२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

मह बेचेर लखपति

मौरी घारबाट मह निकाल्दै मौरीपालनक सुदर्शन लेखक ।    तस्बिरः बिरा/नागरिक

बैतडी – बैतडीका एक युवा मह बेचेर लखपति बनेका छन्। दशरथचन्द नगरपालिका–५, पोटाका ३३ वर्षीय सुदर्शन लेखकले मौरीपालन व्यवसायबाट वार्षीक १० लाख आम्दानी गरेका हुन्। २०५८ सालमा एकघारबाट मौरी पाल्न सुरु गरेका लेखक दुई वर्षयता व्यावसायिक मौरीपालनमा लागेका छन्।

सेरेना जातको मौरी पालेका लेखकले मह र मौरी घार बेचेर मनग्ये आम्दानी गर्न थालेका छन्। उनीसँग हाल ९० घर मौरी छन्। मौरीपालन व्यवसायबाट यो  वर्ष  मात्रै उनले सबै खर्च कटाएर १० लाख रुपैयाँ वचत गरेको उनले बताए। मिहेनत गरे गाउँमै व्यवसाय गरी मनग्ये आम्दानी गर्न सकिने उदाहरण लेखकले दिएका छन्। उनका उमेरका दौतरी जागिर र बैदेशिक रोजगारीमा भौतारिएका भएपनि उनी भने गाउँमै युवा उद्यमीको रुपमा दरिएका छन्। नागार्जुन मौरीपालन उद्योग दर्ता गरी व्यावसायिक मौरीपालनमा लागेका लेखकले दुई जनालाई रोजगारीसमेत दिएका छन्।

मौरीको रेखदेख गर्न मौरी छुट्टिएर भाग्ने, घार चोरी हुन सक्ने तथा अरिङ्गालले मौरी खाने समस्या रहेको भन्दै मौरीको रेखदेखका लागि उनीहरूलाई मासिक तलव दिने गरी राखेका छन्। साउनयता मात्रै उनले १२ क्वीन्टल मह बिक्री गरेका छन्। यो वर्ष मौरी घार थप र रोगले मौरीलाई नोक्सान नगरे अझै मह उत्पादन हुने उनको अनुमान छ। उनले उत्पादन गरेको मह, स्थानीय बजार, धनगढीदेखि काठमाडौसम्म बिक्री हुने गरेको छ।

प्रतिकिलो आठ सयमा बिक्री हुने महको लागि बजारको कुनै समस्या नभएको उनले बताए। ‘बैतडीको महको बजार राम्रो छ,’उनले भने, महका पारखी यहाँको मह भनेपछि हुरुक्कै हुन्छन्, मह किन्न घरमै ग्राहक आउने गरेका छन्।’ सेरेना जातको माहुरीको मह भिर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले मनग्ये आम्दानी हुने गरेको हो। उनले वर्षमा दुई दर्जनभन्दा बढी मौरीसहितका घारसमेत बिक्री गर्दै आएका छन्।

मौरीपालन व्यवसायबाट घरखर्च चलाउनुका साथै छोराछोरीलाई पढाउने र घरजग्गा समेत जोडेका लेखकले बताए। ‘कामको खोजीमा विदेश गएको भए केही प्रगति हुने थिएन,’ उनले भने ‘गाउँमै राम्रो आम्दानी हुन थालेको छ।’ मौरीसँगै लेखकले बाख्रापालन समेत गरेका छन्। बाख्रापालनलाई पनि व्यवसायिक रुपमा अघि बढाउने उनको सोच छ। मौरीको लागि चरन क्षेत्र उपयुक्त भएकाले मौरीपालन व्यवसाय फष्टाउँदै आएको लेखकको भनाइ छ। मौरीको लागि चरन क्षेत्र चिउरी लगायतका फलफूल प्रशस्त फल्ने जिल्लाका दशरथचन्द नगरपालिका, सिगास, दोगडाकेदार, डिलासैनी गाउँपालिकाका केही वडा मौरीपालन व्यवसायको लागि उपयुक्त मानिन्छ।

मौरीपालन व्यवसायको लागि उपयुक्त भएका ठाउँका किसानलाई व्यावसायिक रुपमा क्षमता बढाउने खालका कार्यक्रम आवश्यक भएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले बताए। लेखक मात्र होइन मौरीपालन व्यावसायमा जिल्लाका अन्य किसान पनि लागेका छन्। केही वर्ष अघि घरको भित्ता र मुढेघारमा एक–दुई घार मौरी पाल्ने बैतडीका किसान पछिल्लो समय व्यावसायिक मौरी पालनमा आकर्षित भएका हुन्। गत वर्ष बैतडीमा ९५ मेट्रिक टन मह उत्पादन भएको थियो। यो वर्ष १० मेट्रिक टन मह उत्पादन बढेको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाएको छ।

जिल्लामा चार हजार सात सय आधुनिक घार र सात हजार आठ सय मुढेघार रहेको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाएको छ । उपयुक्त मौसम  र मौरीमा रोगको प्रकोप नदेखिएकाले मह उत्पादन बढेको कृषि ज्ञान केन्द्र प्रमुख चन्दले  जानकारी दिए । मह बेचेरै लाखौ आम्दानी गर्नुका साथै स्थानीय युवालाई रोजगारी पनि दिँदै आएका मौरी व्यवसायी सरकारी निकायबाट भने आसा गरे अनुसार सहयोग नपाएको गुनासो गर्दे आएका छन् । सरकारले व्यवसाय गर्न चाहने किसानलाई सहयोग नगरेको उनीहरुको दुखेसो छ । कुनै अनुदानका कार्यक्रममा व्यवसायीलाई नसमेटेको किसानको गुनासो छ ।

प्रकाशित: ३ माघ २०७५ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App