१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मध्य असारसम्ममा १८ प्रतिशत मात्र रोपाइँ

प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि क्षेत्रको विकास गर्न जलवायु परिवर्तन चुनौती बन्दै गएको बताएका छन्। २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर शनिवार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन चुनौती बनेको बताएका हुन्।

‘कृषि क्षेत्रको व्यावसायीकरण र विविधिकरणमार्फत देशमा समृद्धि हासिल गर्न पछिल्लो समय कृषि क्षेत्रमा जलवायु परिवर्तन ठुलो चुनौती थपिएको छ,’ प्रधानमन्त्री दाहालले भने ‘परिवर्तनका दृष्टिले संवेदनशील र प्रभावित उपक्षेत्रमध्ये नेपालको प्रमुख खाद्यान्न बाली धान यसको जोखिमबाट टाढा छैन।’ नेपाल जलवायु अनुकूलित जातका बिउ उत्पादन गर्नेतर्फ लाग्नुपर्ने धारणा उनले राखे।

‘जलवायु परिवर्तनका कारण सुक्खा खडेरी बेमौसमी वर्षा, बाढी पहिरो, आकस्मिक रोग तथा किराको प्रकोप तापक्रममा वृद्धि जस्ता नकारात्मक असरहरूमा अनुकूलित हुने धानका जात र उत्पादन प्रविधिको अवलम्बन गर्दै उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन विशेष योजनाका साथ हामी सबै क्रियाशील हुनै पर्दछ,’ प्रधानमन्त्री दाहालले भने ‘ठूला देशका कारण नेपाल जस्ता मुलुक जलवायु परिवर्तनको मारमा परेका छन्। जलवायू परिवर्तनको असर नेपालले भोग्नुपरेको समस्याका बारेमा सयुक्त राष्ट्रसंघको महासभामा अपिल गरेको थिए । यसप्रति संसारको ध्यान पुगेको छ।’

सरकारले जलवायु अनुकूलित प्रविधिको विकास र प्रचार जैविक विविधताको उपयोग गरी वातावरण अनुकूलित धानका प्रविधिको विकास तथा उत्पादनमा कृषक मैत्री प्रविधिको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको बताए। उनले धान बालीमा जलवायुमैत्री प्रविधिको अवलम्बन गराइ उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य रहेको समेत सुनाए।

नेपाल सरकारले आगामी दशकलाई कृषि दशकका रूपमा मनाउन लागेको भन्दै आयात प्रतिस्थापन गर्न लागिपरेको बताए। ‘धान चामलको आयातमा अर्बौं रूपैयाँ खर्च गर्नुपर्दा परनिर्भता र व्यापार असन्तुलन समेत बढेको हामी सबैले महसुस गरेका छौं’ उनले भने, ‘पछिल्ला वर्ष धान उत्पादनमा धान उत्पादकत्वमा वृद्धि हुँदै गएको तथ्यांकले केही सकारात्मक र उत्साहवद्र्धक प्रगति भएका छन्।’

उनले कृषिमा यान्त्रिकरण, आधुनिकीकरण र व्यावसायीकरण गर्दै उत्पादन उत्पादकत्व वृद्धि गर्दै त्यस मार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको बताए। ‘युवाहरूलाई जति कृषिमा यान्त्रिकरण हुँदै जान्छ त्यति नै युवाहरू देशभित्रै बसेर काम गर्ने प्रवृत्ति बढ्दै जान्छ’, दाहालले भने। उत्पादन घटाउने र उत्पादन लागत बजारको सुविधा नहुँदा पनि उचित मूल्य नपाएको भन्दै यसतर्फ सरकारको ध्यान पुगेको बताए। नेपाललाई आर्थिक रूपले समृद्ध गर्न कृषिबाहेक अर्को विकल्प नभएको दाबी गर्दै दाहालले कृषि क्षेत्रमा आधारित उद्योग स्थापना हुनुपर्ने धारणा राखे।

प्रधानमन्त्रीले किसानलाई मलको अभाव हुन नदिने समेत बताएका छन्। गत वर्ष पनि मलको धेरै हाहाकार नभएको दाबी गर्दै उनले यस वर्ष पनि मलको आवश्यक व्यवस्था हुने बताए। उनले वितरण प्रणालीमा समस्या हुँदा मलको अभाव भएजस्तो देखिएको उल्लेख गर्दै अब त्यस्तो समस्या पनि आउन नदिने बताए।

देशभर झन्डै १८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका महानिर्देशक डा.नरहरिप्रसाद घिमिरेका अनुसार शुक्रबार बेलुकासम्म १७.२ धान रोपाइँ सकिएको हो। १३ लाख ९८ हजार ८३६.७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने भए पनि अहिलेसम्म एक लाख ४० हजार एक सय २४ हेक्टरमा मात्र धान रोपाइँ सम्पन्न भएको छ।

देशभर वर्षा हुन थालेसँगै धान रोप्ने क्रम पनि बढिरहेको मन्त्रालयले बताएको छ। गतवर्ष यो अवधिमा १३ प्रतिशत मात्रै रोपाइँ भएको थियो। अहिले सिँचाइको क्षेत्र विस्तार र मनुसनका कारणले रोपाइँ छिटो भएको मन्त्रालयको भनाइ छ।

सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस्तै, कर्णाली प्रदेशमा २३.९, बागमती प्रदेशमा १९.२, लुम्बिनी प्रदेशमा १८.५ र गण्डकी प्रदेशमा १२.४ प्रतिशत रोपाइँ सकिएको छ। कोसी प्रदेशमा १३.७ तथा मधेश प्रदेशमा ८.२ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।

विगत चार आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा धान लगाइएको क्षेत्रफल १.७३ हेक्टरले घटेको छ। विगत चार वर्षको तुलनामा यो आर्थिक वर्षमा धान उत्पादन भने ५.०८ प्रतिशतले बढेको मन्त्रालयको तथ्यांक छ। सरकारले यस पटकको धान दिवस चितवनको रत्ननगरस्थित बछौलीमा मनाएको थियो। कार्यक्रममा कृषि मन्त्री, मुख्यमन्त्री, सचिव लगायतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो। 

प्रकाशित: १६ असार २०८१ ०८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App