१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

राम विवाद होइनन्: मोदी

धर्मनिरपेक्ष भारतमा रामको ‘प्राणप्रतिष्ठा’

प्राणप्रतिष्ठापछि राम मन्दिरको गर्भगृहमा रामलला।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरमा रामललाको प्राणप्रतिष्ठा गरेपछि सदियौंदेखिको प्रतीक्षापछि उनले ‘हाम्रो राम आएको’ बताएका छन्। उनले भने, ‘सदियौंको अभूतपूर्व धैर्य, अनगिन्ती बलिदानी, त्याग र तपस्यापछि आज प्रभु राम आएको छ।’

‘यो मन्दिर एउटा देव मन्दिर मात्र होइन, यो भारतको दिग्दर्शन हो,’ प्रधानमन्त्री मोदीले भने, ‘यो दिग्दर्शनको मन्दिर हो। यो रामको रूपमा राष्ट्र चेतनाको मन्दिर हो। राम भारतको आस्था हो। राम भारतको आधार हो। राम भारतको विचार हो। राम भारतको विधान हो। राम भारतको चेतना हो। राम भारतको चिन्तन हो। राम सर्वव्यापक हो, विश्व हो, विश्वात्मा हो,’ उनले भने।

२०२४ जनवरी २२ तारिख क्यालेन्डरमा लेखिएको सामान्य तिथि नभएर कालचक्रलाई बदलेको दिनका रूपमा याद गरिने प्रधानमन्त्री मोदीले बताए।

उनले सोमबारको दिनलाई हजारौं हजार वर्षसम्म पढिने र स्मरण गरिने बताएका छन्। उनले सयौं वर्षको प्रतीक्षा, धैर्य, अनगिन्ती त्याग र तपस्यापछि दिव्य र भव्य मन्दिरमा रामललाको बास भएको बताए।

‘रामलला अब टेन्टमा बस्नेछैनन्, दिव्य मन्दिरमा बस्नेछन्,’ उनले भने, ‘अहिलेको यो क्षण अलौकिक र पवित्र छ।’ उनले भूमि पूजनपछि नै सम्पूर्ण रामभक्तमा उत्साह बढेको र मन्दिर निर्माणसँगै विश्वास बढाउँदै लगेको बताउँदै प्राणप्रतिष्ठापछि देश र दुनियाँभरि खुसी छाएको बताए। ‘खुसियालीमा पूरा देश र दुनियाँले दीपावली मनाउँदै छन्,’ उनले भने।

उनले भारतको न्यायपालिकाप्रति आभारसमेत प्रकट गरे। उनले भने, ‘सदियौंपछि न्यायालयले न्यायको लाज राखिदिएको छ।’

उनले रामको मन्दिरलाई शान्ति, आपसी  सद्भाव र समन्वयको प्रतीक भनेका छन्। रामको मन्दिर निर्माणका कारण देशमा आगो लाग्ने केहीको विचार पूर्ण रूपमा निरस्त भएको उनको भनाइ थियो। उनले राम मन्दिरको निर्माणले आगो होइन, ऊर्जाको जन्म भएको बताए।

‘राम आगो होइन, ऊर्जाको केन्द्र हो। राम विवाद होइन, समाधान हो,’ उनले भने, ‘भारतीय संस्कृतिप्रतिको अटुट विश्वास आजको प्राणप्रतिष्ठाले देखाएको छ।’

उनले देशमा निराशाका लागि रत्तीभर स्थान नहरेको भन्दै अर्को एक हजार वर्षको सबल भारतको निर्माणका लागि आज (माघ ८ सोमबार) कै दिन सबैले शपथ लिनुपर्नेसमेत बताए।

‘अब भारतको समय हो, भारत अब अगाडि बढ्दै छ, हामी रोकिने छैनौं, विकासको उचाइमा पुग्नेछौं,’ उनले भने, ‘हाम्रो भविष्य अतीतभन्दा धेरै सुन्दर हुन  गइरहेको छ।’

प्रधानमन्त्री मोदीले लामो समयसम्म राम मन्दिर पुनर्निर्माण गर्न नसकिएको भन्दै श्रीरामलाई पुकार्दै क्षमा पनि मागेका छन्।

उनले भने, ‘प्रभु राम, म क्षमा माग्छु। हाम्रो तपस्यामा केही कमी रहेको होला। जसकारण सदियौंदेखि हजुर टेन्टमा बस्न बाध्य हुनुभयो। आज यो कमी पूरा भएको छ।’ उनले आफूले दिव्य अनुभूति गरिरहेको समेत बताए।

यसरी गरियो प्राणप्रतिष्ठा

मन्दिरको गर्भगृह र पहिलो तलाको निर्माण पूरा भएपछि रामको मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ। रामको बालरूप अर्थात् ‘राघव’को प्राणप्रतिष्ठा गरिएको हो। अयोध्यास्थित राम मन्दिरमा विधिवत् पूजा गरी रामललाको प्राण प्रतिष्ठा भएको छ। सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्य यजमानको रूपमा पूजा गरेर रामललाको प्राण प्रतिष्ठा गरेका हुन्।

