२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

उखुको माग धान्न नसक्दा नेपालगन्जमा ‘जुस’ अभाव

नेपालगन्ज–१८, नागरिक टोलमा रहेको उखुको जुस पसल। तस्बिर: गणेश/नागरिक

नेपालगन्ज–१८ नागरिक टोल अगाडि उखुको जुस बिक्री गर्ने कनैया आर्यले बिहीबार आठ दिनपछि पसल सञ्चालन गरे। आठ दिनसम्म पसल बन्द हुनुको प्रमुख कारण थियो, ‘बजारमा उखु अभाव’।

जुसका लागि आवश्यक पर्ने उखु नहुँदा उनी मात्र होइन, नेपालगन्जका जुस व्यवसायी मर्कामा परेका छन्।

अहिले केही मात्रामा मात्र उखु बजारमा आएको छ। त्यो पनि पर्याप्त छैन। उखु नै नपाइँदा उखुको जुस अभाव भएको छ। बिहीबार पनि थोरै उखु हुँदा दिउँसो नै पसल बन्द गर्नु परेको आर्य बताउँछन्। ‘बजारमा उखु पाइँदैन,’ उनले भने, ‘उखु नहुँदा पसल खोलेर मात्र के गर्नु।’

नेपालगन्जमा धेरै उखु बर्दियाबाट आउँछ। केही उखु अवैध तरिकाले भारतबाट समेत आउने गरेको बताइएको छ। बर्दियामा उत्पादन कम हुँदा र भारतबाट आउने पनि नआउँदा यसको प्रभाव नेपालगन्जमा परेको हो।

नेपालगन्जमा दैनिक ३०/४० क्विन्टल उखु खपत हुँदै आएको छ। तर अहिले मुस्किलले आधासम्म पनि पूर्ति हुन नसकेको जुस व्यवसायीहरु बताउँछन्।

बर्दियाबाट कम आउँदा नै नेपालगन्जमा उखु अभाव देखिएको उखु बिक्रेता मोहम्मद अयान राईले बताए। ‘बजारमा अहिले उखु अभाव छ,’ उनले भने, ‘मागअनुसार पुर्‍याउन नै सकिएको छैन।’

अत्यधिक गर्मीको समय भन्दा यति बेला उखु जुसको माग केही कम छ। तर, माग कम हुँदा पनि मागअनुसार पूर्ति हुन नसकेको उनको भनाइ छ। देशभरि मनसुन भित्रिएको भनिए पनि नेपालगन्जमा भने पानी नपर्दा गर्मी यथावतै छ। जसले उखु जुसको माग निराशाजनक भने छैन।

‘मैले यो समयमा मात्र दुईदेखि तीन हजार क्विन्टल उखु बिक्री गरे,’ राईले भने, ‘अरु भएको भए अरु पनि बिक्री हुन्थ्यो।’ मागअनुसारको उखु पुर्‍याउन नसकिएको उनको भनाइ छ।

नेपालगन्ज, खजुरा, कोहलपुरलगायत बाँकेका केही क्षेत्रमा सामान्य उखु किसानी भए पनि त्यसले नेपालगन्जको मागलाई धान्न हम्मे हम्मे हुने उनको भनाइ छ। यहाँ उखुमा ठूलो लगानी नहुँदा बर्दियाबाट ल्याउन परेको छ।

‘उखु मंसीरबाट नै बजारमा आउन थालिहाल्छ,’ उनले भने, ‘त्यतिबेलादेखि यतिबेलासम्म उखुले बजार धान्न सक्दैन।’

उखु अभाव हुँदा मूल्यमा पनि दोब्बरभन्दा बढीले बढेको छ। दुई हप्ताअघि १६ रुपैयाँ केजी पाइने उखु यति बेला प्रति केजी ४० रुपैयाँसम्म पुगेको छ।

प्रकाशित: १३ असार २०८१ १९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App