२३ असार २०८१ आइतबार
image/svg+xml
अन्य

झरीकी चरी

भक्तपुरको शंखधर पार्कमा बकुल्ला। तस्बिर: उपेन्द्र लामिछाने

नेपाल भारत चीन तथा रुस सबैतिरको सिमामा यति बेला तनाव छ। यहाँका सिमामा आवतजावतमा निकै कडाइ छ। तर चरालाई कुनै सिमाले रोक्न सक्दैन। उनीहरूले त  घाँटीको गहिराइमा भएका ती तनावभन्दा निकै माथि उडेर निर्धक्क सीमा पार गरिसके। अहिले उनीहरू नेपाल, भारत, चीन, पाकिस्तान लगायतका दूरदराजका गाउँमा रहेका वृृक्षमा नयाँ पिँढीलाई हुर्काउँदै छन्।  

तिनै चराको एक झुण्डले भक्तपुरको शंखधर पार्कमा रहेका रूखका हाँगामा बच्चा कोरलिसकेका छन्। थिमीका ५३ वर्षे पशुपति प्रजापति फुर्सदमा पार्कमा बसेर यिनै बकुल्लाको उडान नियाल्छन्। खेतीको काम सकेर तिनै प्रवासी चराको चिरविराहट सुन्छन्। बिहान चरासंगै खेतबारी गर्ने उनी साँझ चरासंगै घर फर्कन्छन्।  

गर्मी लागेसँगै जेठ महिनादेखि आउने आप्रवासी चरासँग शंखधर चोक वरपर बस्ने अन्य सर्वसाधरणसंगै उनको एक प्रकारको मधुर सम्बन्घ  गाँसिएको छ।  ‘हामीलाई त आफ्नै घरमा आएका पाहुना जस्तो लाग्छ,’ उनले भने, ‘जेठमा आउँछन बच्चा कोरल्छन् हुर्काउँछन् अनि आफ्नो ठाउँमा फर्कन्छन्।’  

पाँच वर्षदेखि यसरी यो ठाउँमा चरा आउन थालेको उनले सुनाए। ‘कहाँबाट आए थाहा छैन’, उनले भने, ‘जाडो छल्न विदेशबाट आएका भन्ने सुनेको छु।’  

जुनसुकै देश र सीमाबाट आए पनि यी चरासंग एक प्रकारको सम्बन्ध बसेको उनले सुनाए। ‘रोपाईंमा जाँदा खेतमा भेटिन्छन,’ उनले भने, ‘घर आउँदा रूखमा।’ उनी यिनलाई झरीका पाहुना पनि भन्छन्।  

‘कालो बादल लागेको आकाशमा सेता चरा उडेको दृश्य निकै रमाइलो लाग्छ,’ उनी भन्छन्, ‘यिनीहरूले केही पनि बिगार्देनन्।’

चरासंगको गहिरो नाताको कारण कसैले गुलेली प्रयोग गरेर मार्ने आँट पनि गर्न नसकेको उनले बताए। ‘बाहिरबाट आएर कसैले गुलेली चलाए गाली गर्छो,’ उनले भने, ‘सुरक्षित भएरै होला यहाँ निर्धक्क बसेका।’ सुरक्षा देखेरै यहाँ यी चरा निर्धक्क बस्न थालेको उनको बुझाइ छ।  

हिंसाका घटना नसेलाउँदा सरहदमा अझै कडाइ हुन सक्छ। फेरि पनि चरालाई केही फरक  पर्देन। बुद्धको देशमा नयाँ चराले जन्म लिइसकेका छन्। नयाँ पिंढीका चरासहित बकुल्लाको त्यो हूल  सुरक्षाको गहिरो अनुभूति लिएर फेरि पनि हिमालको उचाइ पार गर्दे आफ्नो ठाउँमा फर्कनेछन्।

प्रकाशित: २० असार २०७७ १०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App