२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

उपचार नपाएरै सुत्केरीको मृत्यु

जाजरकोटस्थित कुशे गाउँपालिका–५, बाटुलेकी २७ वर्षीया पशुपति पुनले आइतबार दिउँसो छोराको जन्म दिइन्। सन्तानको प्रतीक्षामा रहेको परिवारमा खुसी छायो। तर भित्र पशुपति मृत्युसँग लड्दै थिइन्। सुत्केरी भएपछि सालनाल खस्न ढिलो हुँदा एकैछिनको खुसी तनावपूर्ण बन्यो। आफन्तले हतारहतार स्थानीय मेडिलकमा पु-याए पशुपतिलाई। त्यहाँ उनको सालनाल त झिकियो तर विडम्बना उनी बेहोस भइन। सन्तान जन्मँदा छाएको रौनक ६ घण्टापछि शोकमा बदलियो।

सालनाल निकाल्दा उनले पानी मागिन् र एकैछिन्मा अकालमै ज्यान गुमाइन्। उनले घरमा सामान्य अवस्थामा सन्तानलाई जन्म दिइएकी थिइन्। यो परिवारको खुसी ६ घण्टामै लुटियो। गाउँ नजिकै भरपर्दाे स्वास्थ्य संस्था नहुँदा उनले मृत्युलाई जित्न सकिनन्। सन्तानलाई आमाको न्यानो काख पाउनबाट विकटताले खोसिदियो।

कर्णालीको यो पछिल्लो उदाहरण मात्र हो। सुत्केरीको मृत्यु कुनै रोगजस्तै बनेको छ कर्णालीमा। भौगोलिक विकटताका कारण गर्भवती र सुत्केरी हुँदा यहाँका महिला नियमित स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउन सक्दैनन्। घरायसी कामको बोझले गर्दा आरामसमेत गर्न नपाउँदा उनीहरूको स्वास्थ्य अवस्था बिग्रँदो हुन्छ। स्वास्थ्य संस्थामा सहज पहुँच नहुँदा यहाँका महिला मृत्युसँग लड्न बाध्य छन्। केहिले ज्यान गुमाउन छन् भने केही उक्त लडाइँ जित्छन्।

भौगोलिक विकटता, गुणस्तरीय प्रसूति गृहसँगै जनशक्ति अभाव हुँदा सरकारले गरेको केही प्रयास अफल भएका छन्। गर्भवती र सुत्केरी महिलाका लागि प्रदेश सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। स्वास्थ्य शिक्षा, सुत्केरी पोषणलगायतका कार्यक्रम सञ्चालन छन्। तर समाजमा सन्तानको जन्म दिँदा महिलाको ज्यान जाँदा कार्यक्रम प्रभावकारी भएको महसुस कर्णालीका महिलले गर्न पाएका छैनन्। जटिल अवस्थामा पुगेका गर्भवती तथा सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् एयर लिफ्टिङ गरेर सुविधा सम्पन्न अस्पतालमा पनि लिइने गरेको छ। तर उक्त कार्यक्रम पहुँच र हुनेखानेका लागि मात्र आएको कर्णालीवासीको भनाइ छ।

सधैं एयर लिफ्टिङको मात्र भर परेर नहुने भन्दै जाजरकोटकी प्रदेश सांसद कृष्णा शाहले भनिन्, ‘कर्णालीको स्वास्थ्य क्षेत्रलाई नै व्यवस्थित गर्नुपर्छ।’ वैकल्पिक अवस्था एयरलिफ्टिङ भए पनि खर्चिलो भएको उनले बताइन्। ‘अन्य योजनालाई बिस्तारै अगाडि बढाउनुपर्छ,’ उनले भनिन्, ‘स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ।’ अहिले पनि कतिपय वडामा स्वास्थ्य संस्था नभएको भन्दै उनले प्रत्येक वडामा गुणस्तरीय प्रसूति गृहसहितको स्वास्थ्यचौकी हुनुपर्ने बताइन्। ‘एयर लिफ्टिङ कार्यक्रम थाहा पाएका मान्छेले मात्र उपभोग गर्न पाउँछन्,’ उनी भन्छिन्, ‘कर्णालीका फोनसमेत नलाग्ने ठाउँ छन्। त्यस्ता क्षेत्रका महिलालाई कसरी बचाउने।’

स्वास्थ्यको सूचक मात्रभन्दा पनि भौगोलिकता, परिवारिक सचेतना र सहयोग गर्ने प्रणालीले पनि उपचारमा प्रभाव पार्ने स्वास्थ्य निर्देशालयअन्तर्गतको सुरक्षित मातृत्व तथा नव शिशु कार्यक्रमकी वरिष्ठ सामुदायिक नर्सिङ अधिकृत मानकुमारी गुरुङले जनाइन्। ‘स्वास्थ्य संस्था नजिकै हुन्छ,’ उनले भनिन्, ‘कहिले कसो अल्छिपना हुँदा पनि पछि अवस्था जटिल हुन सक्छ।’ गर्भवती तथा सुत्केरी महिलाका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम गर्दै आएको उनले बताइन्।

प्रकाशित: २१ श्रावण २०७७ ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App