२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा एस महाधिवेशन: नेतृत्वमा नेपाललाई भुसालको चुनौती

दुई वर्षअघि नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) को १०औं महाधिवेशनमा प्रतिस्पर्धाको वातावरण बनेको छ। एमाले विभाजनको ३४ महिनापछि नेकपा एसको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने तय भइसकेको छ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपालसँग प्रतिस्पर्धामा उत्रिने तयारी महासचिव घनश्याम भुसालले गरेका छन्। यसअघि नेपालसँग सम्मानित नेता झलनाथ खनालले प्रतिस्पर्धा गर्ने चर्चा थियो। एमाले विभाजनअघि नेपालको पक्षमा रहेका भुसाल नेपालले पार्टी फुटाएपछि उनलाई छाडेर मूल पार्टीमै बसेका थिए।

अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरी एमालेमै बसेका भुसालले चितवनमा आयोजित पार्टीको १०औं महाधिवेशनमा भाग लिएका थिए। २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही १ मा उम्मेदवारको टिकट नपाएपछि भुसाल माओवादीको समर्थनमा स्वतन्त्रबाट चुनावमा भाग लिएका थिए। एमालेकै उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका भुसार चुनावमा पराजित भएपछि नेकपा एसमा प्रवेश गरेका हुन्।

महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले विभिन्न पदमा आकांक्षा देखाउन थालेका छन्। सम्मानित नेता खनालले अध्यक्षका लागि महाधिवेशनमा भुसालले प्रतिस्पर्धा गरे उनलाई सहयोग गर्ने बुझिएको छ।

नेकपा एसमा प्रवेश गर्दा आफूसँगै लिएर गएका केही नेताहरूको समूह बनाएर अध्यक्षमा प्रतिस्पर्धा गर्ने योजना भुसालको छ। नेपालले भने एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाएको औचित्य पुष्टि गर्न र योजनासहित युवा पुस्तालाई पार्टी हस्तान्तरण गर्न आफूलाई निर्विरोध अध्यक्ष स्वीकार गर्न नेता–कार्यकर्तालाई आग्रह गरिरहेका छन्।  

भुसालले पुस्तान्तरणको मुद्दा उठाएर अध्यक्षमा दाबी गरिरहेका छन्। नेपालले पार्टी स्थापनादेखि नेतृत्व गरेको र आगामी दिनमा पार्टीलाई थप बलियो बनाउने प्रतिबद्धता गर्दै आफूलाई सर्वसम्मत अध्यक्ष बनाउन खनाल र भुसाललाई आग्रह गरेका छन्। नेपाल पक्षले आफ्नो पक्षमा महाधिवेशनका ९६ प्रतिशत प्रतिनिधि रहेको तथ्यांक प्रस्तुत गरिसकेको छ।

एमालेको नवौं महाधिवेशनपछि नेतृत्वमा आएका केपी ओलीमाथि पार्टीमा दक्षिणपन्थी अवसरवाद हाबी गराएको आरोप लगाउँदै नेपालसहितका नेताले एमालेबाट अलग भई २०७८ भदौ २ गते नेकपा एस गठन गरेका थिए। पार्टी स्थापनासँगै नेपालले नेतृत्व गर्दै आएका छन् ।

पार्टीको मार्गदर्शक सिद्धान्त, विचार, कार्यक्रम र कार्यदिशालाई लिएर नेकपा एसभित्र नेपाल र खनालबीच मतभेद रहेकै बखत महासचिव भुसालले पुस्तान्तरणको विषय उठान गरेर खनालको समर्थन लिएका छन्।

अध्यक्ष नेपालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) कै जगबाट पार्टी बन्ने र अहिलेको अवस्थामा बहुदलीय प्रतिस्पर्धाबाहेक विकल्प नहुने बताउँदै आएका छन्। नेपालकै नेतृत्वमा विद्रोह गरी एमालेबाट अलग भएको र अहिले नै पुस्तान्तरण गर्ने समय र अवस्था नभएको पार्टीका अधिकांश नेताले बताएका छन्।  

