२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

‘जागिर छाडौं कि देश’

‘डाक्टर कुट्न पाइँदैन, डराएका स्वास्थ्यकर्मीले काम गर्न सक्दैन’ भन्ने नाराका साथ वीरगञ्जका चिकित्सक विरोध प्रदर्शन गर्दै। तस्बिर: नागरिक

बिरामीको उपचारमा संलग्न चिकित्सकमाथि बारबार आक्रमण भएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न र सुरक्षा प्रत्याभूतिको माग गर्दै बेनी अस्पतालमा कार्यरत चिकित्सक आन्दोलनमा उत्रिएका छन्।

पोखराको मणिपाल शिक्षण अस्पतालसहित विभिन्न अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरूले बुधबार सदरमुकाम बेनीबजारमा विरोध प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

एप्रोनमा सजिएर र स्टेथेस्कोप भिरेर आन्दोलनमा निस्किएका चिकित्सकहरूले लगातारको आक्रमणले कार्य क्षेत्रमा असुरक्षाको महसुस भएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बेनी अस्पतालका मेडिकल अधिकृत डा. विराज आचार्यले बताए।

‘टन्टालपुर घाममा उभिएर आन्दोलन गर्नु हाम्रो बाध्यता हो। बिरामीलाई सेवा दिन सुरक्षित महसुस नहुदाँसम्म कार्य क्षेत्रमा फर्कदैनौं’, डा. आचार्यले भने। उनले आन्दोलनका कारण बिरामीमाथि पर्न गएको मर्कालाई नजिकबाट हेर्न बाध्य भए पनि इमर्जेन्सी सेवालाई जारी राखेको बताए।

बेनी अस्पतालका चिकित्सक, नर्स र कर्मचारीसमेत आन्दोलित भएपछि ओपिडीसहितको सेवा प्रभावित बनेको छ। विभिन्न नारासहितको प्ले कार्ड बोकेर जिल्ला प्रशासनमा पुगेको चिकित्सक टोलीले प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललाई ज्ञापनपत्र बुझाएको थियो।

 सोही अवसरमा प्रजिअ पौडेलले म्याग्दीमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएमा तत्काल कारबाही गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘म्याग्दीमा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएमा तत्काल कानुनअनुसार कारबाही गरिन्छ।’

वीरगञ्जमा पनि प्रदर्शन

‘डाक्टर कुट्न पाइँदैन, डराएका स्वास्थ्यकर्मीले काम गर्न सक्दैन’ नाराका साथ वीरगन्जमा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्। चिकित्सकमाथि कुटपिटविरुद्ध देशव्यापी भइरहेको आन्दोलनको समर्थनमा यहाँका चिकित्सकले पनि विरोध प्रदर्शन गरेका हुन्।

राष्ट्रिय आवासीय चिकित्सक संघ महाराजगञ्ज काठमाडौंको आह्वानमा चिकित्सकहरूले वीरगञ्जको घन्टाघरमा विभिन्न नारा लगाउँदै विरोध प्रदर्शन गरे। प्रदर्शनका क्रममा उनीहरूले अस्पतालमा काम गर्ने वातावरण बनाउन माग गरे।

चिकित्सकले अस्पतालपरिसरमै चिकित्सक असुरक्षित भएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत मागेका छन्। पछिल्लो समय काठमाडौंलगायत चितवन, हेटौंडास्थित अस्पतालहरूमा भइरहेको चिकित्सकमाथिको कुटपिटविरुद्ध वीरगञ्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकले विरोध प्रदर्शन गरेका हुन्। दोषीमाथि कारबाही नभएसम्म मेडिकल कलेजका आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा ठप्प पारिएको छ।

प्रकाशित: ११ आश्विन २०८० ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App