२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

गोरखाका धार्मिकस्थल बन्द

प्रसिद्ध धार्मिक स्थल मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर बिहीबारदेखि वैशाख महिनाभर बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने जनाएको छ। ‘कोभिड–१९ विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्यपूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ,’ प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले भने। नित्य पूजाआजामा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय भएको उनले बताए।  

चैतेदसैं भएकाले मंगलबार एकैदिन मनकामना मन्दिरमा सात हजार भक्तजनले पूजा गरेको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयबाट कुनै निर्णय नभएकाले मंगलबार निर्बाध रूपमा पूजाआजा भएको थियो। बुधबार बिहानदेखि भने भक्तजनलाई पूजापाठमा रोक लगाइएको छ। चैतेदसैंको अष्टमीमा गोरखकालीको विशेष पूजा लाग्ने दिन भएकाले मंगलबार भक्तजनको थेगिनसक्नु भीड भएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले जानकारी दिए।  

बैठकले मेला, महोत्सव, जात्रा, पर्व, विवाह, व्रतबन्ध, पास्नी, धार्मिक अनुष्ठान, मलामीमा पनि २५ जनाभन्दा धेरै सहभागी गराउन नपाइने र पार्टी प्यालेसको प्रयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने निर्णय गरेको छ। सभा, सम्मेलन, सेमिनार, गोष्ठी, समीक्षा बैठक, तालिम, प्रशिक्षणजस्ता क्रियाकलाप पनि भर्चुअल विधिबाट मात्र गर्नुपर्ने, भौतिक उपस्थितिमा गर्नुपर्ने भए २५ जनाभन्दा बढी उपस्थित नगराई गर्नुपर्ने निर्णय भएको छ। सिनेमा हल, पार्टीप्यालेस, नाचघर, हेल्थक्लब, जिमखाना, फुटसल, हाटबजार, कबर्डहल, रंगशालामा हुने दर्शकसहितको खेलकुद तथा भिडभाड हुने कार्यक्रम पनि बन्द गराउने निर्णय भएको छ।

प्रकाशित: ९ वैशाख २०७८ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App