२३ असार २०८१ आइतबार
image/svg+xml
अन्य

पद्मसंभवले र शिवपार्वतीले मन पराएको गाउँतिर...

एउटा महातीर्थस्थल । अमूल्य चीज लुकेको ठाउँ । आमा झ्योमो याङ्ग्री(देवी)ले रक्षा गरेको क्षेत्र । प्रकृतिको अनुपम सौन्दर्यले सिँगारिएको । हिमाल, पहाड र बेसीले सजिएको । विविध संस्कृति र भेषभुषा अङ्गालेको । गुम्बैगुम्बा र चैत्यले भरिएको । आठौँ शताब्दीमै पद्मसंभव र ऋषी चोग्यालले ध्यान गरेको ठाउँ हो– हेलम्बु । 

हेलम्बुलाई ‘ह्योल्मो’ भनिन्छ तिब्बती भाषामा । यसैलाई अर्को शब्दमा भनिन्छ ‘घाङ्ीरावा’ । ‘घाङ’को अर्थ हिउँ र ‘रावा’को अर्थ बेरिएको । हिउँले बेरिएको अर्थात हिमच्छादित क्षेत्र । यस्तो ठाउँमा बसेर साधना गर्दा साधकले सिद्धि प्राप्त गर्न सक्छन् भन्ने भगवान बुद्धको अवतम् सतकसुत्रमा उल्लेख छ । 

कालो विद्या सिकेर जादुगरका रुपमा सबैले चिनेपछि पश्चाताप भएर सद्गुरुको खोजिमा मार्पासम्म पुगेका मिलारेपाले शिक्षा पाइसकेपछि साधनाका लागि हेलम्बु जाने सल्लाह पाए । त्यसपछि उनी मातृभूमि क्याङाचा (केरुङ पारिपट्टिको भूमि) छाडेर हेलम्बु आई ताक्पुक सिँघे जोङ गुफामा बसेर ध्यान गरेका थिए रे । एघारौँ शताब्दीको कुरा हो यो ।

फ्ल्यासब्याकमा हेलम्बु
आमा याङ्ग्रीको काखैमा

चौँरी त चर्ने पाखैमा

झन् हे-यो हेरौँ, हेरौँ है लाग्ने

मैच्याङको गाजलु आँखैमा.........’
सन् २००१ मा पदयात्रा गरेको थिएँ हेलम्बुमा । काठमाडौँबाट नजिक भएर पनि फेरि जाने मेसो मिलिरहेको थिएन । मलाई त्यही यात्रामा फर्काइरहेको थियो, गायक फुर्पा स्याङ्पाको यो सेलोले । चलचित्रका दृश्यझैँ आँखा अगाडि आइरहेका थिए, पदयात्राका क्षणहरू । कस्तो भयो होला त मैले उन्नाईस वर्षअघि  देखेको हेलम्बु ? साँच्चै तानिरहेको थियो मलाई हेलम्बुले । सुनेको थिएँ– अचेल सबै ठाउँमा बाइकमै पुग्छ सकिन्छ । मौका मिल्नेबित्तिकै यात्रा गरिहाल्ने सोचमा थिएँ म । 

०००० 
कोभिड–१९ माथि चीनले विजय हाँसिल गरिसकेको भए पनि यसले अमेरिका लगायत एसियाका देशहरू र युरोपभर तिब्रगतिमा साम्राज्य बिस्तार गर्दै थियो । विश्वभर फैँलदो संक्रमणले वसन्त ऋतुमा नेपाल आउन लागेका सबै विदेशी पर्यटकले भ्रमण रद्द गरिसकेका थिए । विदेशीको आगमन लगभग सून्यतिर झर्दै थियो । पर्यटक नै नभएपछि मणी हराएको सर्पजस्तै भएका थिए समस्त पर्यटन व्यवसायी । आफू पनि परियो उही ।

हेलम्बुलाई ‘ह्योल्मो’ भनिन्छ तिब्बती भाषामा । हिउँले बेरिएको यस्तो ठाउँमा ठाउँमा बसेर साधना गर्दा सिद्धि प्राप्त हुने बौद्धग्रन्थमा उल्लेख छ । 

यसबाट संक्रमित भएका कोही पनि भेटिइसकेको थिएन नेपालमा । तैपनि त्रसित थियौँ हामी । सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को कार्यक्रमलाई पहिले नै रद्द गरिसकेको थियो । ०७६ चैत ५ गतेसम्मका लागि मात्र चल्दै थिए विद्यालय । राजधानी भित्रिनेहरू भित्रँदै थिए र बाहिरिनेहरू बाहिरिँदै । मान्छेहरूको ज्यान जोगाउने एउटा मेलो थियो त्यो ! 

अर्थ थिएन अफिस जानुको । दिनभरि अफिसमा बसेर फर्कनुबाहेक काम थिएन । वास्तवमा चैत १ गतेदेखि नै एकखालको अघोषित  ‘होम क्वारेन्टाइन’मा बसेजस्तो महसुस भइसकेको थियो । कोभिड–१९ सित लड्ने कायदा भनेको घरमा बसेर लुक्नु नै हो । सङ्क्रमित देखापर्न थाल्यो भने त क्वारेन्टाइनमा बस्नुको विकल्प छैन भन्ने थाहा छ । तथापि यो स्थिति आएमा कसरी दिन बिताउने होला भन्ने प्रश्न मात्र उठिरहन्थ्यो मनमा । टाउको नै भारी बनाइरहेको थियो यही प्रश्नले । 

जम्जमाइरहेको थिएँ म कोरोनाको कहरले । सोचेँ– सरकारले आधिकारिक रूपमा लकडाउन गर्नुअघि नै कुनै छोटो दूरीको यात्रा गरेर समयको सदुपयोग किन नगर्ने ! र, सकिन्छ भने त्यो यात्रालाई  शब्दचित्रमा किन नउतार्ने !

यात्रा त गर्नेे तर कहाँ ? सम्झेँ– आमा याङ्ग्रीको काख अर्थात् उही हेलम्बु । 

“जाने हो त हेलम्बु ?” मैले प्रस्ताव राखेँ माधव घिमिरे ‘अटल’लाई ।

“कहिले ?”

“चैत पाँच गते ।”

“फर्कने चाहिँ ?”

