२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

अब काजकिरियापछि मात्र बसाइँ सर्छन् राउटे

राउटे समुदायको बस्ती। तस्बिर: नगेन्द्र/नागरिक

जंगलमा फिरन्ते जीवन बिताउने नेपालको एक मात्रै राउटे समुदायका तीन मान्यता छन्-खेतीपाती नगर्ने, लेखपढ नगर्ने र एउटै ठाउँमा नबस्ने। अझ कुनै सदस्यको मृत्यु भए तत्कालै बस्ती छाडेर अर्को ठाउँमा बसाइँ सरिहाल्ने चलन यो समुदायमा छ। तर पछिल्लो समय यो समुदाय आफ्ना परम्परागत मान्यता र प्रचलनबाट पछि हट्दै गएको देखिन्छ।

स्कुल नगए पनि समुदायमै ‘जोडी शिक्षक’सँग खेलका माध्यमबाट राउटे समुदायका बालबालिकाले अक्षर चिन्न थालेका छन्। पैसा छोए पाप लाग्छ भन्ने यो समुदाय अहिले सरकारले दिने सामाजिक सुरक्षा भत्तामा निर्भर छ।

बजारिया वस्तु नखाने उनीहरू अहिले त्यसको प्रयोग गर्छन्। पछिल्लो समय राउटे समुदायको मृत्यु संस्कारमा पनि परिवर्तन देखिन थालेको छ। समुदायका कुनै सदस्यको मृत्यु हुनेबित्तिकै बस्ती छाड्नुको सट्टा मृत्यु संस्कार नसक्दासम्म अर्को ठाउँ नसर्ने चलन अपनाइएको छ।

राउटे मुखिया सूर्यनारायण शाही आफूहरूले परम्परागत मान्यतालाई समयानुकूल परिमार्जन गरिरहेको बताउँछन्। राउटे समुदायले यो मान्यता त्यागेको जम्मा सात महिना मात्र भएको उनको भनाइ छ।

मुखिया सूर्यनारायणका अनुसार राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको गत असोजमा दैलेखको भैरवी गाउँपालिका–३ लैनचौरमा ६८ वर्षको उमेरमा मृत्यु भयो।

उनले आफ्नो मृत्युअघि समुदायका सबैलाई बोलाएर वृद्धा पत्नी दुनी शाही हिँडडुल गर्न नसक्ने भएकाले आफ्नो काजकिरिया बस्ती नसरेरै गर्न भनेका थिए।

राउटे समुदायमा छोराछोरी नभए पत्नीले समेत पतिको काजकिरिया गर्ने चलन छ। महिनबहादुरका दुई छोरा नारायण र शिवराजको पहिल्यै मृत्यु भइसकेको छ।

महामुखियाले बस्ती नसरेर आफ्नो काजकिरिया गर्न भनेकाले सोहीअनुसार गरिएको र त्यसयता कोही बिते पनि बस्ती नसर्ने गरेको उनले सुनाए। ‘महामुखियाले आफ्नो १३ दिने कर्म बस्ती नसरेरै गर्नू भनेपछि त्यसयता पहिलेको मान्यता तोडेका छौं,’ मुखिया सूर्यनारायणले भने, ‘आजभोलि १३ दिनको कर्म सकेपछि मात्रै अर्को ठाउँमा बस्ती सर्ने गरेका छौं।’

बुधबार राउटे बस्तीमा ५५ वर्षका मानबहादुर शाहीको मृत्यु भयो। दैलेखको गुराँस गाउँपालिका–१ मैनखोलामा बस्दै आएको यो समुदाय २८ गतेसम्म अर्को ठाउँमा बस्ती सर्नेछैन।

चार दिनअघि नै समुदायका दुई युवक र दुई युवतीको विवाहको मिति तय भइसकेको थियो। एउटै समुदायभित्र तीनवटा गोत्र छन्। फरक गोत्रअनुसार विवाहको कर्म चल्छ। राउटे समुदायमा टीकाटालो भएर विवाहको मिति तय भइसकेपछि समुदायमा कसैको मृत्यु भए पनि विवाह रोक्ने चलन छैन। २८ गते कलम र कृष्णबहादुरको विवाह हुँदैछ।

‘पहिले २८ गते विवाह कार्यक्रम सकाएपछि मात्रै बुधबार मृत्यु भएका मानबहादुरको मृत्यु संस्कार सुरु हुन्छ,’ उनले भने, ‘पहिले भइदिएको भए बस्ती सरेपछि मात्रै विवाह हुन्थ्यो, मृत्यु संस्कारको कर्म चल्थ्यो।’

असोजयता राउटे समुदाय १४ ठाउँमा बस्ती सरेको छ। यो अवधिमा राउटे समुदायका १० जनाको मृत्यु भएको छ।  

मृत्यु संस्कारमा मदिरा र बाँदरको सिकार

समुदायका कसैको मृत्यु भए राउटे समुदायले मृतकलाई गाड्ने गर्छन्। १३ दिनसम्म उनीहरू मृत्यु संस्कार गर्छन्। राउटे समुदायसँग काम गर्दै आइरहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक एवं कार्यकारी निर्देशक हीरासिंह थापाका अनुसार मृत्यु संस्कारमा सुकेको मासु उनीहरूले प्रयोग गर्दैनन्। त्यसैले मृत्यु भएको दिनदेखि १० दिनसम्म उनीहरू सिकार खेल्न जंगल जान्छन्, बाँदर मारेर ल्याउँछन् र घरअनुसार त्यसको भाग लगाउँछन्। १३औं दिनका दिन प्रत्येक घरबाट मृतकको घरमा मासु र आफैंले उत्पादन गरेको मदिरा लगेर जान्छन्। ‘मृतकको घरमा सबैले मदिरा र मासु लगेर जाने र पूजाआजा गरेर चोखिने कर्म पूरा हुन्छ,’ थापाले भने । राउटे समुदायमा हाल १३७ जना सदस्य छन्।

प्रकाशित: २५ जेष्ठ २०८१ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App