२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

तरकारीले समृद्धितर्फ

सालकोटको जंगलागाउँमा आफूले लगाएको टमाटर देखाउँदै एक कृषक। तस्बिर:नगेन्द्र उपाध्याय

सुर्खेत–   तीन वर्षसम्म खाडी मुलुक मलेसियामा पसिना बगाएका सालकोट–४, जंगलाका ३८ वर्षीय नरजंग शाही फर्केपछि दुवई जाने तयारीमा थिए। त्यसका लागि उनले काठमाडौंको एक म्यानपावर कम्पनीलाई पासपोर्ट बुझाए । अन्र्तवार्ता भयो। उनी सेक्युरिटी गार्डका लागि छानिए। बिदा माग्न घर आएका बेला गाउँका आफूजस्तै युवाहरुले तरकारी खेती गरिराखेको देखेपछि उनको मन फर्कियो। ‘भिषा पनि लागिसकेको थियो, घरपरिवारसँग बिदा माग्नका लागि गाउँमा आएको थिएँ’ शाहीले भने, ‘आफूजस्तै युवाहरुले घरपरिवारसँग बसेर तरकारी खेती गरिराखेको देखेपछि विदेश जाने मनै लागेन।’

अहिले उनी पुख्र्यौली जमिनमा तरकारी खेती गर्छन्। मासिक १० हजार रुपैयाँ दिएर एक जना कर्मचारी राखेका छन्। तरकारी बिक्री गरेरै वार्षिक १० लाख बढी बचत गर्छन्। ‘धन्न ! फेरि विदेश नगएर समयमै बुद्धि पुर्याए’ शाहीले भने, ‘अहिले घरपरिवारसँगै बसेर विदेशको भन्दा राम्रो आम्दानी गर्न सफल भएको छु।’ शाहीले चार रोपनीमा अहिले टमाटर खेती गरेका छन्। दुई रोपनीमा बन्दा र काउली फलाएका छन्। ‘कात्तिक महिनामै एक लाखको टमाटर बिक्री गरिसके’ शाहीले भने, ‘चैतसम्म अरु चार लाखबढीको बिक्री गर्ने लक्ष्य लिएको छु।’

सोही गाउँका नयाँराम बयकले १२ वर्ष भारतको नैनितालमा मजदूरी गरेर बिताए। उमेरले अहिले ४० वर्ष पुगेका उनी तीन वर्षदेखि तरकारी खेतीमा लागेका छन्। ‘उता (नैनिताल) भारी बोकेर महिनामा तीन–चार हजार कमाइन्थो, यता महिनामै एक लाख बुझ्ने भएको छु’ तरकारी खेती गर्दाको फाइदा सुनाउँदै बयकले भने, ‘पहिल्यै बुद्धि फिरेको भए अर्काको देशमा मजदूरी गर्नुपर्ने थिएन्।’ बयकले पनि तीन रोपनीमा टमाटर खेती गरेका छन्। अरु तीन रोपनीमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन्। सबै खर्च कटाएर वर्षमा पाँच लाख रुपैयाँसम्म बचत गर्ने गरेको उनी बताउँछन्। ‘तरकारी बेचेरै छोरालाई सदरमुकाममा प्लसटु पढाए, छोरी १० कक्षामा पढ्दैछिन्’ बयकले भने, ‘घर खर्च कटाएर पनि वर्षमा पाँच–छ लाख रुपियाँ बचत हुन्छ ।’

सालकोट गाविस–४ मा जम्मा दुई सय ९८ घरधूरी छन्। ती मध्ये दुई सय घरधूरीले व्यवसायिक तरकारी खेती गरिरहेका छन्। तीन वर्षअघिसम्म यहाँका प्रत्येक घरका पुरुषहरु कामका लागि कालापहाड (भारत) जान्थे। यो गाउँमा तेस्रो मुलुक गएका शाही मात्रै एक्ला हुन्। घरमा महिला, बृद्धबृद्धा र केटाकेटी मात्रै हुन्थ्ये । तीन वर्ष भयो, यहाँका कुनै पनि युवाहरु काम खोज्दै विदेशिनु परेको छैन्।    

शाही र बयकजस्तै यहाँका दुई सय घरधूरीले वार्षिक साढे तीन करोडको तरकारी बिक्री गर्ने गरेको गाविस सचिव तिलकराम अधिकारी बताउँछन् । कात्तिक महिनाभित्रै जंगलागाउँबाट ४० लाखको टमाटर सदरमुकाम वीरेन्द्रनगर र नेपालगञ्जमा बिक्री भएको उनले बताए। व्यवसायिक तरकारी खेती सुरु भएपछि युवाहरु विदेशिनेक्रम रोकिएको बताए । ‘केही वर्षअघिसम्म गाउँमा पुरुषलाई फेला पार्न मुस्किल हुन्थ्यो’ सचिव अधिकारीले भने, ‘अहिले यो गाउँका कुनै पनि युवाहरु काम खोज्दै विदेशिनु परेको छैन् ।’ गाउँलेलाई व्यवसायिक तरकारी खेतीमा लगाउन उच्च मूल्य कृषि बस्तु विकास आयोजना (एचभिएपी) ले पनि सहयोग गरेको छ । प्राविधिक र भौतिक सहयोग उसको छ।

गाविस सचिव अधिकारी गाउँलाई नै समृद्धिको बाटोमा अघि बढाउने अभियान थालिएको बताउँछन् । ‘जंगला गाउँलाई टमाटरको पकेट क्षेत्र बनाएजस्तै अरु गाउँलाई पनि फरक–फरक प्रकृतिका तरकारी खेती चराउने अभियानको सुरुवात गरेका छौं’ उनले भने, ‘अव वडा मात्रै होइन्, गाविस नै समृद्धितर्फ बढिरहेको छ ।’

केही वर्ष अघिसम्म यहाँ तरकारी खेती गर्ने चलन थिएन् । नुन सुर्खानीसँग रोटी खानुपर्ने बाध्यता गाउँमा थियो । गाउँमा धान रोपेर भारत जाने । दशैं मान्न घर आउने । गहुँ स्याहारेर फेरि कालापहाड लाग्ने चलन थियो । ‘गाउँमा व्यवसायीक तरकारी खेती सुरु गरेपछि अहिले कुनै पनि युवाहरु विदेश गएका छैनन्’ स्थानीय लालमणि कँडेलले भने, ‘परिवारमा सबृद्धि आएको छ, युवाहरु घरपरिवारसँगै बसेर राम्रो आम्दानी गरिरहेका छन् ।’

 

प्रकाशित: २७ कार्तिक २०७३ ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App