२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

विद्यालय जाँदै गरेकाे बालकलाई खोलाले बगाउँदा मृत्यु

फाइल तस्बिर

विद्यालय जाँदै गरेका एक जना बालकलाई मोरङको केराबारीमा रहेको महुरे खोलाले बगाउँदा मृत्यु भएको छ।

केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई खोलाले बगाउँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार मंगलबार बिहान विद्यालय जाँदै गर्दा खोला तर्ने क्रममा खोलाले बगाएर करिब एक सय मिटर तल शव भेटिएको थियो।

त्यस क्षेत्रमा सोमबार रातिदेखि भीषण पानी परे पनि अहिले केही कम वर्षा भइरहेको छ। खोला बगाएको खबर पाउनसाथ प्रहरी र स्थानीयले राईलाई खोज्ने क्रममा पौन १० बजेतिर खोला किनारामा शव भेटिएको थियो। मृतक बालकको टाउको, अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए। याङ्शीलाबाट विद्यालय भएको चिउरी भन्ज्याङ पुग्नका लागि करिब १ घण्टा लाग्ने विद्यालयका प्रधानाध्यापक सुजन थेवेले बताए। उनका अनुसार २ सय १० जना विद्यार्थी रहेको विद्यालयमा याङ्शीला घर भएका करिब २० जना बालबालिका अध्ययन गर्दै आएका छन्। विद्यालय आउने क्रममा बाढीले बालकलाई बगाएर मृत्यु भएपछि विद्यालय शोकमा डुबेको प्रधानाध्यापकले बताए।

याङ्शीलामा ५ कक्षासम्म पढाइ हुने विद्यालय रहेको बताउँदै, वडाध्यक्ष शिवप्रसाद तामाङले भने, ‘याङ्शीलाका बालबालिकाले ६ कक्षामाथि अध्ययन गर्नका लागि नजिकै रहेको चिउरी भन्ज्याङकै विद्यालय जानुपर्ने बाध्यता छ। खोलाको बाटो हुँदै विद्यालय जानका लागि छोटो हुन्छ । सुरक्षित बाटो अलि माथिबाट हुँदै लामो भएकाले धेरै घुम्नु पर्छ। बर्खामा छोटो बाटो प्रयोग गर्दा कतिखेर बाढी आउँछ थाहा हुँदैन । त्यस कारण जोखिम पूर्ण छ।’

५/६ जना बालबालिकाको समूह एकै पटक विद्यालय जाने क्रममा खोला तर्न खोज्दै गर्दा एक जना साथीलाई बाढीले बगाउनासाथ अरु बालबालिका बाहिर निस्किएका थिए। ती साथीहरूले नै श्याम राईलाई खोलाले बगाएको हल्ला गरेका थिए। घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय केराबारीको संयुक्त टोली र स्थानीयले श्यामको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ११ असार २०८१ १७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App