“भोलिपल्ट ।” 

“जाने भए जाउँ न त ।” स्वीकारे उनले ।

यही प्रस्ताव राखेँ जय भण्डारीलाई ।

भर्खरैमात्र अन्नपूर्णा सर्किटको पदयात्रा सकेर आएका उनी । बिनासित्तिमा किन जुत्ताको तलुवा खियाउन मनलाग्दो हो उनलाई ! 

उनी अन्कनाउन थालेपछि भनें– हिँड्ने होइन, बाइकमा जाने हो ।

त्यसपछि मात्र सहमति जनाए उनले ।

उही प्रस्ताव कवि आरएम् डङ्गोललाई पनि राखेको थिएँ तर कार्य व्यस्तताको कारणले सहभागी हुन सकेनन् उनी ।

पाँच गते बिहान मात्र नाट्यकर्मी पुरु लम्साललाई यात्राको बारेमा बताएँ । राजी भए उनी पनि । 

उनकै लहैलहैमा लागेर आफू पनि रक्सी चाख्दै उकालो लागेको कहिल्यै बिर्सिन्नँ । जातैले आतिथ्यकारी तमाङहरू ! पैसा लिन मान्दैनथे उनीहरू । भन्थे–यति जाबोको के पैसा लिनु ! भैगो ।

००००
यसोउसो गर्दागर्दै काठमाडौँबाट हिँड्ने बेलामा बाह्र त बजि’गो । मोटर साइकल दुई, यात्रु चार । लाग्यौँ काठमाडौँको किनारतर्फ । 

के यस्तो अवस्थामा यात्रा गर्नु सही थियो त ? केही सोचेनौँ हामीले । मूडी भएरै निस्केका थियौँ हामी । 

सुन्दरीजलको बराह चोकबाट उँभो लागेपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र प्रवेश ग-यौँ । विसं २०५८ सालमा स्थापना गरिएको राजधानी नजिकको राष्ट्रिय निकुञ्ज ।

गुडेका छन् एकाध सवारीका साधन । धुँवा छैन, शहरमा जस्तो । कच्ची सडक भए पनि उडेको छैन ज्यास्ती धुलो । शान्त र शितल छ निकुञ्जको छायाँ । जङ्गलभित्रको सडकमार्गमा गुड्दै गर्दा वसन्तको हरियाली सरिरहेको आभास हुन्छ मनभित्र । चराको चिरविरलाई निस्तेज पारेको छ मोटरसाइकलले । यातायातका साधनहरूको आवाजले कति विघ्न पार्दो हो तिनलाई ! मेरो मनले भनिरहेको थियो– राष्ट्रिय निकुञ्जभित्रको सडक संरचनाले वन्यजन्तुहरूको हित गर्दैन । पदयात्रा गरेको भए सायद देख्न पाइन्थ्यो होला रुखको हाँगामा लुकेर मान्छे नियालि बस्ने हाब्रे र कालो भालुका बच्चाहरू । 

पच्चीस मिनेटमै पुगियो, उबेला सुन्दरीजलबाट हिँडेर जाँदा झण्डै दुई घण्टा लागेको मूलखर्क । पदयात्रा गर्दा लन्च गर्ने ठाउँ हो यो । चारजनाको मलेसियन परिवारलाई क्याम्पिङ ट्रेक गराएको थिएँ, चैत महिनाकै अन्तिम हप्तातिर । 

से लिम र जेनी वाङ– छोरा–बुहारी, स्यू लिङ छोरी र आमा– जोयस लिम । जोयसको त्यो सानो र सुखी परिवार । पिताको मृत्यु भएको वर्ष दिनपछि छोरा–बुहारी र छोरी मिलेर आमालाई पदयात्रा गराउन ल्याएका थिए नेपालमा । सालिन थियो त्यो परिवार । आफ्नै परिवारका सदस्यहरू लिएर घुमेजस्तै महसुस भएको थियो, उनीहरूलाई पदयात्रा गराउँदा ।  

हामी नेपाली मात्र तेह्रजना थियौँ, उनीहरूका सहयोगीका रूपमा । कुकसहित किचनमा काम गर्ने चारजना, भरिया सातजना, शेर्पा(पाल लगाउने काम गर्ने) एकजना र म । सात दिनको लागि आवस्यक खाद्यान्न र बन्दोबस्तीका सामान लिएर उकालो लागेका थियौँ सुन्दरीजलबाट । उतिबेला लजबेस ट्रेकभन्दा क्याम्पिङ ट्रेक नै बढी चल्थ्यो हेलम्बुमा । लजहरू खुलेको भए पनि रिमोट र आइसोलेटेडकै रूपमा चिनिन्थ्यो हेलम्बु ।

पदयात्रा तालिकाका गन्तव्यहरू थिए– चिसापनी, कुटुम्साङ, ठाडेपाटी, तार्केघ्याङ, सेमान्थाङ र मेलम्चीपुल बजार । त्यो बेला ट्रेकिङ गर्दै मुलखर्कको सिरानतिर पुग्दा बाटो छेउछाउका घरमा रक्सी पारीरहेका थिए तमाङ्नी दिदीहरू । 

“रक्सी चाख्न पाइन्छ कि दिदी !” सोधनी हुन्थ्यो देण्डी शेर्पाको । मतवाली न परे ! हिच्किचाउँदैन थिए उनी । 

उनकै लहैलहैमा लागेर आफू पनि रक्सी चाख्दै उकालो लागेको कहिल्यै बिर्सिन्नँ । जातैले आतिथ्यकारी तमाङहरू ! पैसा लिन मान्दैनथे उनीहरू  । भन्थे–यति जाबोको के पैसा लिनु ! भैगो ।

००००
उकालोमा गुड्दा तातिएको इन्जिन सेलाउन नपाउँदँै लाग्यौँ चिसापनीतर्फ । पन्छीका प्वाँखझैँ निर्वाध फिरफिराइरहेका छन्– खस्रु, झिँगाने, बाँझ र लिसोका पातहरू हाम्रै बाइकको आवाजमा रमाउँदै । फूलहरूले झरझराउँदो जवानी फिँजाइरहेका छन् सडक छेउछाउ– कतै सुकिला पैयुँ त कतै सेता र राता लालीगुराँस । मात चढ्दै छ मलाई हरियाली र सौरभित फूलहरूको । 

