२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

विवाहमा पाहुना आएका अक्लेशमाथि छुरा प्रहार गरी हत्या, एक पक्राउ

सुनसरीको दुहबी नगरपालिका–१२ निवासी २३ वर्षीय अक्लेशकुमार यादवको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–४ का २४ वर्षीय गणेश यादवलाइ सुनसरीको लौकहीबाट बिहीबार दिउँसो पक्राउ गरिएकाे मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

अक्लेशकाे बुधबार हत्या भएको थियाे। पक्राउ परेका गणेशले बहिनीको विवाहमा पाहुना भएर आएका अक्लेशलाई छुरा प्रहार गरी हत्या गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी कार्कीले जनाए।

विराटनगर–४ इक्राहीस्थित रामलोचन यादव अक्लेशक ठूलो बुवा हुन्। रामलोचनको छोरीको विवाहमा पाहुना भई उनी आएका थिए। गणेशले अक्लेशलाई चक्कु प्रहार गरेको र चक्कु प्रहारबाट घाइते भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, एसपी कार्कीले भने, ‘चक्कुबाट घाइते भएका उनको उपचार क्रममा मृत्यु भयो। सामान्य विवाद र भनाभनको विषयलाई लिएर गणेशले बुधबार राति १० बजेतिर अक्लेशमाथि चक्कु प्रहार गरी फरार भएका थिए। फरार भएपछि व्यापक खोजी गर्ने क्रममा भारततर्फ भाग्न खोज्दै गर्दा सुनसरीको लौकहीबाट बिहीबार दिउँसो अढाई बजेतिर पक्राउ गर्न सफल भयौं।’

अक्लेशका ठुलोबुवा रामलोचन र गणेश छिमेकी हुन्। बिहेको कार्यक्रम सकिएपछि गणेश र अक्लेशबीच सामान्य विवाद भएको थियो। दुवै जनाको विवादपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जाने तयारी गरिरहेका अक्लेशलाई गणेशले बायाँ कोखामा चक्कु प्रहार गरी गम्भीर बनाएका थिए। अक्लेशलाई तत्कालै उपचारका लागि नजिकै रहेको नोबेल शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर उनको मृत्यु भएको एसपी कार्कीले बताए।

विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टमपछि शवको अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइएको छ। गणेशविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ असार २०८१ १९:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App