२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

मापसे गरेर एम्बुलेन्स चलाउँदा दुर्घटना

बिरामी अस्पताल पुर्‍याएर फर्कँदै गरेको एम्बुलेन्सले अर्को गाडीलाई शनिवार राति साढे १० बजेतिर ठक्कर दिएको छ।

कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ स्थित पिपल चोकमा दक्षिण दिशाबाट उत्तरतर्फ जाँदै गरेको एम्बुलेन्सले सोही दिशामा रहेको गाडी पूर्वतर्फ मोडिन लाग्दा पछाडिबाट ठक्कर दिएको थियो। मादक पदार्थ सेवन(मापसे)गरेर एम्बुलेन्स चलाएका चालकले सोही दिशातर्फबाट पूर्वतर्फ मोडिन लागेको बा २८ च ९०३७ नम्बरको अर्को गाडीलाई ठक्कर दिएको हो।

मे १ च १७४९ नम्बरको एम्बुलेन्स चालक सुनसरी दुहबी नगरपालिका–२ का २३ वर्षीय रामकुमार हजारीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। दुर्घटना लगत्तै पक्राउ परेका एम्बुलेन्स चालकले मादक पदार्थ सेवन (मापसे) गरेको पाइएपछि एम्बुलेन्ससमेत नियन्त्रण लिएर घटनाको अनुसन्धान थालेको डिएसपी दाहालले बताए।

दुर्घटना हुँदा दुवै गाडीमा रहेका कसैलाई पनि चोट (मानवीय क्षति) नलागेको बताउँदै, डिएसपी दाहालले भने, ‘मापसे गरेर तीव्र गतिमा रहेको एम्बुलेन्सले बाटो काट्न लागेको अर्को गाडीलाई ठक्कर दिँदा मानवीय क्षति नभई सवारीसाधनमा मात्रै क्षति पुगेको छ। पछिल्लो समय मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउँदा दुर्घटना बढ्न थालेपछि बिरामी नबोकेकाहरुलाई चेक गर्न थालेका छौँ। यसअघि पनि मापसे गरेर एम्बुलेन्स चलाएका ५ जना बढी चालकहरूलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाइ सकेका छौँ।’

पक्राउ परेका चालक हजारीका अनुसार झापाको दमकमा रहेको लालबहादुर कौमाया चेम्जोङ स्मृति प्रतिष्ठानका नाममा दर्ता रहेको एम्बुलेन्स हो। सुनसरी दुहबीका सन्तोष चौधरीले प्रतिष्ठानसँग ठेक्का (लिग)मा चलाउनका लागि ल्याए हुन्। उनले के कति रुपैयाँमा एम्बुलेन्स ल्याएको आफूलाई थाहा नभएको र आफू चालक मात्रै रहेको बताए। सन्तोष चौधरीले झापाबाट ल्याएर दुहबीको सामुदायिक अस्पतालमार्फत एम्बुलेन्स चलाउँदै आएको हजारीले बताए। 

यस अघि मंसिर ३० गते दुहबीकै सामुदायिक अस्पतालको नाममा रहेको एम्बुलेन्स चालकलाई मापसे गरेर पाइएपछि पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा दर्ता भएको थियो। यस बाहेक विभिन्न समयमा मापसे गरेर एम्बुलेन्स चलाएको आरोपमा चालकहरू पक्राउ गरेर कारबाही गर्ने गरेको मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षण सुमन न्यौपानेले बताए। उनले एम्बुलेन्स कुनै एक ठाउँमा सेवा प्रदान गर्ने भनेर विशेष सुविधामा खरिद गर्ने र त्यस ठाउँमा सेवा नदिई अन्यत्र ठेक्का वा चालकलाई भाडामा दिइने गरेको पाइएको छ। अहिले एम्बुलेन्स सेवाभन्दा पनि नाफा मुखि तवरले कालो नम्बरका भाडाका सवारीसाधन जस्तै गरेर सडकमा बस्ने गरेका छन्।

एम्बुलेन्सको मापदण्ड अनुसार चलेको छ वा छैन भन्ने अनुगमन गर्ने निकायले अनुगमन गरे भइरहेको बेथिति कम भएर जाने बताउँदै, ट्राफिक प्रमुख न्यौपानेले भने, ‘पछिल्लो समय एम्बुलेन्स चालकले मापसे गर्ने गरेको भेटिएपछि विभिन्न स्थानमा ‘सप्राइज’ चेकिङ गर्न थालेका छौँ। एम्बुलेन्स चालकले मनोपोली गर्न थालेपछि उनीहरुलाई पनि मापसे र लागु पदार्थ सेवन (मापसे)को परीक्षण गर्न थालिएको छ।’

प्रकाशित: १५ पुस २०८० ०८:०० आइतबार

एम्बुलेन्स