२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

न्युरोडमा बालेनलाई कांग्रेसको साथ

न्युरोड क्षेत्रमा सडक काटेको विषयलाई लिएर काठमाडौं महानगर र सडक विभागबिच टकराबको स्थिति बन्यो। महानगरले फुटपाथ बढाउने भन्दै न्युरोड क्षेत्रको सडक काट्यो। महानगरले सडक काट्ने काम सडक विभागबाट अनुमति नलिएको भन्दै विभागले उक्त काम रोक्न महानगरलाई पत्र काट्यो।

यो बिचमा सडक विभागले काठमाडौं महानगरका मेयर बालेन शाहलाई सडक विभागले स्पष्टीकरण समेत सोध्यो। सडक काट्ने कामलाई विभागले रोकेपछि त्यसको प्रतिवादमा महानगरका मेयर बालेन्द्र शाहले बनिरहेको चक्रपथ क्षेत्र समयमा नै नबनेको र त्यहाँको धुवा धुलोबाट सर्वसाधरणले दुःख पाएको भन्दै सो क्षेत्रको धुलो विभागलाई उपहार पठाइदिए। यसले आगोमा घिउको काम गर्‍यो।

यो विवाद यतिमै रोकिएन। सडक विभागले न्युरोड क्षेत्रमा महानगरले काटेको सडक पीच गर्न आफ्ना कर्मचारीहरू समेत पठायो। विभागले सडक पीच गरिरहेको बेला महानगर प्रहरी समेत पुगेपछि न्युरोड क्षेत्रमा केही तनावको अवस्थासमेत सिर्जना भएको थियो। सो समयमा महानगर प्रहरीसहितको टोली विभागको काम हस्तक्षेप गर्न नभएर कामको अनुगमन गर्न गएको मेयर शाहको सचिवालयले दाबी गरेको थियो।

त्यसपछि अलि साम्य भएको यो विषयले प्रतिनिधि सभामा समेत प्रवेश पाएको छ। बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मेयर बालेन शाहले न्युरोड क्षेत्रमा गरेको काम राम्रो तर गर्न नदिएको भन्दै आवाज उठाएको छ।

बैठकमा कांग्रेसका सांसद्हरुले मेयर बालेनले गरेको काम ठिक भएको र उनलाई काम गर्न दिनुपर्ने बताएका हुन्। बैठकमा बोल्दै क्रांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा सडक पेटी बढाउनु जरुरी रहेको र मेयर बालेनले गरेको काम ठिक रहेको बताए। 

उनले संघ र स्थानीय तहको विवादमा संयमित संघ हुनुपर्ने बताउँदै बालेनले जे गरेका थिए ठिक गरेको बताए। र त्यसमा हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्ने उनको भनाइ थियो। उनले घुमाउरो रुपमा बालेनसँग भिडेर बस्ने काम बन्द गर्न एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरे।

शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा महानगरकै उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव समेत दिए।

उनले भने, ‘काठमाडौँको मेयरसँग कुनै कुरामा भिड्नुप¥यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि। त्यही तहमा भएका पार्टीका प्रतिनिधिलाई भन्दा हुन्छ नि। तिनले त्यहीँ भने भइगयो नि मेयर साप संयमले बोल्नुस्। जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस्। यो तपाईँको शैली बदल्नुस्। तर आफैँ सुरिनु भयो बोल्न। यो प्रकरणमा म केवल यति मात्रै भन्न चाहन्छु, संघ र स्थानीय तहबिचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ। न्युरोडमा नागरिकका सुविधाका लागि सडक पेटी बढाउन जरुरी थियो। बालेनले जे गरेका थिए ठिक गरेका थिए। उनलाई त्यहाँ काम गर्न दिइनु पर्छ। संघले यसमा कुनैपनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ म यो आग्रह गर्न चाहन्छु।’

त्यस्तै कांग्रेसका अर्का सांसद अर्जुननरसिंह केसीले पनि संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच तत्काल समन्वय गर्न माग गरेका थिए।

शून्य समयमा बोल्दै सांसद केसीले संघ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सङ्घर्षमा होइन समन्वयमा र सहअस्तित्वमा आधारित भएको बताए। उनले यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको भन्दै स्थानीय तहसँग संघ सरकारले गाईजात्रा देखाउनु राम्रो नभएको बताए। संविधानको अनुसूची ५, ६, ७, ८, ९ ले कार्याधिकार स्पष्टरुपमा तोकेको भन्दै संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच सडक भत्काउने बनाउने कुरालाई लिएर देखिएको गाईजात्राले सरकारमाथि गम्भीर प्रश्न उठेको उनको भनाइ थियो।

उनले भने,‘संघ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सङ्घर्षमा होइन समन्वयमा र उत्तेजनामा होइन सहअस्तित्वमा आधारित छ। यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको छ। संविधानको अनुसूची ५,६,७,८,९ ले कार्य अधिकार स्पष्ट रुपमा तोकेको छ। हाल संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकार माथि गम्भीर प्रश्न उठेको छ। तत्काल समन्वय होस्। सरकारीर पक्षले अहङ्कार,हुलउदत्त र झगडिया मानसिकता नबोकोस्।’ 

प्रकाशित: २४ जेष्ठ २०८१ १९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App