चराप्रेमी मान्छे चरा नदेखेपछि किन रोकिन्थे र ! तिब्र गतिमा कुदाइरहेका थिए जयजीले बाइक । निकै पछि परिसकेको थिएँ म । प्राकृतिक दृश्यपान गराउनु थियो मैले माधवजीलाई । मेरो बाइकको पछिल्लो सिटमा सवार उनी धमाधम तस्बिर लिँदै थिए । केही समय बिश्राम पाएका छन् उनले कोरोनाको कारण । सायद आनन्दानुभूति गर्दै थिए उनी प्रकृतिको माँझमा आफूलाई पाउँदा । पेशाले शिक्षक तर राम्रो कविको पहिचान बनाएका छन् उनले । लागिरहेको थियो– सायद कविता बुन्दै होलान् उनी त्यतिबेला ।

मैले बाइक रोकेरै नगरकोट जाने बाटो, मनिचर र झुलेका बस्तीहरू एकएक गरी चिनाएँ उनलाई । “चौँसठ्ठी जिबीको मेमोरी कार्ड किनेको छु । भर्नु त प¥यो नि ! आउनुस्, खिचौँ दुईचार थान तस्बिर !” उत्साहित भए माधवजी । 

हो, तस्बिर त खिच्नैपर्छ । उतिबेला आफूसँग क्यामरा नभएर एउटै तस्बिर खिच्न पाएको थिइनँ । धुमिल बन्दै गइरहेका छन् मस्तिष्कमा अडिएका यादहरू । फेरि ताजा गराउनु छ मैले पुराना सम्झनाहरूलाई । मनोलाप गर्दै भ्याटभ्याटेको कान मज्जैले बटारैँ मैले जयजी भेट्न । उन्मादी भावना बोकेका फुक्कापाल एकजोडी मन हुँइकिन थाल्यो कच्ची सडकमा ।

मूलखर्कबाट कस्सिएर हिँड्दा साढे तीन घण्टा लाग्ने बाटो हो तर महाभारत पर्वत शृङ्लाको एउटा सिङ्गै पहाडलाई फेरो मारेर फर्कंदा पनि चालिस मिनेट मात्रै लाग्यो चिसापानी पुग्न । कति छिटो ! यही त हो फाइदा गुड्नुको । गाउँबस्ती र जङ्गल पार गर्दै  हिँड्दाको जस्तो रमाइलोचाहिँ नहुने । पदयत्रा भनेको पदयात्रा नै हो ।

सुन्दरीजलबाट हिँडेर आउँदा उकालो, उकालो र उकालो मात्र हो चिसापनी(२,१३४ मि.)सम्म । कम मिठो निद्रा पर्दैन यो साढे पाँच घण्टाको बाटो हिँडेर छिचोल्दा । जीवनमा कहिलेकाहीँ थकाइ पनि मिठो हुन्छ ।

क्षितिजमा टाँगिएका लाङटाङ, दोर्जेलाक्पा, गोन्चेम्पो र  गौरीशंकर लगातका सुन्दर चित्रहरूमा पुगेथे मेरा आँखा । हेर्नकै लागि सबैभन्दा पहिले हिमाल नै खोज्दोरहेछ आँखाले । सृष्टिकर्ताको सुन्दर सिर्जनाले को नै नलोभिएला र !

नुवाकोट र सिन्धुपाल्चोकको साँधमा थियौँ हामी । सडकको एउटा किनार नुवाकोट र अर्को किनार सिन्धुपाल्चोकमा पर्छ । दुई जिल्लाको भूगोललाई छुट्टयाइदिएको छ सडकले । 

जयजी र पुरुजीको जोडी चिसापनी पुगेर धमाधम नियाल्दै थिए, ०७२ को महाभूकम्पले उजाडिएका बस्ती र खण्डहर बनेका उतिबेलाका होटलका संरचनाहरू । भूकम्पको धक्काले थचक्क बसेको रहेछ होटल मिलन । झिक्न मिल्ने जति झ्याल, ढोका र खापा झिकिएका छन् । उही हालत थियो होटल माउन्टेनको पनि । पखेटा काटिएका पञ्छीजस्तै लाग्थे ती । होटल दोर्जेलाक्पा र साङ्बालाको त जगमात्रै देखिन्थ्यो । होटलको स्वरूपलाई खुम्च्याएर उही नाममा होमस्टेजस्तै खालको संरचना निर्माण गरेका रहेछन् दोर्जे लामा र सन्तु लामा दुबैले । भूकम्पका रेखाहरू मेटिएका छैनन् मान्छेका अनुहारमा । चिसापानी अझै उठ्न नसकेको प्रतीत हुन्छ, ती दृश्यहरू देख्दा । नेपालको पहाड र पर्यटनलाई जोड्ने ती सेतुको हालत देख्दा बेसरी कुडियो मन । पहाड नभए पर्यटन हुँदैन । पर्यटक नभए पहाड मात्र हुनुको पनि के अर्थ भो र पर्यटनका लागि !

चिसापानीबाटै देखिन्छन् डाँडाभरिभरि बिछ्याइएका सडक सञ्जाल । साँच्चिकै हेलम्बु त सुगम पो भइसकेछ । सन् २०१४ मा नगरकोटबाट चिसापानी पदयात्रा गर्दा त्यति धेरै सडक संरचना देखिन्नथ्यो । 

योजनामा चिसापानीमै बस्ने भए पनि पर्याप्त समय भएकोले कुटुम्साङ जाने सल्लाह भयो हाम्रो । सडकले पदमार्गलाई बिस्थापित गरे पनि पदयात्रा रोकिएको छैन हेलम्बुमा । सडक सञ्जालको बीचमा परम्परागत मार्र्ग कोट्याउँदै पर्यटकहरूलाई हेलम्बु क्षेत्रको प्रत्येक गन्तव्यमा पु¥याउँछन् हाम्रा अनुभवी पथप्रदर्शकहरू । सन् २००१ मा आफैँ हिँडेको त्यही परम्परागत मार्र्ग खोज्दै थिएँ म । सडक निर्माण गरे पनि परम्परागत मार्र्गलाई नछल्नु किमार्थ सही थिएन भन्ने लागिरहेको थियो मनमा । भारी बोकेर परिवार पाल्ने मजदुर र ठाउँठाउँका चिया पसलेहरूको कन्तबिजोग नै बनाइदिएको छ सडकले । 

पाटीभञ्याङको ठूलो थकनी माविको प्राङ्गणमा पुगेर रोकियौँ  । पहिला त प्रावि मात्र थियो । सात वर्ष भएछ मावि भएको । राम्रै भो । आफ्नै गाउँमा बिद्यालयस्तरको शिक्षा लिन पाएका छन् जनताका छोराछोरीले । 

“हल्का नास्ता गर्ने हो कि ?” सोधनी भयो माधवजीबाट । 

तीन बजिसकेको थियो । कुँइकिन थालिसकेको थियोे पेट । नास्ता गर्ने विषयमा असहमति हुने त कुरै भएन । छि¥यौँ एउटा भट्टीमा । अर्डर ग¥यौँ चाउचाउ र कालो चियाको ।

“दिदी तपाइँको नाम के हो ?” पुरुजीको प्रश्न साहुनीलाई ।

“उमा श्रेष्ठ ।”

“नाक छेड्नु भएको छ नि त !” 

