२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

‘तँ कामी भइस्’ भन्दै जब आफ्नै बुबाको लास छुनसमेत दिइएन...

जन्म दिने बाबुको निधन हुँदा यसै पनि ठूलो पीडा भइरहेकामे हुन्छ, आँखाबाट बर्बरी आँशु झरिरहेको हुन्छ । त्यहीमाथि कसैले आफ्नै बाबुको शव हेर्न र छुनसमेत दिएन भने एउटा छोरोको मन कस्तो होला !  

‘हाम्रो कुल वंशबाटै निकालिएको, तँ तल्लो जाति’ होस् भनेर आफ्नै दाजुभाइले नानाथरी गाली गरेर घचेट्दा कति मन जल्दो हो ! हालै यस्तै पीडादायी परिस्थिति भोग्नुपपर्‍याे– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४, साब्लाखुका राजीन्द्र बुढाक्षेत्रीले ।  

आफूलाई भएको त्यही विभेदविरुद्ध न्याय खोज्नै उनी अहिले सदरमुकाम फुङलिङ आइपुगेका छन् । समाजमा अहिले दलित र अन्य जातिबीच जातीय भेदभाव कायमै छ । दलित समुदायका छोरीचेली विवाह गरेकै कारण आफ्ना दाजुभाइ र समाजबाट बहिष्कारमा  परेका थुप्रै पीडितमध्ये बुढाक्षेत्री पनि एक भएका छन् ।

गाउँमा सानैदेखि चिनजानमा रहेकी विश्वकर्मा थरकी महिलासँग प्रेमपछि वैवाहिक सम्बन्धमा बाँधिएका राजीन्द्र त्यसबेलादेखि नै गाउँ समाजबाट एक्लो भए ।  

वि.सं. २०६० मा उनले विवाह गरेका थिए । त्यसपछि उनी घरबाट अलग भई अन्यत्रै बसेर रमाउन थाले । यत्तिकैमा गत साउन १० गते उनका बुबा अचानक बिरामी परे । बुबाले आफ्नो उपचारमा सहयोग गर्न राजीन्द्रलाई घरमा बोलाए । सोहीबमोजिम उनी बुबा लिएर झापाको बिर्तासिटी अस्पताल पुगे । केही दिन अस्पतालमा बसेपछि बुबालाई केही सञ्चो भएजस्तो भयो । त्यसपछि बुबाकै भनाइअनुसार उनले बुबालाई साउन १७ गते अस्पतालबाट घर लिएर गए ।  

भोलिपल्ट साउन १८ गते नै पुनः बुबा सिकिस्त बिरामी परे । त्यसपछि बाबुको बैतर्नी गर्ने निधो भयो । उक्त समयमा एकाघरका दाजु प्रेम बुढाक्षेत्रीले ‘तिमीहरू छोराछोरीसहित परिवारै घर जानू, यहाँ बस्दा बिटुलो हुन्छ, अशुद्ध हुन्छ, तिमीहरू अछूत कामी जातका मानिस हौ र तिमीहरूलाई हाम्रो बुढाक्षेत्रीको कुल परिवारबाट हामीले बहिष्कार गरिसकेका छौं,’ भनेर आफूलाई त्यहाँ बस्न नदिएको राजीन्द्रले सुनाए ।  

त्यही दिन दिउँसो साढे १ बजे बुबा बिते । परिवार शोकमा डुब्यो । अरू दाजुभाइ छरछिमेक सबै भेला भए । अरू सबैले बुबाको मृत शरीर नजिकै गएर हेरे, रोए कराए । तर राजीन्द्र, उनका श्रीमती फूलमाया र छोराछोरीलाई नजिक जानसमेत दिइएन ।  

शव उठाएर लाने बेलासम्म पनि राजीन्द्रले अन्तिमपटक आफ्नो बुबाको शरीर छुन पाएनन् । शव घाटमा लाने बेला भएको थियो । नाताले काका पर्ने रामबहादुर बुढाक्षेत्रीले ‘तिमीहरू अछूत कामी जातका मानिसले घाटमा जान, केस काट्न, काजक्रिया गर्न पाउँदैनौ’ भने । मलाई पीडामाथि पीडा थोपरियो, चुप लागेर बस्नुबाहेक कुनै विकल्प थिएन,’ राजीन्द्रले सुनाए ।  

यस्तै सिदिङ्वा गाउँपालिकाको हुलाक कार्यालयमा कार्यरत बुद्धिप्रसाद बुढाथोकीले ‘लाससमेत छुन पाउँदैनौ अब उप्रान्त सेन्चुरी लेख्नू’ भनेर हप्कीदप्की गरेको उनले बताए ।  

उनका अनुसार यसरी आफ्ना आफन्त, दाजुभाइले जातीय भेदभावसहित गालीगलौज गर्दा समाजका अरू मानिस मुखामुख गरेर बसे । ‘त्यहाँ जम्मा भएका पुरोहितलगायत केही बाहुन समुदायका मानिसले राजीन्द्र पनि कुलप्रसादकै छोरा हो, दाजुभाइसँगै बसेर क्रिया बस्दा हुन्छ भन्दाभन्दै पनि चार जनाले गालीगलौज गर्दै लास छुनसमेत दिएनन्,’ उनले भने ।  

बाबुको लास लिएर अरू घाटतर्फ लागेपछि आफू आफ्नो परिवार लिएर छुट्टिएर बसेको घरतर्फ गएको र दलित समुदायकै पुरोहित बोलाएर १३ दिन क्रिया बसी बाबुको संस्कार सकाएको बुढाक्षेत्रीले बताए ।  

जातीय विभेदसहित बाबुको दाहसंस्कारमा सामेल हुन वञ्चित गराउनेमा संलग्न ४ जनाविरुद्ध बुढाक्षेत्रीले बुधबार ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् ।  

जिल्लाको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु घर भई हाल इटहरी बसेका प्रेम बुढाक्षेत्री, सिदिङ्वा गाउँपालिका–४ का रामबहादुर बुढाथोकी, सोही ठाउँका क्रमशः बुद्धिप्रसाद बुढाथोकी र खड्क बुढाथोकीविरुद्ध राजीन्द्र र उनकी श्रीमती फूलमायाले जाहेरी दिएका छन् । न्यायको खोजीमा कोरोना महामारीका बेला पनि गाउँबाट सदरमुकाम आएका क्षेत्रीलाई संयुक्त दलित अधिकार मञ्च (ताप्लेजुङ)ले जाहेरी दर्ताका लागि सहयोग गरेको हो ।  

मञ्चका अध्यक्ष छत्र विश्वकर्माले यो एउटा प्रतिनिधिमूलक घटना मात्रै भएको बताउँदै गाउँघरमा यस्ता जातीय भेदभावजन्य आपराधिक घटना प्रशस्तै रहेको धारणा राखे । यस्ता घटनाविरुद्ध सबैले आवाज उठाउन आवश्यक भएकामा उनले जोड दिए ।  

राजीन्द्र बुढाक्षेत्री र उनकी श्रीमती फूलमाया विश्वकर्मा (बुढाक्षेत्री) सहितले दिएको जाहेरीका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको ताप्लेजुङ प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।  

पीडित परिवारले छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बमोजिम दोषीलाई हदैसम्मको सजाय गरी न्याय दिलाइदिन अनुरोध गरेको छ ।  

प्रकाशित: ११ भाद्र २०७७ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App