२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यातायातमन्त्री महासेठमाथि सांसदहरुको कटाक्षः तपाईं देशको मन्त्री कि धनुषा र झापाको ?

प्रतिनिधि सभाको मंगलबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि विनियोजित शीर्षकमाथि छलफल भयो। छलफलमा सहभागी सांसदहरुले मन्त्रालयको बजेटमाथि तीव्र असन्तुष्टि जनाएका छन्।

बजेटको ठूलो अंश आफ्नै निर्वाचन क्षेत्र र जिल्ला केन्द्रित गरेको भन्दै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठविरुद्ध सांसदहरु उत्रिए।

नेकपा (एमाले) कै सांसद रघुजी पन्तले भौतिक योजना मन्त्रालयबारे धेरै टिप्पणी गर्न नचाहेको बताउँदै मन्त्री एउटा निर्वाचन क्षेत्र र जिल्लाको मात्रै नभएर ऊ सिंगो देशको हुने बताए।

‘म भौतिक योजना मन्त्रालयबारे धेरै टिप्पणी गर्न चाहान्नँ, सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले धेरै कुरा भनि नै सक्नुभएको छ,’ पन्तले भने, ‘म एउटै मात्र कुरा भन्न चाहन्छु, मन्त्री एउटा निर्वाचन क्षेत्र र जिल्लाको मात्रै हुँदैन, ऊ सिंगो देशको हुन्छ।’

त्यसो त राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्याते।

प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यातेका हुन्। उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताए।

पुस्तिका च्यातेर हु¥याउने मन भएपनि संसदीय मर्यादा विपरित हुने भएकाले आफुले नहु¥याउने उनको भनाइ थियो।

‘जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा प¥यो, त्यो दिनदेखि म यसरी तात्तिएको छु कि यो यसरी च्यातेर हुत्याउने मन छ,  तर यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर जहाँ हुत्याउनु पर्ने त्यहाँ चाहिँ मैले नहु¥याएर यहाँ राख्छु,’ लिङ्देनले भने, ‘यो मेरो मात्रै मनको कुरा होइन। यो हलभित्र बसेका जुनसुकै पार्टीको भए पनि चारवटा निर्वाचन क्षेत्र बाहेकका सबै प्रतिनिधि सभा सदस्यहरूको मनको कुरा हो यो।’

त्यसो त लिङदेनले बजेट पुस्तिका च्यातेको विषयमा नेपाली कांग्रेसकी एक सांसद्ले पनि समर्थन जनाइन्। कांग्रेसकी सांसद चन्दा चौधरीले मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्दै बजेट पुस्तिका च्यातेको विषयमा समर्थन जनाएकी हुन्।

‘पीडा छ। यो चाहीँ नगरौँ। संसदमा एउटा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो। यो के राम्रो हो ? यो राम्रो होइन,’ सांसद चौधरीले भनिन्, ‘तर उहाँको पीडा छ च्यात्नुहुन्छ। च्यातेकोमा म समर्थन गर्छु, किनभने यो च्यात्नुपर्छ। तर एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो।’

मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रको लागि मात्रै मन्त्री बनेको हो ? भन्ने उनको प्रश्न थियो। ‘के यसले देशको विकास हुन्छ ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो? भनी प्रश्न गरे। उनले कर्णाली प्रदेशलाई बजेटमा उपेक्षा गरिएकोमा कर्णाली प्रदेशमा क्षेत्रीय दल बन्नसक्ने चेतावनी दिए। उनले सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दा कम बजेट गएको बताए।

उनले भने, ‘भौतिक मन्त्री नेपालको हो कि धनुषाको मन्त्री हो? म आज सभामुखलाई भन्न चाहान्छु, यो भाषा कर्णालीको हो। यो भाषा संसदमा नबोल्नुस्। संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईहरुले आफ्नो भाषा निर्माण गर्नुस्।’

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि बजेटमा साङ्केतिक असन्तुष्टि जनाएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा चलिरहेको बजेटमाथिको छलफलमा प्रमुख सचेतक सन्तोष परियारले अप्रत्यक्षरूपमा असन्तुष्टि जनाएका हुन्।

‘अमुक मन्त्री हाबी हुने बजेट बनाउन अब हामी बन्द गरौँ,’ प्रमुख सचेतक परियारले भने, ‘एउटा निश्चित मापदण्ड, निश्चित व्यवस्था त गर्न सकिन्छ होला नि त। कानुन तर्जुमा गर्न सकिन्छ होला नि त।’

त्यसो त जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधा तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न सरकारसँग माग गरेका छन्।

सांसद खाणले सो मन्त्रालयको बजेट नेतामुखि भएकाले पनि त्यसलाई पुनर्लेखन गरेर अघि बढाउन उपयुक्त हुने सुझाव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई दिए।

उनले भने, ‘भौतिक पूर्वाधारमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने–भौतिक पूर्वाधारको बजेट नेतामुखि भएको देखिन्छ। केही क्षेत्र र केही जिल्लाहरुमा सीमित देखिन्छ। तसर्थ भौतिक पूर्वाधारको बजेट पुनर्लेखन गरौं माननीय मन्त्रीजी। यसरी भएन। राष्ट्रिय योजना आयोगको अदुरदर्शी सोच र अपर्याप्त अन्वेषण, अनुसन्धानको कमीको कारणले व्यवहारिक र देशमा संरचनागत सुधार भईराखेको छैन।’

प्रकाशित: ४ असार २०८१ १९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App