“मेरो माइतीचाहिँ  थपलिया ।”

“नेवारको कुलमा परेर पो मिठो बनाउन जान्नु भएको रहेछ” ठट्टाभावमा प्रस्तुत भएँ म । कालो चियामा मरिचको फ्लेवर । अपूर्व संयोजन थियो चिनी, चियापति र मरीचको । साँच्चिकै प्रशंसनीय थियो उनले बनाएको चिया । 

आलु, कोदो र मकैका बाली लाग्छ यहाँ । भारापर्म गर्ने युवाहरू भने विदेशमा पसिना बगाउन विवश छन् । जिम्मेवारी महिलाकै काँधमा थपिएको छ । खेतिपाती, घाँसदाउरा, वस्तुभाउ र केटाकेटीको स्याहारसुसारमै दिन बित्छ उनीहरूको । यही त हो पहाडी जीवन ! गुजाराको अर्को बाटो थियो, उनको त्यो चिया पसल ।

ठकुने भञ्याङ, चिप्लिङ, गुल भञ्याङ हुँदै कुटुम्साङ जान्छ बायाँतर्फ लाग्दा । पिप्ले, धौलेडाँडा, तालमाराङ र मेलम्चीपुल बजार पुग्छ दायाँतर्फ मोडिँदा । 

“कति समय लाग्छ कुटुम्साङ पुग्न ?” साउनीलाई सोधेँ ।

“डेढ घण्टा ।”

“कुटुम्साङबाट आजै तार्केघ्याङ पुग्न सकिन्छ ?”

“किन नसक्नु नि !”

ठानेँ–हिँड्दा साढे तीन घण्टा लाग्ने बाटोलाई डेढ घण्टा लाग्नु ठिकै हो । मोडियौँ हामी कुटुम्साङतर्फ । भ्याएसम्म तार्केघ्याङ पुग्ने बिचार पो आयो । जे त होला ! स्टेयरिङ आफ्नै हातमा त भएपछि के भो र ! सुरिएँ म ।

उकालो बाटो, उबडखाबड सडक । पचासी किलोको म आफैँ र पचहत्तर किलोको माधवजी । इन्डियन होन्डा बाइकलाई अब के चाहियो र ! एक नम्बर गियरमा पनि धौधौ परि‘गो । धन्न तानिरहेको इन्जिनले । शनैःशनैः चिसिँदै थियो हाम्रो ज्यान उकालिँदै गर्दा र तातिँदै थियो होन्डाको इन्जिन । कष्टकर हुँदै थियो बाइक हाँक्न मलाई । त्यसैले पो गाएका रहेछन् सुन्दर श्रेष्ठ र तिर्थ कुमारीहरूले यस्तो गीत–

उकालीमा पनि हजुर मोटर जाँदोरै’छ

ड्राइभर दाइलाई सासना

माया सलल जाउँ हिँड रेलैमा ....

गाएरै सुनाइ दिएँ मैले माधवजीलाई । 

“सलल त हुन्थ्यो होला नि रेल भइदिएको भए ! अझ सरर हुन्थ्यो केवलकार भए त ! सम्भार गर्न नसक्ने हो भने सडक किन खन्नु कुन्नी ! कम्तिमा खाल्डाखुल्डी त पुर्नू नि ।” असन्तुष्टि पोखे उनले । 

“कुटुम्साङ पुग्न कति समय लाग्ला ?” चिप्लिङ पुगेपछि एक स्थानीयलाई सोध्यौँ  ।

उत्तर आयो– “डेढ घण्टा ।” पाटीभञ्ज्याङबाट डेढ घण्टा लाग्छ भनेको । आधा घण्टा गुडिसक्दा पनि फेरि डेढ घण्टा ? लाग्यो– बाटोको अवस्था अनुसार उनको कुरा बेठिक थिएन । ट्याङ्की खोलेर हेरँे, पेट्रोल त निकै तल पुगिसकेको रहेछ । अस्तिको दिन मात्र ट्याङ्की भरेको थिएँ, उकालोले स्वाट्टै खाइदिएछ । 

परेन फसाद ! 

कुटुम्साङबाट पनि बाटो लामै छ । बीचमा इन्धन भर्ने ठाउँ कतै छैन । मेलम्ची बजार नपुगी धरै छैन । अहिलेको अवस्थामा त्यहाँ पनि पाउने हो कि नाइँ । बीच बाटोमा ट्याङ्की रित्तियो भने त बित्याँसै पर्छ ।  

“के गर्ने त जयजी ?” सुझाव मागेँ मैले ।

“बरु फर्केर मेलम्ची बजार जाऔँ । पिप्लेमा पेट्रोल किन्न पाइन्छ रे भन्ने सुनेको थिएँ । ट्याङ्की भरेर भोलि त्यतैबाट सेर्माथाङहुँदै तार्केघ्याङ जाउँला ।” राम्रो आइडिया फुराए जयजीले । 

हो, बेलैमा बुद्धी नपु¥याए त कुकुरले नपाएको दुःख पाउँछ ज्यानले । फक्यौँ हामी । 

००००
गाह्रो हुदैँ थियो ब्रेकले धान्न त्यो ओरालोमा । बाफ रे ! धन्न तानेको पो रहेछ त इन्जिनले । बाल वयमा भर्खरभर्खर गाडी चलेको बेला सुन्ने गरेको उही गीत याद आइरहेको थियो मलाई–

उकालीमा इन्जिनले तान्दैन

ओरालीमा बिरेकले धान्दैन....

