२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

एउटै पालिकामा दश दिनमै दुई प्रशासकीय अधिकृत,ठाकुरलाई हाजिर हुन नदिने निर्णय

धनुषाको एक स्थानीय तहमा महिनै पिच्छे प्रशासकीय अधिकृत सरुवा भइरहेका छन्। हँसपुर नगरपालिकामा दस दिनभित्रै दुई प्रशासकीय अधिकृत पठाएपछि विवाद उत्पन्न भएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हँसपुर नगरपालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारीमा सिबेन्द्र कुमार मण्डललाई पठाएपछि जेठ २९ उनी प्रशासकीय अधिकृतको रुपमा हाजिर भए । तर उनले कार्यभार सम्हालेको दस दिनमै त्यसअघि प्रशासकीय अधिकृत रहेका सुबोध कुमार ठाकुरलाई पुनः सरुवा गराएर त्यही पठाइयो। 

एउटै कार्यालयमा एउटै जिम्मेवारीमा  काम गर्ने दुई जना अधिकृत पठाएपछि नगरपालिकाको कामकाज प्रभावित बनेको छ।बिहीबार पुन सरुवा भएर हँसपुर नगरपालिका गएका सुबोध कुमार ठाकुरलाई  हाजिर हुन नदिने निर्णय नगरपालिकाले गरेको छ। 

हँसपुर नगरपालिकामा ठाकुर एक वर्षमा तेस्रो पटक पुगेका हुन। एक वर्षमा एउटै अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर तीन तीन पटक पठाएपछि सरुवामा आर्थिक चलखेल भएको चर्चा सुरु भएको छ।पहिलो पटक नौ महिनामा उनको सरुवा भएको थियो । त्यसपछि हँसपुरमा २०८० पुस २७ गते उमेश कुमार महतो हाजिर भए।

अधिकृत सुबोधको त्यतीबेला सिन्धुलीको मरिन गाउँपालिकामा सरुवा भयो । तर, उनी त्यहाँ हाजिर नभएर मन्त्रालय धाउन थाले । राजनीतिक जोडबलको आधारमा मन्त्रालयबाट सरुवाको चिठी बोकेर पुनः २०८० फागुन १४मा हँसपुरमै हाजिर भए।

करिब ६ महिना सुबोध काम गरेपछि उनको ठाउँमा मन्त्रालयले सिबेन्द्र कुमार मण्डललाई पठाएपछि मण्डल गत जेठ २९ गते हँसपुरमा हाजिर भए। सिबेन्द्र हाजिर भएको दश दिनभित्रै पुनः सुबोधलाई त्यही पालिकामा मन्त्रालयले पठायो।अहिले सुबोधलाई पालिकामा हाजिर हुन दिइएको छैन्।उनलाई फिर्ता पठाउन कार्यपालिका बैठकले नै निर्णय गरेको छ।

मधेस प्रदेश नगरपालिका संघका अध्यक्ष समेत रहेका हँसपुर नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादव सङ्घीय सरकारले बदनियत राखेर यस प्रकारको गतिविधि गरिरहेको बताउँछन्। स्थानीय सरकारलाई असफल बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनपरी ढङ्गले अधिकृत सरुवा गरिरहेको उनको आरोप छ। 

धनुषाको अधिकांश स्थानीय तहमा अधिकृत विवादले गर्दा विकास निर्माण र जनताको काम पनि प्रभावित भइरहेको छ। १८ वटा स्थानीय तह रहेका धनुषामा सुबोध कुमार ठाकुर ५ पालिकामा अधिकृत बनेर पुगिसकेका छन्। उनी जुन–जुन स्थानीय तहमा पुगे त्यहाँ विवादित बनेका थिए।

उनले यसअघि धनुषाकै लक्ष्मीनीयाँ गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका,औरही गाउँपालिका र कमला नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए। विवादित छविका ठाकुर औरहीमा रहँदा गाउँपालिका अध्यक्षले उनीमाथि हातपातको प्रयास नै गरेको समाचार बाहिरिएको थियो।  

प्रकाशित: ७ असार २०८१ १८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App