२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

बाटोमै बच्चा जन्माउन बाध्य छन् बाजुराका आमा

बाटोमै बच्चा जन्माएकी बुढीनन्दा-४ कुरीकी पानसरा रोकाया।

सबै गाउँ बस्ती पुग्ने सडक बाटो र सुविधायुक्त स्वास्थ्य संस्था बाजुरामा अभाव नै छ। तैपनि गाउँमा बनेका काम चलाऊ स्वास्थ्य संस्था र पालिकास्तरबाटै राखिएका स्वास्थ्यकर्मीले सकेको सेवा दिइरहेका छन्।

विडम्बना त्यही नाजुक अवस्थाका स्वास्थ्य संस्था र उपलब्ध अपुग श्रोत साधनाको प्रयोग गर्न पनि अधिकांशले बेवास्ता नै गरिरहेका छन्। त्यही कुराको सिकार बनिन्, बुढीनन्दा नगरपालिका-४ कुरुकी पानसरा रोकाया। उनले मंसिर १९ गते बाटोमै सन्तान जन्माइन।

उमेरले ३१ कटेकी रोकायाको यो तेस्रो सन्तान हो। उनले यस अघिका २ सन्तान पनि बाटोमै जन्माएको परिवारको भनाई छ। घरमै पनि पाउन सकिन्छ भन्ने ढिपीकै कारण बाटो र जंगल गएको बेला बच्चा पाउने गरेको यथार्थता हो।

पानसराको घरबाट आधारभूत स्वास्थ्य केन्द्र पुग्न मात्रै आधा घण्टाको पैदल हिँड्न पर्छ। गाउँमा प्रसूति सेवा सुचारु भएको १७ महिना बित्यो। उनले नियमित चार पटक जाँच समेत गराएकी थिइन्। स्वास्थ्य कर्मीले मंसिर २१ गतेको मिति समेत दिएका थिए। मिति भन्दा केही दिन अगाडि पनि हुन सक्ने भएकोले तयारीमा बस्न, घरायसी काम कम गर्न र समस्या पर्दा खबर गर्न स्वास्थ्यकर्मीले सचेत समेत पारिसकेको दाबी गर्छन्।

१९ गते बिहान ४ नबज्दै बेथा लागेकी रोकाया, बिहानको १० बजेपछि बाटोमा बच्चा जन्माएकी हुन्। 

‘पानसरालाई व्यथा लाग्यो, कसैलाई भनिनन्, नभनेकै कारण श्रीमान् बिहानै काममा गए। छिमेकीले पनि जानकारी विना वास्ता गर्ने कुरै भएन। प्रस्रव पीडा सहन नसकेपछि रोकाया कसैलाई थाह नदिई स्वास्थ्य संस्था तर्फ लागिन्। तर सुत्केरी व्यथाले हिँड्न नसक्ने अवस्था आयो। उनी बाटोमै पल्टिन् र त्यही उनले बच्चा जन्माउनु पर्ने बाध्यता आइलाग्यो।’ उनलाई सुत्केरी गराएकी अहेब धर्मा चदाराले भनिन्।

स्वास्थ्य संस्था जाने बेला बाटोमा भेटेको र झोलामै केही साधन भएकोले त्यहाँ सुत्केरी गराएर स्वास्थ्य संस्था पुर्याएको धर्माको भनाई छ।

‘श्रीमानलाई समेत जानकारी नदिनु, पूर्व तयारी नगर्नु, आधा घण्टाको दुरीमा पनि बिहान ४ बजे व्यथा लागेर १० बजेसम्म बाटोमै हुनु, त्यो स्वयम पानसराको कमजोरी देखिन्छ। चेकजाँच गर्न आउँदा दिएको सुझाव समेत मान्दैनन्, पैसाका लागि मात्रै संस्थागत सुत्केरी गराउने गरेको अहेब चदाराको भनाई छ।

कुरुमा २०७९ को साउनमा पहिलो पटक प्रसूति सेवा सञ्चालन गरिएको बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले जानकारी दिए।

त्यस अघि स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको संख्या शून्य थियो। सबैले घरमै गराउने र गाह्रो भएपछि मात्रै अन्यत्र लिनु पर्ने बाध्यताले बाटोमै हुने, ज्यान जाने सम्मको घटना हुन्थ्यो। यो अवधिमा २७ जनाले संस्थागत सुत्केरी गराएका छन्।

नियमित स्वास्थ्य जाँच र संस्थागत सुत्केरी गराए बापतको रकमका लागि सेवा लिन स्वास्थ्य संस्थामा बाध्य भएर आए पनि स्वइच्छा र चाहना राखेर आउनेहरुको संख्या निकै कम रहेको वास्तविकता स्वास्थ्य कर्मीले सुनाउने गरेका छन्। हाल पानसरा र उनले जन्माएको बच्चा सकुशल छन्। उनले स्वास्थ्य कर्मीलाई फोन गरेको दाबी गरे पनि गलत नम्बर डायल भएको देखिन्छ।