‘अब एक कार्यकाल माधव नेपालकै नेतृत्व हुनुपर्छ, विद्रोहको औचित्य पनि पुष्टि गर्नु छ, उहाँकै नेतृत्वमा विद्रोह भएको हो, राम्रोसँग पार्टी नबन्दै विवाद बढाउनु हुँदैन,’ पार्टी संगठन विभाग प्रमुखसमेत रहेका उपाध्यक्ष बेदुराम भूसालले भने। उनी पार्टीभित्र अध्यक्ष नेपाल निकट मानिन्छन्। उपाध्यक्ष भुसालले नेपालले पार्टी निर्माणमा नेतृत्वदायी भूमिका खेलेको, एमालेभित्रको छलछाम र थिचोमिचोविरुद्ध उनकै नेतृत्वमा विद्रोह गरेकाले अबको नेतृत्व पनि उनकै हुने दाबी गरे।

‘भावी कार्यदिशा पनि माधव नेपालकै छ। पुरानै नेतृत्व सर्वसम्मत गर्न कोसिस हुँदैछ’, उपाध्यक्ष भुसालले भने। उनका अनुसार अत्यधिक प्रतिनिधिहरूबाट पुरानै नेतृत्व कायम हुनुपर्छ भन्ने मत आएको छ।

महासचिव भुसालले आफूले अध्यक्षका लागि निर्वाचन लड्ने तयारी गरेको जानकारी आफू निकट कार्यकर्तालाई गराएका छन्। उनले आफ् पक्षमा कति प्रतिधिधि छन भन्ने खुलाएका छैनन्। खनालले अध्यक्षको उम्मेदवारी छाडेपछि उनी पक्षीय प्रतिनिधिहरू पनि नेपालतिरै ढल्केको दाबी स्रोतको छ।

‘घनश्यामजी सुरुमा एमालेतिरै बस्नुभएको थियो। यता हामीले पार्टी निर्माण गर्दा उहाँ एमालेको १०औं महाधिवेशनमा भाग लिँदै हुनुहुन्थ्यो। पछि अवसरबाट वञ्चित हुनुभयो, यता आउनु भयो। अहिले अध्यक्षमा उठ्ने भन्दै हुनुहुन्छ। कुनबेला कहा अवसर पाउनु हुन्छ त्यही बेला अरूलाई अलपत्र पारेर हिँड्न सक्नु हुन्छ। त्यसकारण उहाँलाई अहिले अध्यक्षमा समर्थन गर्न सकिँदैन’, इलामबाट काठमाडौं आएका खनाल निकट एक प्रतिनिधिले भने। महाधिवेशनमा ४२५ महिला, १५० दलित र खुला १ हजार ३ सय ३ गरी १ हजार ८ सय ७८ प्रतिनिधि सहभागी हुनेछन्।

संगठन विभागका सचिव लक्ष्मण केसीले महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पूरा भइसकेको बताए। उनका अनुसार चयन भएका प्रतिनिधिमध्ये ९२ प्रतिशत नेपाल समर्थक छन्। खनाल अध्यक्षमा नउठे उनका समर्थक पनि नेपालको पक्षमा लाग्ने पौडेलले बताए।

अध्यक्षपछि महत्त्वपूर्ण पद मानिने महासचिवमा पनि प्रतिस्पर्धा हुन सक्ने देखिएको छ। महासचिवमा उपमहासचिवद्वय जगन्नाथ खतिवडा र प्रकाश ज्वालाको चर्चा छ। नेपालको पहिलो रोजाइमा खतिवडा छन्। अध्यक्षमा सहमति भयो भने पनि महासचिवमा प्रतिस्पर्धा हुने सम्भावना छ। सहमतिमै नेतृत्व चयनका लागि नेपालले प्रयास गरिरहेका छन्। महासचिव पनि सहमतिमै टुंगो लगाउने नेपालको चाहना छ।

‘पार्टी निर्माणको सन्दर्भ भएकाले सकेसम्म सबै पदमा सर्वसम्मत हुन्छ,’ खतिवडाले भने। सर्वसम्मत नेतृत्व बनाउने विषयमा आइतबार अध्यक्ष नेपाल र खनालबीच वार्ता भएको थियो। होटेल बसेरामा भएको भेटवार्तामा सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव नेपालले खनालसमक्ष राखे पनि उनले केही जवाफ दिएनन्।

उक्त भेटअघि अध्यक्षमा दाबी गरिरहेका खनालले आफू पछि हटेर महासचिव भुसाललाई अघि सार्न खोजेका छन्। महाधिवेशनले २१ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ। नयाँ पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, एक महासचिव, ४ उपमहासचिव र ७ जना सचिव हुनेछन्। नेताहरू महाधिवेशनमा सहमतिमै राजनीतिक र सांगठनिक दस्तावेज प्रस्तुत हुने बताएका छन् ।

प्रकाशित: १३ असार २०८१ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App