००००
“चिसापानी छाडेर कुटुम्साङतर्फ लागेका थियौँ पदयात्राको दोस्रो दिन । चिप्लिङमै आइपुगेर लन्च तयार गरेका थिए हाम्रो किचन टोलीले । कस्तो संयोग ! आज यही ठाउँमा आइपुगेर फर्कंदै छौ ।” 

उन्नाइस वर्षअघि उही मलेसियन परिवारसँग गरेको पदयात्राको झल्को आइरहेको थियो मेरो मस्तिष्कमा । सम्झना उप्काएँ मैले माधवजी समक्ष र कहेँ मैले ती मधुर स्मृतिलाई ।

यी पहाडका शिरमा ग्रेट ट्रेलको रेखा कोरिएपछिको दृश्य कति सुन्दर होला ! त्यसैले तान्ने छ संसारभरका मान्छेलाई । र, यही रेखामा अडिने छ हेलम्बुको जीवन र नेपालको अर्थतन्त्र ।

गुलभञ्याङको मिठो हावाले निकैबेर भुलाएथ्यो हामीलाई । ठ्याक्कै छः घण्टा लागेको थियो कुटुम्साङ (२,३०० मि.) पुग्न  । हामी सरहै हिँडेकी थिइन् सन्ताउन्न वर्षिया जोयस लिम पनि । कस्तो जोश ! “माइ हजब्यान्ड वाज फन अफ ट्रेकिङ । वि डिड माउन्ट किनाबालु ट्रेक टु इयर्स अगो । हि उड इन्जोय इफ हि वेर विथ अस ।”

बेलाबेलामा सम्झिरहेकी हुन्थिन् उनी दिवंगत पतिलाई । उनी भन्थिन्– “यु नो, माइ सन् आस्ट मि ह्वेर टु ट्राभल दिस टाइम । आइ चुज द बर्थ प्लेस अफ लर्ड बुद्ध । आइ एम फाइन्डिङ पिस आइ सिक ।”

कुटुम्साङ आफैँमा एउटा भ्यू पोइन्ट । अनगिन्ती भ्यू पोइन्ट देखिन्थे कुटुमसाङबाट । नजिकै देखिन्थ्यो ३,७३१ मिटर अग्लो याङ्ग्री पिक । अझै नजिक देखिन्थे चिसापानीबाट देखिएका हिमालहरू । याङ्ग्री पिक उही आमा याङ्ग्री हो जसले समस्त हेलम्बुलाई रक्षा गर्छ भन्ने विश्वास गरिन्छ । आखिर आस्था र  विश्वासको कुरा न हो । 

सानो स्तुपा छ याङ्ग्रीको थाप्लोमा । फर्फराइरहेका थिए स्वेत लुङ्दा र पञ्चरङ्गी लुङ्दरहरू । बिलाइसकेको थियो लोसारताक परेको हिउँका पत्र । क्रमसः नाङ्गिदै थिए शिशिरभरि हिमालझैँ देखिने अनुहारी उच्च पहाडहरू । 

“रानी राजराजेश्वरीलाई आमा याङ्ग्रीमै राखिएको थियो ।” एकजा जानकारले भने । थापा र पाँडेको खेल र राजाको अकर्मण्यता । उतिबेलाको राजनीति नेपालको । इतिहासमा पढेको कुरा स्मरणीय भयो मलाई । विसं १८६० मा काँशीबाट काठमाडौं फर्किए भोगी राजा रणबहादुर शाह । दामोदर पाँडेले असहयोग र अवरोध वापत काटिए । परिस्थितिले कोल्टे फे¥यो । सुवर्णप्रभाको ठाउँमा जेठी महारानी राजेश्वरी कैद हुन पुगिन् । त्यसपछि उनलाई पठाइयो हेलम्बु निर्वासनमा । 

पतिको मृत्युपछि किरिया बस्न हेलम्बुबाट काठमाडौं फर्किएकी राजेश्वरीले जालसाँचीमा परि नौ दिनपछि सतीका रूपमा जिउँदै जल्नु प¥यो । सौताहरू सुवर्णप्रभा र ललित त्रिपुरासुन्दरीको चालमा भिमसेन थापाको तजबिज । रानी राजराजेश्वरी एक्लीको के लाग्नु !

उनी सती गएकी थिइनन्, पठाइएको थियो । आफैँमा प्राकृतिक न्याय विपरितको थियो सतीप्रथा । सती पठाउने नाममा निर्मम हत्यासिवाय थिएन रानीको । मनले पर्गेलिरह्यो नेपालको राजनीति । हुन त त्यो बेलाको भन्दा के नै पृथक छ र यो देशको अहिलेको राजनीति पनि ! लुटनीति, छलनीति, ढाँटनितिको सुर्काउनीमा पल्टिने गर्छ नेपालमा सत्ताको पासो । 

००००
प्रत्येक दिन बेलैमा यात्रा सुरु गथ्यौँ हामी । साह्रै मिहिनती थिए– देण्डी । प्रत्येक दिन बिहान सबेरै उठी सहयोगीका साथ लिएर नास्ता तयार पारिसकेका हुन्थे । समयमै पालहरू पट्टयाउने र भरियाहरूको भारी मिलाइसकेका हुन्थे– शेर्पा(भरत कार्की) । क्याम्पिङ ट्रेकमा टेन्ट व्यवस्थापनको जिम्मेवारी लिनेको पद हो– शेर्पा । टिम वर्क हो क्याम्पिङ टे«क । नत्र एउटाले ढिलो गर्दा सबै ढिलो भइजान्छ । 

सम्झन्छु– एकजना किचन ब्वाइको नाम पनि ‘देण्डी’ नै थियो । उनी थिए– कुुक देण्डीका जेठानका छोरा । सामान्यतया क्यम्पिङ ट्रेकमा किचन टोलीको चाँजो कुकले नै मिलाउने गर्छन् । आफ्नै मान्छेलाई पारेका रहेछन् उनले त्यो ट्रिपमा । कम उमेरका तर कामको लय समातिसकेका । 

प्रत्येक दिन बिहान म नउठ्दै कफी लिएर आउँथे उनी । र भन्थे– “सरदार सा’प उठ्नु ! माइले काफी ल्यायो ।”

