२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सिडिओसहित प्रशासनको टोली घरमै पुगेर होममायालाई सहयोग

होममायालाई सहयोग हस्तान्तरण गर्दै गोरखाका प्रजिअ । तस्बिर : नागरिक

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर २ सादीखोलाकी ४५ वर्षीया होममाया थापालाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) तिर्थराज भट्टराईसहितको टोलीले घरमै पुगेर सहयोग गरेको छ। शारीरिक रुपमा अशक्त होममायाको दुःखबारे समाचार प्रकाशित भएपछि रेडक्रस र प्रशासनको टोली मंगलबार उनलाई राहत लिएर भेट्न पुगेको हो।

जिल्ला विपद् ब्यवस्थापन समितिको कोषबाट होममायालाई चामल, दाल, डसना, तेल, सिरक लगायत १२ हजार मूल्यको सामग्री र पाँच हजार नगद प्रदान गरिएको प्रजिअ भट्टराईले बताए। ‘होममायाको बारेमा संचार माध्यमबाट थाहा पाएपछि जिल्ला विपद् ब्यवस्थापन समितिको तर्फबाट राहत लिएर पुगेका हौँ’ उनले भने ‘उनको घर निर्माण गर्न बिभिन्न ब्यक्ति, संघ संस्थासँग पनि पहल गरिनेछ।’  

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले ब्ल्याङकेट, कम्बल, त्रिपाल पनि हस्तान्तरण गरेको छ। ४५ वर्षीया होममाया परिवारविहीन भएपछि अहिले आफन्तले दिएको र छिमेकीले बनाइदिएको टहरामा गुजारा चलाउँदै आएकी छिन्। उनलाई दैनिकी चलाउन समस्या भएको, हिँड्डुल गर्न नसकने हुँदा मागेर खानुपर्ने, चिसो समयमा कटेरोमा गुजारा गर्नुपर्ने बाध्यता छ।  

उनको खुट्टा चल्दैन। हातपनि एउटा मात्रै चल्छ। घिस्रिएर हिँड्छिन्। परिवारमा उनी एक्लो छिन्। उनलाई निकै शकस छ। गत वर्ष आमाको मृत्यु भएपछि निकै शकस झेल्दै आएकी उनलाई बिभिन्न क्षेत्रमा सहयोग जुट्ने क्रम चलिरहेको छ। स्थानीय शिक्षक मदन पन्तले उनको घर बनाउने अभियान सुरु भएको बताए। ‘उहाँलाई अपाङ्गमैत्री घर आवश्यक छ’ उनले भने। बिभिन्न ब्यक्ति, संघ संस्थासँगको सहयोगमा घर बनाईदिने योजना रहेको उनले बताए।  

सहयोग हस्तान्तरण गर्न सहायक प्रजिअ देवी पाण्डे खत्री, गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, लगायतपनि पुगेका थिए। गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने उपाध्यक्ष अधिकारीले बताईन्।

प्रकाशित: २८ माघ २०७७ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App