२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

कौसी खेतीकाे लहर

पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेसाले स्टाफ नर्स र औषधी व्यवसायी हुन्  । तर, अचेल उनको परिचयमा  थपिएको छ– एक सफल कौसी खेती किसान ।  

उनी पोखरामा पछिल्लो समय यो परिचयबाट अझ बढी परिचित हुन थालेकी छन् । पन्ध्र वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी सरस्वती कौसीमै उत्पादित तरकारीमा आत्मनिर्भर एक सफल कृषक बनेकी छन् । कौसीमा सामान्यतया तरकारी खेती गर्ने त अहिले सोख नै भएको छ । तर, उनी भने कौसीकै तरकारीबाट आत्मनिर्भर भएकाले उनको सफलताले अहिले यहाँ चर्चा पनि पाउने गरेको छ ।           

बिहान जुरुक्क उठ्दा उनको घर अगाडिबाट कैयौँ मानिस बिहानको हिँडाइ (मर्निङ वाक) मा देखिन्छन् । तर, उनको बिहान भने कौसीमा तरकारीसँगै बित्ने गर्दछ । उनी सामान्य व्यायामपछि तरकारीको हेरचाहमा व्यस्त छिन् । 

मौसमी तरकारीका बेर्नादेखि डोरीमा लहलह फलेका काँक्रो, घिरौँला, लौका, सागहरु भ्यान्टा, खुर्सानी गोडमेल र तिनमा एक नजर लगाएपछि उनको बिहानको एक-डेढ घण्टा बितिहाल्छ । थापा भन्छिन्, ‚पसिना बगाएसँगै हुर्केका फलहरुमा भेटिएको खुसीको कुनै मुल्य नै नहुने रहेछ   । जति आफूले खाँदा आनन्द आउँछ त्यति    नै अरुलाई बाँडेर खान पाउँदा पनि मज्जा लाग्छ,’ उनले सुनाइन् ।

 थापा भन्छिन्, ‘म बौद्धिक कृषक परिवारमा जन्में, मलाई माटोसँग खेल्न सानैदेखि मन पथ्र्यो, सहर बजारमा पर्याप्त जग्गा नभएपछि कौसीमा तरकारी लगाउन थालें । घरको भान्छामा खेर गएको फोहोरलाई कम्पोस्ट मल बनाएर प्रयोग गर्दा फोहोर व्यवस्थापन पनि भयो भने ताजा तरकारी खान पनि पाइयो ।’           

थापासँग कौसीमा कुनै एक याममा दुई सय केजीसम्म तरकारी फलाएर जोखेको अनुभव पनि छ । कौसी खेतीमा उत्पादन गरेको तरकारीले गत वर्ष हेमजाको आलु महोत्सवमा प्रथम पुरस्कार पनि हात पार्न सफल भएको थियो । थापाको पछिल्लो दिनचर्या कौसीमा तरकारी लगाउन चाहानेहरुलाई तालिम दिन र आवश्यक परामर्शमा जुट्ने गरेर बितेको छ ।

‘अहिले त सहर बजारका धेरै महिला कौसी खेतीतर्फ आकर्षित हुन थाल्नुभएको छ तर फेसन जस्तो गरेर कौसीखेती गर्दा महँगो हुन्छ । घरमा भएका पुराना भाँडाकुँडा जे छ, त्यसैलाई सदुपयोग गर्दै, भान्साको फोहोरलाई व्यवस्थापन गर्दै यो खेती गर्दामात्र सस्तो पर्न जान्छ,’ भनिन्  । सामाजिक सञ्जालमा देखाउन गरिने कौसी खेतीले आर्थिक भार पर्न जाने अनुभव पनि उनले सुनाइन् ।     

पोखरा महानगरपालिकाले वडा–वडामा कृषि सञ्जाल गठन गरेको छ । उहाँ वडा नं ८ को संयोजक छिन् । थापाले यस वडाका करिब छ सय जनालाई तालिम पनि दिएकी छन् । यतिखेर वडा नं ८ का अधिकांश घरका छतमा तरकारी लहलह भएको देख्न सकिन्छ । थापाको तालिम र परामर्श यो हरियालीको मुख्य कारक हो भन्न सकिन्छ ।           