मुख्य यजमानको रूपमा प्रधानमन्त्री मोदीले ११ दिनसम्म निराहार व्रत बसेका थिए भने भूमिशयन अर्थात् भुइँमा सुतेका थिए। त्यसबीच उनी रामसँग सम्बन्धित विभिन्न मन्दिर दर्शन र समुन्द्र स्नान गरेको राम मन्दिर ट्रस्टका ट्रस्टी नृत्यगोपाल दाशले बताए।

हामीले विभिन्न आचार्यसँग छलफल गरेपछि तीन दिन मात्र व्रत बसे पुग्ने प्रधानमन्त्रीलाई भनेका थियौं तर उहाँले ११ दिनसम्मै बस्नुभयो,’ उनले भने। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राम मन्दिरको दिव्य र भव्य मन्दिर निर्माण प्रधानमन्त्री नरेन्द्र मोदीका कारण सम्भव भएको बताए।

राम मन्दिर ट्रस्टका अनुसार प्राणप्रतिष्ठा कार्यक्रम सोमबार दिउँसो भारतीय समयानुसार १२ः२० बजेदेखि सुरु भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य यजमान थिए। मोदीका साथै उत्तर प्रदेशका राज्यपाल मुख्यमन्त्री योगी आदित्यनाथ विधि–विधानका साथ प्राणप्रतिष्ठामा सहभागी भएका थिए।

ट्रस्टले भगवान् रामको मूर्तिलाई ११४ घैंटालाई औषधियुक्त र छुट्टाछुट्टै तीर्थस्थलबाट ल्याइएको जलले नुहाइएको थियो। प्राणप्रतिष्ठाको विधि १६ जनवरीका दिन सरयु नदीबाट सुरु भएको थियो।

प्राणप्रतिष्ठा समारोहमा सहभागी हुन अभिनेता अमिताभ बच्चन, रनबिर कपुर, आलिया भट्ट, विवेक ओबेराय, अनुपम खेर, क्रिकेटर सचिन तेन्दुलकरलगायत अयोध्या आएका थिए। योग गुरु रामदेवलगायत धार्मिक व्यक्तिहरू पनि कार्यक्रममा सहभागी थिए।

 कार्यक्रमको सुरक्षाका लागि १० हजार सिसिटिभी क्यामरा, आर्टिफिसियल इन्टेलिजेन्सजडित ड्रोनले त्यहाँको गतिविधिमा निगरानी गरिएको थियो। सात घेराको सुरक्षा व्यवस्था गरिएको अयोध्यामा ठाउँठाउँमा प्रहरी र सशस्त्रका गरी ११ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

अयोध्या काण्ड

३१ वर्षअगाडि १९९२ डिसेम्बर ६ का दिन हिन्दुवादी कार्यकर्ता र समर्थकको लाखौं भिडले अयोध्यामा रहेको बाबरी मस्जिदको संरचनालाई ध्वस्त पारेका थिए। त्यही मस्जिद रहेको स्थानमा राम मन्दिरको निर्माण भएको हो।

सन् १५२६ मा भारत आएका पहिलो मुगल मुस्लिम सम्राट् बाबरको नाममा उनका सेनापति मीर बाङ्कीले सन् १५२८ मा अयोध्यामा बाबरी मस्जिदको निर्माण गराएका थिए। हिन्दुहरूले रामको जन्मभूमि रहेको स्थानमा पुरानो मन्दिरलाई भत्काएर उक्त मस्जिदको स्थापना गरिएको मान्यता राख्दै आएका थिए। रामको जन्मभूमिलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो।

भारतीय जनता पार्टीले १९८० को दशकमा राम मन्दिर निर्माणको विषयलाई आफ्नो प्रमुख मुद्दा बनाएको थियो। त्यही मुद्दाले भाजपालाई बलियो राजनीतिक शक्ति बनाउँदै लगेर यतिबेला केन्द्रदेखि प्रदेशहरूमा सरकार चलाउने तहमा पुर्‍याएको छ। सरकारमा आएपछि राम मन्दिर निर्माण गर्ने घोषणालाई भाजपाले पूरा गरेको छ।

२०१९ नोभेम्बर ९ मा सुप्रिम कोर्टले विवादित बाबरी मस्जिद र राम जन्मभूमिको जग्गाका विषयमा फैसला सुनाएको थियो। कोर्टले विवादित क्षेत्रको विषयमा राम जन्मभूमि मन्दिरको पक्षमा फैसला दिएको थियो। मस्जिद निर्माणका लागि अन्यत्र ५ एकड जमिन दिने निर्णय सुनाइएको थियो। त्यसको केही महिनापछि प्रधानमन्त्री मोदीले ५ अगस्त २०२० मा मन्दिरको शिलान्यास गरेका थिए।

प्रकाशित: ९ माघ २०८० ००:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App