२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

भीमदत्तवासीले निःशुल्क रगत पाउने, नगरपालिकाबाट ३ लाख सहयोग

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिकाका बासिन्दाले अब निःशुल्क रगत पाउने भएका छन्। बिरामीलाई रगतको आवश्यकता पर्दा शुल्क तिर्नुपर्ने, आफन्त गुहार्नु पर्ने र रगत दानकर्ताको खोजी गर्नु पर्ने बाध्यताबाट यहाँका बासिन्दा मुक्त हुने भएका छन्।

अहिलेसम्म रगत उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) ले सहयोग पाएपछि यो कार्य सम्भव हुने भएको छ।

भीमदत्त नगरपालिकाले रेडक्रसलाई यस कार्यका लागि सहयोग गरेको छ। नगर प्रमुख सुरेन्द्र विष्टले रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। नगर प्रमुख विष्टको कार्यकक्षमा एक कार्यक्रम आयोजना गरि उक्त चेक हस्तान्तरण गरिएको हो। भीमदत्त नगरपालिकाले तेस्रो नगर सभाबाट रेडक्रसको रक्त सञ्चार सेवा केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको थियो।

नगर सभाको निर्णय अनुसार नगरका वासिन्दालाई निःशुल्क रुपमा रक्त सेवा उपलब्ध गराउन रेडक्रसलाई यो रकम सहयोग गरिएको नगर प्रमुख बिष्टले जानकारी गराए। विगतमा धेरै जनाले समयमा रगत नपाउँदा ज्यान गुमाएका छन्। त्यसमा आर्थिक अभाव भएका व्यक्ति बढी जसो छन्। अब आगामी दिनमा त्यस्तो नहुने आशा लिएका छौं’, नगर प्रमुख बिष्टले भने। यसअघि रेडक्रसले रक्त सञ्चार सेवा केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क रुपमा सेवा प्रदान गर्न सहजता होस् भनि नगरपालिकासंग सहयोगका लागि आग्रह गरेको थियो।

चेक हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले समृद्ध नगर बनाउन सबैसंग साझेदारीको नीति अनुरुप रक्त सञ्चार सेवालाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क सेवा उपलब्ध गराउन सहयोग गरिएको बताए। ‘सबै वासिन्दाले निःशुल्क रुपमा सेवा पाएर जीवन रक्षा गर्न सकुन भनेर सहयोग गरेका छौ’, नगर प्रमुख विष्टले भने,‘यो सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिन्छौं।’

२०५१ सालदेखि सञ्चालन रहेको रेडक्रस सोसाइटीले रक्त सञ्चार सेवा केद्रबाट बर्सेनी सात सयदेखि नौ सय जनाले सेवा लिँदै आएका छन्। रेडक्रसले आर्थिक अभावमा सात सय ७० रुपैँया प्वाइन्टमा रगत उपलब्ध गराउँदै आएको छ।

रेडक्रसका जिल्ला सभापति उप्रेतीले स्थानीय सरकारबाट सहयोग पाएपछि निःशुल्क सेवा प्रदान गरिने जानकारी दिए। ‘खर्च धान्न नसकेर शुल्क लिदैं आएका थियौ, अब स्थानीय सरकारबाट सहयोग पाएपछि निःशुल्क सेवा दिन्छौ’, सभापति उप्रेतीले भने।

कञ्चनपुरमा भीमदत्त नगरपालिकाबाट पहिलो पटक सहयोग उपलब्ध गराएको उल्लेख गर्दै उनले नगर प्रमुख विष्टसहित नगरपालिका कार्यालयलाई धन्यवाद व्यक्त गरे।

कर्यक्रममा भीनपाका नगरका प्रवक्ता राजेन्द्र पाण्डेय, वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, कार्यपालिका सदस्य मदन सेराला, रेडक्रस सोसाइटीका उप सभापति नर बहादुर राना, उप मन्त्री मन्जु दाहाल सहभागी थिए।

प्रकाशित: ३ मंसिर २०७५ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App