२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

विवादित छविका अधिकृत ठाकुरको मुद्दामा अदालतले दिएन अन्तरिम आदेश

धनुषाको हँसपुर नगरपालिकामा हाजिर हुन पाउँ भन्दै उच्च अदालत जनकपुर पुगेका शाखा अधिकृत सुवोध कुमार ठाकुरको मुद्दामा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

बुधवार इजलास नम्बर ३ मा न्यायधिश महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको संयुक्त इजलासले उनको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

अदालतले उनको पक्षमा अन्तरिम आदेश नदिएपछि तत्कालका लागि उनको हँसपुर नगरपालिका जाने बाटो पनि बन्द भएको छ।

गत असार ६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई हँसपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएयो थियो। तर, कार्यपालिकाको बैठकले सोही दिन उनलाई हाजिर हुन नदिने भन्दै फिर्ता पठाउने निर्णय गर्यो। त्यसपछि उनी नगरपालिकामा हाजिर हुन पाउँ भन्दै अदालत पुगेका थिए।

यसअघि हँसपुरमा अधिकृत ठाकुर प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए। तर, मन्त्रालयले उनको ठाउँमा सिबेन्द्र कुमार मण्डललाई पठाएको थियो। अधिकृत मण्डल गत जेठ २९ गते नगरपालिकामा हाजिर भएका थिए। त्यसपछि अधिकृत ठाकुर राजनीतिक जोडबल र पहुँचको भरमा एक सातामै फेरि असारको पहिलो साता मन्त्रालयबाट थमौटीको चिट्ठी लिएर हाजिर हुन आए। उनी हाजिर हुन आएपछि नगरपालिकामा विवाद उत्पन्न भएको थियो।

दश दिनकै अन्तरालमा मन्त्रालयले दुईजना प्रमुख प्रशासकीय अधिकृत पठाएपछि कार्यपालिकाले निर्णय नै गरेर ठाकुरलाई हाजिर हुनबाट रोक लगायो। असार ९ गते ठाकुर स्थानीय राजनीतिक कार्याकर्ताको सहयोगमा नगरपालिकामा हाजिर हुन खाजेपछि नगर प्रमुख र वडाअध्यक्षको समर्थक पनि नगरपालिका पुगेका थिए। दुबै पक्षमा झडपको स्थिति सिर्जना हुने देखिए पछि ठाकुर त्यस दिन नगरपालिका नगई कानूनी बाटोतिर लागे।

हँसपुर नगरपालिकामा ठाकुर एक वर्षमा तेस्रो पटक आउन खोजेका थिए। पहिलो पटक नौ महिनामा उनको सरुवा भएको थियो। त्यसपछि हँसपुरमा २०८० पुस २७ गते उमेश कुमार महतो हाजिर भए।

अधिकृत सुबोधको त्यतीबेला सिन्धुलीको मरिन गाउँपालिकामा सरुवा भयो। तर, उनी त्यहाँ हाजिर नभएर मन्त्रालय धाउन थाले। राजनीतिक जोडबलको आधारमा मन्त्रालयबाट सरुवाको चिट्ठी बोकेर पुनः २०८० फागुन १४ मा हँसपुरमै उनी हाजिर भए।

करिब ३ महिना त्यहाँ काम गरेपछि उनको ठाउँमा मन्त्रालयले सिबेन्द्र कुमार मण्डललाई पठायो। मण्डल गत जेठ २९ गते हँसपुरमा हाजिर भए। सिबेन्द्र हाजिर भएको दश दिनभित्रै पुनः सुबोधलाई त्यही पालिकामा मन्त्रालयले पठाइयो।

नगरपालिका संघ मधेस प्रदेशका अध्यक्ष समेत रहेका हँसपुर नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादव सङ्घीय सरकारले बदनियत राखेर यस प्रकारको गतिविधि गर्दै आएको बताउँछन्। स्थानीय सरकारलाई असफल बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनपरी ढङ्गले अधिकृत सरुवा गरिरहेको उनको आरोप छ।

धनुषाको अधिकांश स्थानीय तहमा अधिकृत विवादले गर्दा विकास निर्माण र जनताको काम पनि प्रभावित भइरहेको छ। १८ वटा स्थानीय तह रहेका धनुषामा सुबोध कुमार ठाकुर ५ पालिकामा अधिकृत बनेर पुगिसकेका छन्। उनी जुन–जुन स्थानीय तहमा पुगे त्यहाँ विवादित बनेका थिए।

उनले यसअघि धनुषाकै लक्ष्मीनीयाँ गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका, औरही गाउँपालिका र कमला नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए। विवादित छविका ठाकुर औरहीमा रहँदा गाउँपालिका अध्यक्षले उनीमाथि हातपातको प्रयास नै गरेको समाचार बाहिरिएको थियो।

प्रकाशित: २० असार २०८१ १०:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App