२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौँ महानगरले ताप्लेजुङको सिदिङ्वालाई एम्बुलेन्स दिने

काठमाडौँ महानगरपालिकाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई एकथान ‘ख’ वर्गको एम्बुलेन्स दिने भएको छ।

काठमाडौँ महानगरपालिकाले देशभरका ३५ वटा स्थानीय तहलाई दिन लागेको एम्बुलेन्समध्ये ताप्लेजुङको सिदिङ्वा समेत त्यसमा छनौटमा परेको हो।

निश्चित मापदण्ड भित्र छनौटमा परेका पालिकालाई एम्बुलेन्स दिनेगरी महानगरपालिकाले गत असोज २५ गते सम्मको समय दिएर मागपत्र पेस गर्न आह्वान गरेको थियो। आवेदन अवधि भित्र रीतपूर्वकको मापदण्ड पूरा भएकोले एम्बुलेन्स प्राप्ति प्रक्रियाको छनौट भएको सूची महानगरपालिकाले सिदिङ्वा गाउँपालिकालाई पठाएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार एम्बुलेन्स प्राप्तिको प्रक्रियामा महानगरपालिकाले पठाएको मापदण्ड सर्त अनुसारका प्रक्रिया पूरा गरी आवश्यक कागजात काठमाडौँ महानगरपालिकामा पठाउने तयारी भइरहेको छ।

महानगरपालिकाले राष्ट्रिय एम्बुलेन्स सञ्चालन निर्देशका २०७८ बमोजिम जिल्ला एम्बुलेन्स सञ्चालन समिति,प्रादेशिक एम्बुलेन्स सञ्चालन समिति र राष्ट्रिय एम्बुलेन्स सञ्चालन समितिबाट नियमानुसार हुने राजश्व छुट सिफारिस सहितका कागजात माग गरेको छ। सोही अनुसार साब्लाखु स्वास्थ्य चौकीमार्फत एम्बुलेन्स सञ्चालन हुनेगरी गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णय सहितका कागजातका आधारमा राजश्व छुटका लागि जिल्ला एम्बुलेन्स सञ्चालन समितिले अनुमति दिनेगरी सिफारिस गरिसकेको समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत बेघाले बताए।

जिल्ला एम्बुलेन्स सञ्चालन समितिले दिएको राय सहितको सिफारिस पत्रका आधारमा कोसी प्रदेश प्रादेशिक एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिले राजश्व छुटका लागि अर्थ मन्त्रालय सहितका निकायमा सिफारिस गर्ने छ। त्यसपछि अर्थ मन्त्रालयले राजश्व छुटका लागि दिने सिफारिस पत्र सहितका अन्य आवश्यक कागजात पुगेपछि काठमाडौँ महानगरपालिकाले सिदिङ्वा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्ने भएको छ। यसअघि आवेदनका क्रममा गाउँपालिकाले नाम,प्रदेश, जिल्ला, गाउँपालिका केन्द्र रहेको स्थान, एम्बुलेन्स माग गर्ने कार्यपालिकाको निर्णय समावेश गर्नुपर्ने प्रावधान थियो।

त्यसैगरी पालिकाको भौगोलिक विवरण, क्षेत्रफल, जम्मा जनसंख्या,गाडी सञ्चालन हुने सडक सञ्जालको अनुमानित क्षेत्रफल,राजमार्गबाट नजिक जोडिने सडकको लम्बाइ,गाउँपालिकामा रहेको अस्पतालसम्म आउनका लागि सबैभन्दा लामो दूरी (किलोमिटरमा) उपलब्ध गराउनुपर्ने थियो। त्यस्तै गाउँपालिकाको विगत तीन वर्षको औसत आन्तरिक आय, एम्बुलेन्स सञ्चालनका लागि दक्ष जनशक्तिको अवस्था, हाल सञ्चालन भइरहेको एम्बुलेन्सको विवरणसहित कार्यपालिकाको निर्णय र गाउँपालिका प्रमुखको हस्ताक्षर भएको निर्णय उपलब्ध गराउनुपर्ने प्रक्रिया सिदिङ्वा गाउँपालिकाले पूरा गरी एम्बुलेन्स प्राप्त गर्न योग्य स्थानीय तहको रूपमा छनौट भएको थियो। 

प्रकाशित: ७ माघ २०८० ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App