आफ्नै मेहेनतको कमाई खानु त राम्रो कुरा भए पनि श्रम बेच्ने बेला भइसकेको थिएन उमेरको हिशाबले । कस्तो बाध्यता ! गरिबको कुलमा जन्मनुको नियति भोगिरहेका थिए उनी । पकाउने भाँडाकुँडा र डाडुपन्यू मस्काइरहेका थिए अक्षर लेख्नुपर्ने उनका कलिला हातले । नाम्लोले थाप्लो कुच्याइरहेका थिए । हुन त प्राण धान्नुजस्तो ठूलो कुरा के नै हुन्छ र मान्छेको जीवनमा ! प्राण थामिए शिक्षा भनेको त तपशीलको कुरा हो । विद्यालयको मुखै नदेखेको भएर होला उनी यसैमा खुसी देखिन्थे । लाग्थ्यो– पढ्न नपरेकोमै खुसी छन् उनी । अलिखित पाठ्यु पुस्तक हो जीवन आफैँमा र जिन्दगी भर चलिरहन्छ सिकाई र भोगाईको क्रम । देण्डीकै बाटोमा हिँडेर जीवनको साधना गर्दै थिए उनी । 

नेपालीहरूले बालश्रम प्रयोग ग¥यो भन्ने अर्थमा युरोपियनले नेपाली कार्पेट बहिष्कार गर्दा उद्योग नै धराशायी भएको थियो । कतै यी परिवारले आपत्ति जनाउने त होइन ? कदाचित् नेपालको पदयात्रामा बालश्रम प्रयोग हुन्छ भन्ने सन्देश लगे भने त भोलि व्यवसायमा नकारात्मक पर्छ । फेरि सोधिहाले भने के जवाफ दिने होला ? मनमा कुरा खेलाएथेँ मैले ।

०००० 
याङ्ग्रीको टाउकोमा आँखा पु-याएर पैतलालाई उकालोमा राखेपछि सुरु हुन्छ अर्कोदिनको यात्रा । सुँघ्दै छौँ, गोब्रेसल्लो र धुपीको मिठो बासना । ओढ्दैै छौँ, राष्ट्रिय फूलको छहारी । पुग्दैछौ उच्चपहाड, पहाडहरूकै श्रेणी चढ्दै । परपर सर्दै छन्, हिजो–अस्ति आफैँले टेकेका पहाडका धारहरू । रोकिन्छौँ युरिनडाँडाको बार्दली पुगेर । आहा ! क्या शानदार दृश्य हिमालहरूका । ती अनमोल सिर्जना प्रकृतिको । 

कतैकतै कुनकाप्चामा अझै थियो पग्लन बाँकी हिउँ । अघिल्लो महिनासम्म आएका भए उनीहरू हिउँमै हिँड्न पाउँथे ।

‘योर कन्ट्री ह्याज माउन्टेन एन्ड स्नो । वि ह्याव नाइदर माउन्टेन नर स्नो । वि ह्याव थ्री सिजन्स, दे आर– हट, हटर एन्ड हटेस्ट ।’ सिसाजस्तै हिउँको डल्लो हातले उचाल्दै से लिमले भने ।

‘योर कन्ट्री इज कनेक्टेड टु द ओसन एन्ड ह्याज डिभेलप्मेन्ट । बट वि नो डिभेलप्मेन्ट’, मैले भने । 

नेपालको प्रकृतिमा उनीहरू लोभिन्छन् । मलेसियाको विकासमा म लोभिन्छु । म उनीहरूको प्रशंसा गर्छु, उनीहरू हाम्रो ।

ट्रेकिङभरिकै कठिन दिन थियो, थारेपाटी पुगेको त्यो दिन । 

उकालो लागेपछि तन्कन थालेका थिए अघिल्ला दुईदिनको हिँडाइले कुँजिइसकेका दुबै गोडा । ३,५०० मिटरमा पुग्न त हामीलाई यति कठिन भइरहेको छ भने कस्तो भयो तेन्जिङ र हिलारीलाई सगरमाथाको चुुचरोमा पुग्न ! सम्झिरहेको थिएँ ती दुई सेलब्रेटीलाई । साँच्चिकै सर्वाधिक गौरवको दिन थियो समस्त मानव जातिका लागि, सगरमाथालाई जितेको त्यो दिन अर्थात् सन् १९५३ मे २९ । त्यसैले त सगौरव गाउँथ्यौँ हामी–

हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

गम्केर बज खैँजडी झम्केर नाच मुजुरा... 

समुद्री सतहबाट आएका ती परिवार हुरुक्क भएका थिए, यात्राभरिकै सबैभन्दा उचाइमा पुग्ने रहरले । हेलम्बुको पहिलो यात्रा भएकोले हुरुक्कै थिएँ म पनि । मेरो जीवनको दोस्रो पदयात्रा थियो त्यो । र, जीवनमै पहिलो पटक चुम्दै थिएँ म ३,५०० मिटरको उचाइ । सगरमाथा आरोहणभन्दा कम थिएन मेरै लागि पनि । 

कहीँ थिएन स्थायी बस्ती । मङ्गेन गोठ पुगेपछि मात्र एउटा पसल भेट्यौँ । त्यो पनि अस्थाई । अँगेनुमा पिँधभरि कालो मोसो कट्कटिएको चियादानी र तख्तामा बिस्कुट, चाउचाउ र चुरोटको पासो थापेर ग्राहकको पर्खाइमा थिए एक अधबैँसे । 

“एक पुरी बिस्कुटको कति हो ?” मेरो प्रश्न ।

“दश रुप्पे ।”

तीन पाकेट ग्लुकोज बिस्कुट किनेँ र बोत्तलमा पानी भरेँ ।

“दाइको घर कहाँ हो ?” 

“कुटुम्साङ ।”

“हरेक दिन कुटुम्साङ आउनेजाने गर्नु हुन्छ ?”

