२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

विवाहमा आएका युवाको छुरा प्रहार गरी हत्या

विराटनगरमा एक युवाको छुरा प्रहार गरी हत्या भएको छ। सुनसरीको दुहबी घर भएका एक जना युवकको विराटनगरमा छुरा प्रहार गरी हत्या भएको हो।

सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार ठुलीआमाको छोरीको विवाहमा आएका अ क्लेशको हत्या भएको हो।

अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका थिए। रामलोचन अक्लेशका ठुलोबुवा रहेको बताउँदै, डिएसपी बस्नेतले भने, ‘ठुलीआमाकी छोरी (बहिनी)को बिहेमा आएका बेला विराटनगर–४ का २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेर अ क्लेशको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

अक्लेशका ठुलोबुवा रामलोचन र गणेश छिमेकी हुन्। बिहेको कार्यक्रम सकिएपछि गणेश र अक्लेशबीच सामान्य विवाद भएको थियो। उनीहरु बिचमा भएको विवादको कारण भने पत्ता लाग्न बाँकी रहेको डिएसपी बस्नेतले बताए।

विवादपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जाने तयारी गरिरहेका अक्लेशलाई बुधबार राति १० बजेतिर गणेशले चक्कु प्रहार गरेको थिए। चक्कु प्रहारबाट बायाँ कोखामा चोट लागेर अवस्था गम्भीर बनेका अक्लेशलाई तत्कालै उपचारका लागि नजिकै रहेको नोबेल शिक्षण अस्पताल लगिएको थियो।

उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर अ क्लेशको मृत्यु भएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘घटनापछि गणेश फरार छन् भने उनको खोजी कार्य तीव्र पारिएको छ। घटनाको थप अनुसन्धान अघि बढाएका छौँ।’

अक्लेशको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ६ असार २०८१ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App