तीमा पुगिएको छ। महिला स्वास्थ्य हुन्, आत्मनिर्भर हुन्, महिला सरसफाईका क्रियाकलापमा अग्रसर बनुन्,अन्यायको विरुद्धमा आवाज उठाउन सकुन भनेर गाउँमा महिलालाई सचेतना दिने गरिएको उनले बताइन्।  

उपाध्यक्ष रोकायाले गाउँपालिकाको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्र, महाबैपातरखोला र बड्की बर्थिङ सेन्टरमा एक/एक लाख रुपैयाँको आपतकालिन सुत्केरी कोष खडा गरिएको बताइन्। गाउँपालिका भित्रका ७ वडाका २८ गाउँमा पुगेर स्वास्थ्य, शिक्षाका विषयमा सचेतना फैलाइएको उनी बताउँछिन्।

महिलासंग उपाध्यक्ष कार्यक्रममा हिमा गाउँपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। त्यही कार्यक्रमबाट शिक्षा, स्वास्थ्य, कृषि, विकास योजना र वितरणमुखी कार्यत्रमम गरिएको थियो। उपाध्यक्ष रोकायाले भनिन्,‘अहिले पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा जाँदैनन्। आमा र बच्चालाई पोसिलो खाने कुरा खुवाउँदैनन्। सुत्केरीमा पाउनु पर्ने आराम पाउँदैनन् त्यही भएर यहाँका सुत्केरी सुरक्षित छैनन्। अब सुरक्षित रुपमा स्वास्थ्य संस्थामा सुत्केरी होउन र आमा र बच्चाको सुरक्षामा संवेदनशिल बनुन् भन्ने हेतुले सुत्केरी स्याहार तथा सुरक्षाका विषय प्राथमिकतामा राखिएको उपाध्यक्ष रोकायाले बताइन्।

प्रकाशित: २२ असार २०७८ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App