पोखरा महानगरपालिका–८ न्युरोडकी सी शेरचन गौचन बिहान आँखा खोल्ने बित्तिकै कौसी खेती सम्झिन्छिन् । जुरुक्क उठेर कौसीमा आफूले लगाएको तरकारी दिनप्रतिदिन हर्लक्कै बढेको, फुल फक्रँदै गरेको दृश्यले निकै प्रफुल्लित भएको देख्दा आनन्द लाग्ने उनको भनाइ छ । बिहानको चिसो हावासँग हरियो साग धनियाँ, लसुनलगायतका थाँक्रामा झुलिरहेका घिरौँला, सिमी देख्दा परिश्रम अझै गर्न मन लाग्छ र मिहिनेतले नै खुसी दिने रहेछ भन्ने पनि लाग्छ उनलाई ।     

गौचन भन्छिन्, ‘बन्दाबन्दीको दिनचर्या कौसी खेतीमा बिताएँ । धेरै कुरा सिक्ने अवसर पनि मिल्यो, गरेपछि त सबै हुने रहेछ ।’ पोखराको महेन्द्रपुलमा नोभा इन्टरनेशनल इन्ष्टिच्यूटको डाइरेक्टर गौचन आजीवन सहकारी संस्थाले आयोजना गरेको तालिमबाट प्रेरित भएर कौसी खेतीमा जुटेको बताइन् ।  

‘अहिले घरकै पुराना बाल्टी, ड्रम, गमलादेखि प्लाष्टिकका अन्य सामग्री किनेर १० थरी तरकारी लगाएकी छु,’ गौचनले भनिन् ।     

गौचनको कौसीमा लसुन, प्याज, धनिँया, विभिन्न थरिका साग, घिरौँला, लौका, काँक्रो, सिमी, कागती, जिम्मु, पुदिना, भ्यान्टा, कुरीलोलगायतका तरकारी छन् । लटरम्म फलेका कागती हेर्दै रहरलाग्दो भएको छ । तरकारीसँगै मुन्तला, स्टेबेरी, अम्बा, पपिनो मेलेन फलफूलका विरुवा पनि हुर्काएकी छन् । भान्साबाट निस्केका फोहोरको व्यवस्थापन गर्दै कम्पोस्ट मल बनाएकी छन् भने हावाहुरी र असिना पानीबाट जोगाउन टनेलसमेत निर्माण गरेकी छन् ।     

पोखरा चिप्लेढुङ्गामा गुन्यूचोली बुटिक सञ्चालन गर्दै आएकी सुष्मा थापा पाण्डे पनि आफ्नो व्यस्तता छिचोलेर कौसी खेती गर्दै छिन् । कृषिकर्मसँग रमाउन मन पराउने उनी सहरबजारमा पर्याप्त जग्गाको अभाव भए पनि कौसीको गमलामा तरकारी लगाएर रहर पूरा गरेको सुनाउँछिन् । 

पोखरा– ७ मुस्ताङ्चोकस्थित उनको घरमा अहिले लौका, घिरौँला, बोडी, काँक्रा लहलह भएका छन् । बाह्रमासे लसुन धनिँया, पुदिना भने टुट्दैन । पाण्डे भन्छिन्, ‘कौसीमा बिहान आधादेखि एक घण्टा समय दियो भने हराभरा हुन्छ, घरैमा फलेको अर्गानिक तरकारी टिपेर भान्सामा लान पाउनुको मज्जा पनि बेग्लै हुन्छ ।’       

उनले २५ वटा माछाका क्यारेट, पुराना ग्यालिन, बाल्टिलाई तरकारी फलाउने भाडाको रुपमा प्रयोग गर्दै आएकी छन् । भैँसी, कुखुराको मल र पिनाको प्रयोगसँगै भान्साबाट निस्कने फोहोरको व्यवस्थापन गर्दै कौसी खेतीमा प्रयोग गरेकी छन् ।

 सामाजिक सञ्जालमा कौसी खेती ग्रुपमा जोडिएर तरकारीमा देखिने समस्याको बारेमा पनि छलफलमा जुट्छिन् । कुन मौसममा के लगाउने, कसरी लगाउने, मर्न थाले कसरी जोगाउने भन्ने बारे कौसी खेती कृषकहरुले आ–आफ्ना अनुभव र विज्ञता साट्ने गर्छन् । यसले कौसी खेतीप्रति लगाव झन् बढ्दै गएको उनको अनुभव छ ।          

