२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

गर्मीमा अघोषित लोडसेडिङले हैरानी

नेपालगन्जमा पछिल्ला दुई दिनयता दैनिक तापक्रम बढ्दो छ। ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको गर्मी समयमा अघोषित लोडसेडिङ हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ।

प्राविधिक समस्या र ट्रान्सफर्मर मर्मतका नाममा पटक-पटक विद्युत् लाइन काटिँदा हैरानी खेप्नु परेको यहाँका स्थानीयको भनाइ छ।

गर्मी ४३ डिग्री भए पनि अघोषित लोडसेडिङ हुँदा ४७/४८ डिग्री सेल्सियससम्मको गर्मी महसुस हुने नेपालगन्ज उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल अन्सारीले बताए। 

‘अत्यधिक गर्मी छ। यस्तो अवस्थामा यहाँ एक मिनेट बत्ती जाँदा मान्छेलाई गाह्रो भइरहेको छ,’ उनले भने, ‘यस्तो समयमा विभिन्न बहानामा विद्युत् वितरणमा अनियमित गर्न पाइँदैन।’

उपभोक्ताले महसुल तिरेर पनि विद्युत् सेवा पाउन नसकेको भन्दै उनले भने, ‘हामीले पैसा तिरेका छौं। पैसा तिरेपछि हामीले नियमित विद्युत् पाउनु पर्छ। त्यो हाम्रो अधिकार हो। विद्युत् प्राधिकरणले पनि नियमित विद्युत् दिनुपर्छ। उसको त्यो दायित्व हो। हामीले पैसा तिरेर विद्युत् जडान गरेका छौं। जुनसुकै बहानामा यसरी लाइन काट्न पाइँदैन। हामीलाई नियमित बत्ती चाहिन्छ।’

साँझको समयमा विद्युत् अझ बढी जाने गरेको छ। विद्युत् आए पनि कम भोल्टेज आउँदा राम्रोसँग पंखा चल्न समस्या भएको नेपालगन्ज–१८ का स्थानीय केपी बञ्जाराले बताए।

‘दैनिक कयौंपटक आउने जाने भइरहन्छ,’ उनी भन्छन्, ‘विद्युत् कम भोल्टेज आउँदा राम्रोसँग पंखा समेत चल्दैन।’

विद्युत् वितरण प्रणालीमा लापरबाही हुँदा सास्ती खेप्नु परेको उनको भनाइ छ। त्यस्तै नागरिक समाजका अगुवा कृष्ण श्रेष्ठले गर्मी समयमा विद्युत् समस्या हुन्छ भन्ने पूर्व जानकारी हुँदाहुँदै त्यसको पूर्व तयारी नगर्नुको सजाय भोगिरहेको बताए।

‘अहिले नेपालगन्जको प्रमुख समस्या नै झ्यापझ्याप बत्ती जाने आउने हो,’ उनी भन्छन्, ‘यो समस्या समाधान हुनुपर्छ।’ नेपालगन्जमा विद्युत् अनियमित हुनुको कारण लोडसेडिङ नभई सेटिङ भएको आरोप लगाए। यसमा स्थानीय सरकारले पनि चासो दिनुपर्ने उनले बताए।

अनियमित भइरहेको यहाँको विद्युत्लाई नियमित गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको भनाइ छ। ‘नेपालको सबैभन्दा बढी विद्युत् समस्या नेपालगन्जमा छ,’ उनले भने, ‘यस्तो गर्मीमा जनतालाई सास्ती छ।’

उनले अत्यावश्यक अवस्थामा विद्युत् लाइन मर्मत गर्नुपर्ने र सामान्य अवस्थामा मर्मतका नाममा विद्युत् कटौती नगर्न विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई निर्देशनसमेत दिए।

नेपालगन्जमा विद्युत् समस्या नियतवश नभई प्राविधिक समस्याका कारण विद्युत् नियमित हुन नसकेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए।

गर्मी समयमा मध्यनजर गरेर यसभन्दा अगाडि नै ट्रान्सफर्मर मर्मत नगरेको भए नेपालगन्जमा योभन्दा बढी विद्युत् समस्या हुन सक्थ्यो भन्दै उनले भने, ‘हामीले समयमै विद्युत् लाइन मर्मत गरिरहेका थियौ। त्यतिबेला मर्मत नगरी बसेको भए अहिलेको अवस्थाभन्दा जटिल स्थिति हुन्थ्यो।’ लोभरलोडका कारण पनि विद्युत् अनियमित हुने उनको भनाइ छ।

साथै उनले पश्चिम नेपालमा करिब दुई सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजना नहुँदासम्म यहाँ यस्तै समस्या रही रहने बताए।

लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसी (नमुना) ले उक्त प्रस्तावलाई गम्भीर रूपमा लिएर कार्य गर्ने बताइन्। ‘पश्चिममा जलविद्युत् आयोजनाका लागि सबै राजनीतिक दल मिलेर प्रयास गर्छैँ’ उनले भनिन्, ‘सरकार प्रमुखको हैसियतले यसको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्छ।’

कोहलपुर वितरण केन्द्रका प्रमुख माधव महरले सिस्टम अनियमित हुँदा नै विद्युत् वितरण प्रणालीमा समस्या भएको बताए।

नेपालगन्जमा विद्युत् नियमित गर्न यहाँका उद्योग व्यवसायी र नागरिक समाजका अगुवाहरुले ध्यानाकर्षण गराइरहेका छन्।

यसैबीच बाँके निर्वाचन क्षेत्र नम्बर-२ का सांसद डा. धवलशमशेर राणाले नेपाल विद्युत् प्राधिकरणका महानिर्देशन कुलमान घिसिङलाई नेपालगन्जको समस्याका विषयमा जानकारी गराएका छन्।

बढ्दो तापक्रमका कारण केही दिनदेखि नेपालगन्जमा प्रभावित जनजीविका र डुडुवा गाउँपालिकाका केही गाउँमा विद्युत् प्रसारण लाइन अहिलेसम्म नपुगेको विषय जानकारी गराएको र दुवै विषय समस्या तत्काल समाधानका लागि छलफल भएको उनले बताए।

प्रकाशित: १७ जेष्ठ २०८१ २१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App