२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

हुन्डी कारोबारमा पक्राउ परेका भारतीय नागरिक भन्सार कार्यालयबाटै फरार

स्रोत नखुलेको अवैध रकमसहित पक्राउ परेका एक भारतीय नागरिक भन्सार कार्यालयको पर्खाल नाघेर फरार भएका छन्। 

सशस्त्र प्रहरी बलले समातेर गौर भन्सार कार्यालयमा बुझाउन ल्याएको हुन्डी कारोबारी भारतीय नागरिक भन्सार कार्यालयको पर्खाल नाघेर बिहीबार दिउँसो फरार भएका हुन्।

रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ७ बाट सशस्त्र प्रहरीको सरमुजवा बेस क्याम्पसले भारतीय नम्बर प्लेट बिआर ०५ बिबि ६२१२ को मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा १४ लाख ८० हजार रुपैयाँ मोटरसाइकलको सिटमुनि फेला परेको थियो। मोटरसाइकल चालक भारत बिहारको पूर्वी चम्पारण जिल्लाको झरोखर ७ जमुनियाका ३१ वर्षीय गजेन्द्र रायलाई सशस्त्र प्रहरीले रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिएर गौर चलान गरेको थियो।

रौतहट सदरमुकाम गौर भन्सार कार्यालयमा बिहीबार दिउँसो सशस्त्र प्रहरीले हुन्डी कारोबारमा पक्राउ परेका भारतीय नागरिक गजेन्द्र रायलाई बुझाउन लगेको थियो। गौर भन्सारलाई बुझाएको कागजपत्र बनाउँदै गर्दा हुन्डी कारोबारी भारतीय नागरिक राय पिसाब गर्ने बहानामा शौचालय गएका थिए। शौचालय पुगेको राय कार्यालयको बाउन्ड्रीवालबाट हाम फालेर फरार हुन सफल भएको बताइएको छ।

जतिबेला सशस्त्र प्रहरीको टोली भारतीय नागरिकलाई मोटरसाइकल र नगदसहित भन्सार कार्यालयमा बुझाउन गएको थियो त्यत्ति बेला भन्सार कार्यालय प्रमुख अमरेन्द्र सिंह संघीय अर्थमन्त्रीसितको भर्चुअल बैठकमा थिए। गौर भन्सार कार्यालयका प्रमुख अमरेन्द्र सिंह भन्छन् – अर्थमन्त्रीज्यूको भर्चुअल मिटिङमा व्यस्त रहेको समयमा एक्कासि मानिस फरार भएको कुरा सुनेको हुँ, त्यस बेलासम्म भन्सारको नियन्त्रणमा आइसकेका थिएनन्।

तर सशस्त्र प्रहरी बलले भने कारोबारीलाई भन्सार कार्यालयमा बुझाइसकेको दाबी गरेको छ। सशस्त्र प्रहरी बल गण नम्बर ११ ले विज्ञप्ति निकालेर घटनाबारे सफाइ दिएको छ – नगर र मोटरसाइकलसहित हुन्डी  कारोबारी गजेन्द्र रायलाई मुद्दा नम्बर ७७१ मा दर्ता गरी भन्सार कार्यालयलाई जिम्मा लगाइसकेका छौँ। 

प्रकाशित: ७ असार २०८१ ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App