“साथे आयो भने यहीँ बस्छ । नत्र घरै जान्छ । अफ सिजनमा त पसल चल्दैन । घरमै बस्छ । खेतिपाति गर्छ । यस्तै छ दाजु ।” दिनचर्या बताए उनले । 

कहिलेकाहीँ ब्यापार नहुँदा कति दिक्क लाग्दो हो उनलाई । सोच्दै थिएँ म । कुस्त हिँड्यौँ त्यो दिन । पूर्व क्षितिज अँध्यारिँदै थियो थारेपाटीपुग्दा । उकालोले गलाए पनि स्फूर्ति भरिदिएको थियो मलाई मन्द बतासले । गर्वानुभूति हुँदै थियो प्रकृतिको रङ स्पर्श गर्दा । पलपलमा बद्लिरहेझैँ लाग्थ्यो प्रकृतिको ढाँचाकाँचा । 

सामुन्ने उभिएको थियो अजङ्गको कालो पहाड । 

‘ऊ त्यही हो घोप्टेभिर । तल छ घोप्टे । गोसाइकुण्डबाट लौरिबिना ला पारगरेर आउने बाटो त्यही हो ।’ औँलाले देखाउँदै देण्डीले जानकारी गराए मलाई । 

जोमिपूर्ण छ लाङटाङ पदयात्राको यो खण्ड । प्रत्येक पाइलामा चुच्चे ढुङ्गासित मितेरी लगाउनुपर्छ जुत्ताका तलुवाले । केहीगरी चिप्लिहाले फर्कंदैन जीवन । तैपनि साहस गर्छन् एडभेन्चरका सौखिनहरू । नत्र नेपालको ट्रेकिङ व्यावसाय कसरी चल्नु !

अपरिचित मान्छेसँग जम्काभेट हुँदाको बेलाकाझैँ मौन देखिन्थे तमाम लेकाली डाँडाहरू । शालीन देखिए पनि निर्मम छ घोप्टेभिर । सन् १९९२ जुलाई ३१ का दिन सिङ्गै थाइ एअर बस निलेको थियो यो भिमकाय पहरोले । एक सय तेह्रले जीवन गुमाएका थिए त्यो दुर्घटनामा । छरबरी भएका जहाजका अवशेषहरू अझै दखिन्थे कुनाकाप्चामा । बिरक्तिएँ म त्यो त्रासदीपुर्ण दुर्घटना सम्झेर ।

चैतको महिना गर्मिदै थियो काठमाडौँ । किन गर्मिन्थ्यो र त्यो चिसो थारेपाटी काठमाडौँ गर्मिदैमा ! थेगेन हिमालबाट आएको चिसो सिरेटोलाई मेरो एकपत्रे फ्लीस ज्याकेटले । गएँ आगो ताप्न भट्टीमा । 

००००
भेलिपल्ट, गोसाइँकुण्ड जाने बाटो छाडेर दाहिनेतर्फ तेर्सियौँ । अबको यात्रा तार्केघ्याङ अर्थात् हेलम्बु क्षेत्रको । बाटो ओरालै ओरालो, जङ्गलैजङ्गल । क्या अद्भुत आनन्द दिँएथ्यो गुरासेँ जङ्गलले ! आकासलाई लोभ्याइरहेझैँ लाग्थ्यो धर्तीमा फुलेका गुराँसले । आनन्दकै श्वास फेरिरहेका छन् यहाँ उड्ने पन्छी । फुर्रफर्र गरिरहेका छन् पुतलीहरू गुराँसका रङ बोकेर । फूलबिना त्यति धेरै कहाँ रमाउँथे होलान् र ती पुतलीहरू ! रोमाञ्चक थियो पाइलैच्छिेका दृश्यहरू । 

गुराँसेपाखा छिचोलेपछि मेलम्ची खोला त¥यौँ । दशक बितिसकेको थियो, मेलम्चीको पानी काठमाडौँ ल्याउने कुरा चलेको । कामको सुरसार केही देखिएन । हात चोबल्दै मेलम्चीलाई भनेथेँ– छिट्टै आउ है काठमाडौँमा ! मोहित भएथेँ म कञ्चन छङ्छङिएको अमृतमय मेलम्चीको तेजिलो बहावले । 

त्यसपछि आयो मेलम्चीगाउँ । खोलाको नाम र गाउँको नाम एउटै । चारैतरि जङ्गल बीचको आवादी । अगाडि बढ्न मानेको थिएन मेरो पाइला पहराले च्यापेको मेलम्ची गाउँको मोहले ।  

किचन टोलीले लन्च तयार गरुन्जेल गाउँको अवलोकन गराएँ मैले लिम परिवारलाई । यतै बस्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो मनमा । तर आफूले मात्र चाहेर नहुने !

००००
“होप रेस्ट अफ द ट्रेल इज इजियर !” मेलम्चीगाउँ छाड्नुअघि स्यू लिङले भनिन् । पहाड, गोरेटो, गाउँबस्ती, नेपाली जनजीवन, संस्कार पढ्दै थिइन् उनी पहिलो पटक । अघि घुँडा दुखेर ओरालो हिँड्न कठिन हुँदा उनको हात समातको थिएँ मैले । फलामको च्यूरा भइसकेको थियो ती नवयौवनालाई त्यो पदयात्रा ।

“नो मेजर अपहिल ! द ट्रेल इज इजी आफ्टर तार्केघ्याङ बट इट्स अ लङ्ग वाक टु सेर्माथाङ । यु क्यान डु इट  !” उनमा उत्साह भर्ने कोशिस गरेँ मैले । मुस्कुराइन् मात्र स्यू लिङ । 

चुत्रो त पाक्यो फुलबिङको लेकमा

अम्बा त पाक्यो दोभानमा

खेलौँ न माया ओहोरी दोहोरी

तेरो मेरो कलिलो जोवनमा...  

तार्केघ्याङ नपुगुन्जेल गुन्गुनाइरहेथ्यो देण्डी लोकभाकामा । उनी ओखलढुङ्गामा जन्मेका शेर्पा । ट्रेकिङ पेशामा लाग्दा बाहुन–क्षेत्रीको सङ्गतमा परेर यस्ता थुप्रै गीत सिकेका रहेछन् उनले । शेर्पा भएर के गर्नु ! अति चलाक । र, त सबैले भन्थे– शेर्पाहरूको त बाहुन नै हो देण्डी । 

देण्डीले नजानेको र नसक्ने काम के छ र ! ट्रेकिङ गाइड र कुक त उनको पेशा नै हो । क्लाइम्बिङको दक्षता पनि छ उनीसँग ।  चिसा हिमाल चुलीहरूमा पुगेर नेपाली झण्डा फहराउने एउटा तातो मुटु पनि हुन् उनी । 

