२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

सबैभन्दा बढी गर्मी नेपालगन्जमा

नेपालगन्जमा ४१.५, धनगढीमा ४०.७ र भैरहवामा ४०.२ डिग्री सेल्सियस तापक्रम मापन

अत्यधिक गर्मीमा पनि सामान ओसारपसार गर्दै श्रमिक। तस्बिर: नागरिक

कोहलपुरका श्याम केसी बिहान १० बजे नेपालगन्ज ओर्लिए, अनि आफ्नो कामका लागि पैदलै हिँड्न थाले। तर, उनी दुई मिनेटभन्दा बढी पैदल हिँड्न सकेनन्।

अत्यधिक गर्मी छल्न उनले छाताको साहारा लिए पनि सडक तातिएर पोल्न थालेपछि अटो प्रयोग गरेर गन्तव्यसम्म पुगे। ‘नजिकै सेतु विक चोक जानलाई हिँड्न खोजेको थिएँ,’ उनले भने, ‘सडक तातिएर पोल्दा हिँड्नै सकेन।’ 

नेपालगन्जमा पछिल्लो समय अत्यधिक गर्मी बढेको छ। जबकि सडकमा हिँड्दा जुत्ता चप्पल तातिएर हिँडडुल गर्नै कठिन छ। कतिपय मान्छेले गर्मी छल्न छाताको प्रयोग गरे पनि सडक तातिँदा पैदल हिँड्न कठिन भएको बताएका छन्। गर्मीका कारण धेरै मानिस अत्यावश्यक कामबाहेक अरुबेला घरबाट बाहिरसमेत निस्किन छाडेका छन्। सहरहरु सुनसान भएका छन्।

‘यस्तो गर्मी छ छाता नलिएर त हिँड्नै सकिँदैन,’ नेपालगन्जकी सत्राधुन थारुले भनिन्, ‘छाता ओढेर पनि सडक तातो हुँदा हिँड्न सकिँदैन।’ घरको ढोकाभन्दा बाहिर घामले तातो हुँदा बाहिर निस्किन समस्या भएको उनले बताइन्।

शनिबार बिहान ४१.१ भएको नेपालगन्जको तापक्रम दिउँसो ३ बजेसम्म ४१.५ डिग्री सेल्सियससम्म पुगेको थियो। यो देशभरिकै सबैभन्दा बढी तापक्रम हो। नेपालगन्ज, धनगढी र भैरहवामा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालगन्जपछि धनगढीमा ४०.७ र भैरहवामा ४०.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

दैनिक तापक्रम उकालो लाग्दै जाँदा नेपालगन्जलगायत पश्चिम तराईका जिल्लामा ‘लु’ (तातो हावा) लागेको छ। तातो हावाले यहाँको जनजीवन प्रभावित पारेको छ।

बिरामी, बालबालिका, वृद्ध वृद्धा, दीर्घ रोगी र दैनिक ज्यालादारी काम गरेर खानेहरु मजदुरहरु अझ बढी प्रभावित भएका छन्। ‘लु’ का कारण यहाँका अस्पतालहरुमा बिरामीको चापसमेत बढेको छ। गर्मी बढेपछि भेरी अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको यहाँका सूचना अधिकारी संकेत रिसालले जनाए।

अत्यधिक गर्मीका कारण जमिनमुनिको पानीको सतह घट्दै जाँदा नेपालगन्जमा पानीको संकटसमेत देखिएको छ। गर्मी बढेसँगै नेपालगन्जमा भूमिगत पानीको स्रोत सुक्दै गएको नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले जनाए।

‘नेपालगन्जमा बढ्दो सहरीकरणसँगै भूमिगत पानी सुक्दै गएको छ,’ उनले भने, ‘जमिनमुनि जति पानी सिञ्चित हुनुपर्ने हो सहरीकरणले गर्दा त्यति हुन सकेको छैन। गर्मीका कारण छिटै जमिनले पानी सोस्ने हुँदा भूमिगत पानी घट्दै गएको छ।’

नेपालगन्जमा वैशाख दोस्रो सातादेखि तातो हावा चल्न थालेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामविकेश रायले जानकारी दिए।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्मै ताता हावा लाग्ने गरेको उनको भनाइ छ। नेपालगन्जमा अत्यधिक गर्मी हुँदा पनि विद्यालयहरु भने बन्द गरिएको छैन। गर्मीका कारण पठनपाठनमा असहजता भएको विद्यालयहरुले बताएका छन्।

आइतबार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।

‘कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ,’ नियमित बुलेटिनमा भनिएको छ, ‘देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।’

प्रकाशित: ५ जेष्ठ २०८१ २०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App