२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

भूकम्प पीडितका टहरा बनाउँदै दलहरू

फाइल तस्वीर

भूकम्पले भत्किएका संरचना र अस्थायी आवास निर्माणका लागि जाजरकोट र रुकुम पश्चिममा राजनीतिक दलका नेता तथा कार्यकर्ता खटिइरहेका छन्। राज्यले अस्थायी आवास निर्माणका लागि दिने भनिएको पहिलो किस्ता नआउँदा भूकम्प पीडितले घर निर्माण गर्न नसकिरहेका बेला दलका नेता तथा कार्यकर्ता भत्किएका संरचना पन्छाउने र अस्थायी टहरा निर्माणमा केन्द्रित छन्।

नेकपा (एमाले) ले जाजरकोट र रुकुम पश्चिममा एक सय ५२ जना स्वयंसेवक खटाएको छ। केन्द्रीय सदस्य निरज आचार्य, किरण पौडेललगायत भूकम्प प्रभावित क्षेत्रमा छन्। एमालेका नेता तथा कार्यकर्ता १८ वटा समूह बनाएर काम गरिरहेका छन्।

‘सुरुका केही दिन भत्किएका संरचना पन्छाउन लाग्यौं, अहिले अस्थायी टहरा निर्माण गरिरहेका छौं’, जाजरकोटको भेरी नगरपालिका १ रिम्नामा खटिएको समूहका संयोजक मोहन बढुवालले भने।

नेपाली कांग्रेसले भूकम्प प्रभावित जिल्लाका एक हजार परिवारका लागि अस्थायी आवास निर्माण गर्ने निर्णय गरिसकेको छ। सोहीअनुसार कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल नेतृत्वको टोलीले जाजरकोटमा एक सय घर निर्माण गरेर फर्किएको छ।

केन्द्रीय सदस्य पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका ५ का रघुनाथ, ऐरारी, पोखरा र मुलिमा एक सयवटा अस्थायी टहरा निर्माण सम्पन्न गरेको छ। दुई जिल्लाका लागि थप १० टोली रुकुम पश्चिम र जाजरकोट आउँदै छ। केन्द्रीय सदस्य पौडेलले पुस महिनाअघि नै त्रिपालमा बसेका भूकम्पपीडित नागरिकलाई अस्थायी टहरोमा सार्नुपर्ने आवश्यकता रहेको बताए।

‘पहाडी क्षेत्र भएकाले चिसो अत्यधिक बढेको छ, बिरामी, सुत्केरी, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ’, उनले भने, ‘कांग्रेसले घोषणा गरेअनुसार यही महिनाभित्र एक हजार घर निर्माण गरेर हस्तान्तरण गर्छौं।’

उनले चिसोका कारण नागरिक मरिरहेको बताउँदै सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए। ‘सरकारले अस्थायी टहरा निर्माणका लागि ५० हजार दिने निर्णय गरेको छ, त्योवापतको पहिलो किस्ता २५ हजार पठाइसकेको पनि जानकारी दिएको छ’, उनले भने, ‘पीडितसम्म अझै नआउँदा उहाँहरूले अस्थायी टहरा निर्माण गर्न सक्नु भएको छैन्।’

माओवादी केन्द्रले रुकुम पश्चिममा पार्टी उपमहासचिव जनार्दन शर्मा र जाजरकोटमा अर्का उपमहासचिव शक्ति बस्नेतको कमान्डमा भूकम्पबाट भत्किएका संरचना पन्छाउने र अस्थायी आवास निर्माणको काम गरिरहेको छ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले पार्टीका २१ सय नेता तथा कार्यकर्ता परिचालन गर्ने निर्णय कार्यान्वयन चरणमा रहेको बताइन्। ‘समूह निर्माण र कमान्डर तोक्ने काम भइरहेको छ’, उनले भनिन्, ‘केही साथी फिल्डमा खटिसक्नु भएको छ, केही जाने तयारीमा हुनुहुन्छ।’

यस्तै एकीकृत समाजवादीले पनि एक सय ५० जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटाएको जनाएको छ। ‘हाम्रो एक सय ५० जनाको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा पीडितका भत्किएका घर पन्छाउने र टहरा निर्माण गर्ने काममा केन्द्रित छ’, प्रदेश अध्यक्ष एवम् संघीय सांसद अम्मरबहादुर थापाले भने, ‘हामीले दक्ष मानिस मात्रै खटाएका छौं।’

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरीश्चन्द्र शर्माले भूकम्प प्रभावितका लागि कसले कति अस्थायी टहरा निर्माण गरे भन्ने तथ्यांक प्रशासनसम्म आइनपुगेको बताए।

‘केही दलले हामी भूकम्प पीडितका भत्केका घर पन्छाउन र अस्थायी टहरा निर्माण गर्न जाँदै छौं भनेर जानकारी गराउनुभएको थियो’, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘तर अहिलेसम्म कसले कति बनाउनुभयो, त्यसको जानकारी हामीसम्म आइपुगेको छैन।’

रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले दलहरूले भूकम्प पीडितका लागि अस्थायी टहरा निर्माण गरिरहेको भए पनि आधिकारिक तथ्यांक भने नआएको बताए।

उनले अस्थायी टहरा निर्माणका लागि रकम आइपुगे पनि क्षतिको विवरण स्थानीय तहबाट नआइपुग्दा समस्या भएको बताए।

प्रकाशित: ११ मंसिर २०८० ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App