२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

नेपालगन्जमा २४ घण्टा विद्युत् अवरुद्ध

दुई सयवटा पोल ढले, ४० देखि ५० लाखको क्षति, आठ जना घाइते

सोमबार साँझ आएको हावाहुरीका कारण भाँचिएको विद्युत् पोल।

पश्चिमको प्रमुख औद्योगिक क्षेत्र नेपालगन्जमा हावाहुरीका कारण झन्डै दुई सय वटा विद्युत् पोलमा क्षति पुग्दा २४ घण्टा विद्युत् सेवा अवरुद्ध भएको छ।

सोमबार साँझ आएको हावाहुरीका कारण ठाउँ ठाउँमा पोलहरु ढल्दा, भाँचिँदा र पोल तथा तारमा रुखहरु ढल्दा विद्युत् सेवा अवरुद्ध भएको हो। सोमबार साँझदेखि अवरुद्ध भएको विद्युत् मंगलबार साँझदेखि सुचारु भएको छ।

हावाहुरीका कारण सबैभन्दा बढी खजुरामा रहेका विद्युत् पोलहरु ढलेका थिए। यहाँ ६५ भन्दा बढी विद्युत्का पोलहरु ढलेका नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ।

कर्णालीबाट बर्दियाको मैनापोखर हुँदै मानखोला–खजुरा–जानकी–नेपालगन्ज हुँदै नरैनापुरसम्म हावाको गति हुँदा यस क्षेत्रमा बढी क्षति भएको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्र नेपालगन्जका प्रमुख जगननाथ लामिछानेले जानकारी दिए। नेपालगन्ज सहरी क्षेत्रभित्र मात्रै १५ वटा विद्युत् पोल ढलेका छन्।

‘सुरुमा कोहलपुरस्थित ट्रान्सफरमा क्षति पुग्यो,’ उनले भने, ‘त्यसपछि जताततै विद्युत् गयो। विद्युत् अवरुद्ध भएपछि विद्युत् पोलहरु ढले।’ ‘यदि कोहलपुरको ट्रान्सफरमा क्षति नभएको भए सहरी क्षेत्रभित्रको पोल ढल्दा धेरै क्षति हुनसक्थ्यो,’ उनी भन्छन्, ‘पहिला नै बत्ती अवरुद्ध हुँदा राम्रो भयो।’

एयरपोर्ट र कारकाँदो क्षेत्रमा बुधबारसम्म विद्युत् लाइन सुचारु हुने उनले बताए। ‘ती ठाउँमा जति सकिन्छ छिटो विद्युत् लाइन सुचारु गर्न लागिरहेका छौं,’ उनले भने, ‘मंगलबार साँझसम्म नभए बुधबारसम्म सुचारु हुन्छ।’

राप्तीरपारि भने एक÷दुई दिनसम्म विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ।

राप्ती नदीमा रहेका आठवटा पोल ढल्दा यस क्षेत्रमा विद्युत् अवरुद्ध छ। ‘नदी करिब दुई सय ५० मिटर चौडा छ,’ नेपालगन्ज वितरण केन्द्रका प्रमुख लामिछानेले भने, ‘त्यति लामो दुरीमा विद्युत् तार तन्काउन पनि समस्या छ। यस क्षेत्रमा बुधबारदेखि लाइन सुचारुको काम सुरु हुनेछ।’

लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा उद्योग, व्यवसाय, अस्पताल, बैंकलगायतका क्षेत्र प्रभावित भएका थिए। अत्यधिक गर्मी हुने नेपालगन्जमा विद्युत् अवरुद्ध हुँदा सास्ती खेप्नु परेको नेपालगन्ज–१८, कारकाँदोका केपी बञ्जाडाले बताए।

हावाहुरीका कारण बाँकेका के कति घरमा क्षति पुगेका त्यसको सूचना संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जनाए।

उनका अनुसार हावाहुरीबाट आठजना घाइते भएका छन्। जसमध्ये एकजना गम्भीर घाइते छन्।

‘हावाहुरीका कारण कति घरमा कति क्षति भएको भन्नेबारे सूचना संकलन भइरहेको छ,’ उनी भन्छन्, ‘अझ बढी खेतीपातीमा क्षति पुगेको छ।’ टेलिफोनसमेत प्रभावित भएको उनी बताउँछन्।

प्रकाशित: ८ जेष्ठ २०८१ २०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App