यो एउटा उदाहरण मात्रै हो। बयालगडा अस्पताल अछाम पुगेर, धनगढी जान सुझाव दिँदा पनि घर फर्किएको र बाटोमै बच्चा जन्माएको वास्तविकता बाजुरासँग छ। जिद्दी, जबरजस्ती र अज्ञानता पहिलो समस्या भएपनि परिवारको पूर्व तयारी नहुने कुराले यस्ता घटनाहरू दोहोरिने गरेका छन्।

कुरुमा पनि बर्षादको समय बाहेक कच्ची बाटो संचालन हुने गरेको छ।  त्यो नभए घोडाकोट बाहेक अरु सबै बस्तीलाई आधा घण्टाको दुरीमा सेवा लिन मिल्ने आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छ।

तीन जना स्वास्थ्यकर्मी २४ घण्टा सेवाका लागि हाजिर छन्। तर गाउँमा नबुझेकालाई बुझाउन र बुझेकालाई महसुस गराउन नसकिएको अवस्था छ। ४ वर्षको अवधिमा मात्रै बाजुराका १२ जना सुत्केरी आमाले ज्यान गुमाइसकेका छन्। दुई वर्षको अवधिमा एक दर्जन बढी आमाहरुले बाटोमै बच्चा जन्माएको अवस्था छ।

केही महिना अघि मात्रै खप्तड छेडेदह गाउँपालिका-१ की ३२ वर्षकी उज्जलीले सुनार बाटोमै छोरी जन्माइन। उनलाई बयालगडाले धनगढी रिफर गरे पनि घर फर्केपछि बाटोमै बच्चा पाएकी हुन्।

गौमुल गाउँपालिका-३ माँझपाली बस्ने २१ वर्षीया भाँग्य चदारा, हिमाली गाउँपालिका-२ नातिखोला बस्ने २३ वर्षीया पार्वती बुढा, सोही पालिका-१ को बामु बस्ने नानी रोकायाले पनि बाटोमै बच्चा जन्माइन्। 

रोकायालाई सुत्केरी व्यथा लागेपछि आफन्तले स्वास्थ्य संस्था लिएका थिए। घरबाट करिब अढाइ घण्टा टाढा स्वास्थ्य संस्था भएकोले बामु आधारभूत स्वास्थ्य सेवा केन्द्र नपुग्दै उनले बाटामै बच्चा जन्माइन्।

स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिक विकले पनि बाटोमै बच्चा पाउनु पर्ने बाध्यता आयो। आफन्तले ढिलो गरि व्यथा लागेको थाह पाए। पूर्व तयारी गरिनन्। र व्यथा लागेको अवस्थामा स्वास्थ्य संस्था लिन खोज्दा साप्पाटाको ताहाडा खोला नजिकै बच्चा जन्माइन्।

यी प्रतिनिधि मूलक पात्र मात्रै हुन्। यस्ता समस्या गाउँमा अझै छन्। स्वास्थ्य संस्था टाढा हुने, व्यथा लागेको बेला आफन्त नभेटिने, आर्थिक नहुने जस्ता समस्या पनि देखिएका छन्। ती भन्दा बढी पूर्व तयारी नगर्ने, के हुने हो, भन्ने दम्भ राख्ने, परिवारले समेत वास्ता नगर्ने कारणले नै समस्या निम्त्याएको स्वास्थ्य कर्मीको दाबी छ।

औषधी पर्याप्त नहोला, भनेको समयमा स्वास्थ्य कर्मी नहोलान्, तर पनि भएको र उपलब्ध हुने कुराको सेवाका लागि स्वास्थ्य संस्था पुग्ने कुरामा स्वयम व्यक्ति र परिवार सचेत र जिम्मेवार हुनु पर्ने सुझाव स्वास्थ्य स्वयमसेविकाको छ।

बुढीनन्दामा सकेसम्म शतप्रतिशत संस्थागत सुत्केरी गराउने गरि सबैभन्दा बढी बजेट नै स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन्।

पानसराको हकमा पनि स्वास्थ्य संस्था टाढा भएर, गाडी नपाए भन्दा पनि केही पारिवारिक समस्याले बाटोमै बच्चा पाउनु पर्ने अवस्था आएपछि यस्तै समस्या समाधानका लागि प्रतिबद्ध भएर लागि पर्ने बोहराको भनाई छ।

‘अधिकांशले नियमित गर्भ जाँच नै गर्दैनन्, गरे पनि स्वास्थ्य कर्मीको सल्लाह मान्दैनन्’ बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा संयोजक ओमजंग शाही भन्छन् ‘त्यही समस्या हो।’

बाजुराका हिमाली, बुढीनन्दा, स्वामिकार्तिक, गौमुल लगायतका भौगोलिक विकटता भएका पालिकामा बढी देखिए पनि समस्या अन्य पालिकाको पनि एउटै देखिन्छ। समस्या स्वास्थ्य संस्था र सरकारी पक्षमा मात्रै छैन, स्थानीय र स्वयम परिवारमा पनि समस्या देखिन्छ।

प्रकाशित: २० मंसिर २०८० १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App