कौसी खेतीको बारेमा टोलबासीलाई तालिम दिँदै आएका सेवानिवृत्त क्षेत्रीय कृषि तालिमका प्रमुख वेदकुमार श्रेष्ठ अहिले छतमा फलाउने र भान्सामा पकाउनको लागि कौसी खेतीको महत्त्व बढ्दै गएको बताउँछन् । उनले भने, ‘सानो ठाउँमा घरकै भान्साको फोहोरलाई व्यवस्थापन गरेर नै कौसीमा अर्गानिक तरकारी फलाउन सकिन्छ । यसले घरको शोभा पनि बढाउँछ ।’  

कौसी खेतीका लागि मौसमअनुसारको विरुवा छनोट गर्नुपर्ने र हाइब्रिड जातका तरकारी उपयुक्त हुने उनको भनाइ छ । पोखरामा अत्यधिक पानी, असिना पर्ने भएकाले कौसीमा लगाएको तरकारी बाली एकैछिनमा नष्ट हुनेतर्फ सतर्क हुनुपर्ने र पूर्व तयारीका साथ कौसीमा तरकारी लगाउनु पर्ने श्रेष्ठले भनाइ छ ।       

पछिल्लो समय सहरबजारमा पर्याप्त जग्गाको अभाव हुन थालेपछि कौसी खेतीतर्फ सहबासीको आकर्षण बढ्न थालेको छ । त्यस्तै आयातित तथा बजारका तरकारीमा विषादीको मात्रा अत्यधिक प्रयोग हुने गरेका समाचारहरुका कारण पनि अधिकांशले घरको कौसीमै भए पनि धेरेथोर तरकारी लगाउन थालेको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनले भने,  ‘कंक्रिटमा परिणत भइरहेको पोखरा सहरको अधिकांश घरको कौसी हराभरा देखिन थालेको छ ।’        

कडरियाका अनुसार कौसी तथा करेसाबारी र बरन्डालाई समेत सहरी कृषिभित्र समेटेर महानगरले प्रवद्र्धनात्मक कार्य गर्दै आएको छ । पोखरा कृषि मोबाइल एप्सबाट पनि कौसी खेतीको बारेमा जानकारी लिन सकिन्छ । सङ्घीय र प्रदेश सरकारको नीति तथा कार्यक्रमा समेत कौसी खेतीलाई समेटिएकाले पनि यसको महत्वलाई उजागार गरेको उनको भनाइ छ ।           

महानगरले सबै वडामा कृषि सञ्जाल गठन गरी आमा समूह, टोलविकास संस्थालाई तालिम दिँदै आएको छ । महानगरका तेत्तीस वटा वडामध्ये ११ वटा मुख्य सहरी क्षेत्रभित्र समेटेर कौसी खेती कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगिएको छ ।  महानगरले यो वर्ष कौसी खेतीका लागि ११ लाख बजेट समेत छुट्टाएको छ । वडा नं ८ लाई कौसी खेतीको लागि ‘पाइलटिङ’ गरिरहेको र हालसम्म महानगरले करिब तीन हजार जना कौसीखेती किसानलाई कम्पोस्ट विन उपलब्ध गराएको कडरियाले जानकारी दिए ।     

महानगरले कौसी खेती गर्ने किसानलाई आवश्यक पर्ने मल प्रविधि, विरुवा, गमला, कोकोपिट, कम्पोस्ट विन लगायतमा पचास प्रतिशत अनुदान दिँदै आएको छ भने अर्गानिक विषादी पनि वितरण गर्दै आएको जनाएको छ । कौसी खेतीमा बढी आयातित हुने लसुन, प्याज लगायतका तरकारी लगाउन जोड दिएको छ भने एक घर एक कागती भन्ने अभियानलाई पनि सँगसँगै लगेको उनको भनाइ छ । महानगरले स्वच्छ र हराभरा महानगर भन्ने अभियानमा कौसी तथा करेसाबारीलाई पनि जोडेर लगेको छ ।          

कडरियाले शहरभित्र कहिकतै बाँझो जमिन देखिए पनि तरकारी लगाउने प्रवृत्ति बढ्न थालेपछि सानो–सानो परिवार कौसी तरकारीमा आत्मनिर्भर बन्न थालेको बताए । ‘अहिले बारीमा नभएका धेरै कुरा पनि कौसीमा हुन थालेको छ,’ कडरियाले भने । उनका अनुसार अहिले महानगरमा एक लाख ६० हजार घरधुरी छन्, जसमा यहाँका आवासीय (रेसिडेन्सियल) घरहरुका लागभग ७० प्रतिशत घरको छतमा धेरै थोरै कौसी र करेसाबारी सञ्चालन भएको छ ।      

प्रकाशित: ८ असार २०७७ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App