तार्केघ्याङ अर्को सुन्दर गाउँ । हरिया पहाडको काखैमा बसेको छ ह्योल्मो बस्ती च्यापेर । गाउँको बीचतिर छ सोतो छोर्तेन । प्रत्येक घरमा फहराइरहेका थिए बौद्धमार्गीका निशानी । ह्योल्मो जातिको बसोबास छ माथिल्लो बेल्टमा । भुइँतल्ला (होकाङ) र माथिल्लो तल्ला (साकाङ) भएका एकनासका घरहरू । घरका झ्याल (कार्कुङ) र ढोका (घो)मा आकर्षक बुट्टा खोपिएका । यो खालको नमुनालाई ‘मिर्चा कुम्बा’ भन्दारहेछन् स्थानीय भाषामा । भुइँ तल्लोमा खाना खाने, सुत्ने र पूजापाठ गर्ने ठाउँ छ । काठको भुइँ, काठको भित्ता र काठकै सिलिङ छापिएको । भान्सा कोठाको दराज (छिटि) मा लोभलाग्दो गरी भाँडाकुँडा सजाइएका । खाना खाने होचो टेबुल (सोल्जो) ले कोठाको सौन्र्दय थपेको हुन्छ । 

कति सुन्दर बस्ती ! कति राम्रो रीतिपरम्परा ! मिर्चा कुम्बा उतार्न सम्भव नभए पनि एकएक थान बुट्टेदार सोल्जो र छिटी भइदिए कति सौन्दर्य बढ्ने थियो मेरो घरमा भान्छाको । कुरा खेलाउँदै थिएँ म । 

पाँच सय वर्ष पुरानो दुईतले गुम्बामा छि¥यौँ हामी । तिब्बतबाटै ल्याइएका रे त्यहाँभित्र भएका मूर्ति । दिवंगत् पतिका नाममा बत्ती बालेकि थिइन् जोयस लिमले ।

 

००००
ओरालो झर्दा झर्दै पिप्ले नजिक पुगिसकेका रहेछौँ । संस्मृतिमा मेलम्ची गाउँ पु¥याइरहेछु मैले माधवजीलाई । उनी ध्यान दिएर सुनिरहेका छन् मेरो संस्मरण । 

दुखाइ र थकाइ थप्दै शरीरमा छ एकोहोरो गुडाइले । मेरुदण्ड पिरो भएर दुख्न थालिसकेको छ । यस्तै हो भने भोलि बाइक चलाउन सकिएला त ? मेलम्चीबजार पुगेपछि दुखेको ज्यानलाई इलाज गर्ने सोचाइमा पुगेको छु म । साथ दिने जयजी छँदै छ के भो र !

सडकको छेउमा ठाउँठाउँका नाम लेखिएका साइनबोर्ड ठड्याइएका छन् । पिप्ले पुग्नुअघि ‘देविस्थान’ र ‘साल्मे’ लेखिएको बोर्डलाई मोबाइलमा कैद गरिरहेका छन् माधवजीले । 

थकनी एरियाभित्रैकै सडकमा थियौँ हामी । अर्को साइनबोर्ड आयो । लेखिएको थियो– “वेलकम टु सिनोहाइड्रो कर्पोरेशन लिमिटेड मेलम्ची वाटर प्रोजेक्ट ।” 

अलपत्र परेका उपकरणहरू थिए, सडकको किनारमा । इटालियन कम्पनी सीएमसीले प्रयोग गरेका उपकरण थिए ती । इटालियन कम्पनीले ०७५ मंसिरदेखि छाडेर गएपछि सम्झौता भएको थियो चीनको सिनोहाइड्रोसित । सिएमसीले छाडेको ११ महिनापछि बाँकी काम थालेको थियो सिनोहाइड्रोले । राष्ट्रिय गौरवको आयोजना हो यो । यसो चासो त भइहाल्ने ! त्यसमाथि पनि पानीको प्यासले छटपटाइरहेको काकाकुल काठमाडौँको बासिन्दा न परेँ म !

एकछिन रोकिएर कामदारको पोशाकमा उभिएका कर्माचारीसँग भलाकुसारी गरेँ मैले । 

“अब कति समय धैर्य गर्नुपर्ला काठमाडौँबासीले ?”

“बढीमा तीन महिना । 

कतिकाम बाँकी छ ?

“सुरुङ फिनिसिङ र हेडबक्स निर्माणको जिम्म लिएको हो यो कम्पनीले । काम अन्तिम चरणमा पुगेको छ ।”

निराशामै आधा जीवन बितिसकेको थियो । अलिकति आशा जगायो उनको कुराले । रसिला छन् यहाँका पहाडहरू । भरिला छन् खेलका गह्राहरू । जीवन दिएको दिएको छ सिन्धु खोलाले । मौलाइरहेका छन् तोरी र गहँुका बालीनाली र लुकामारी गरिरहेका छन् घामसित । हाँसिरहेको छ जीवन यहाँ ।

पिप्ले पुगेर पेट्रोल भरेपछि हतारिएका थियौँ मेलम्ची बजार पुग्न । सोचेभन्दा ढिलै भयो । बजारको चमकलाई खोसिसकेको थियो अँध्यारोले । 

००००
सेर्माथाङको सेरोफेरोमा 

बिहानैदेखि चहलपहल सुरु भइसकेको थियो मेलम्चीपुल बजारको । बाक्लिएको बजार, मान्छेका आवाज, गाडीका आवाज धुलो र धुवाँ । मिठो लागेको थिएन मलाई ।  

“पहिले सेर्माथाङ जाऔँ अनि तार्केघ्याङ जाउँला ।” जयजीले बनाए योजना । लाग्यौँ त्यसैतर्फ उनकै मुताबिक ।  

जोडले चिच्याइरहेकी थिइन् इन्द्रावती । बाइक नरोकिरहन सकिँन । इन्द्रावती उही इन्द्रावती थिइन्, मैले उपन्यासमा पढेको । उही इन्द्रावती थिइन्, मैले फिल्म र टेलिसिरियलमा हेरेको । तर चलचित्रहरूमा जस्तो कञ्चन देखिनँ इन्द्रावतीलाई । इन्द्रावतीले आफ्नो आयतन बढाउन नसकेको मौका छोपेर दिनदहाडै अस्मिता लुट्दारहेछन् क्रसरहरूले । खै ! नियम कानूनले पनि छुँदोरहेनछ त ! अचम्ममा पर्छु म ।

पवित्र पाँचपोखरीको सिमसारबाट बग्छिन् यिनी । त्योे पवित्रताले अन्र्तमन छुन्छ मेरो । पाँचपोखरीको पवित्रता आत्मसात् गर्न पनि इन्द्रवतीलाई छुऔँझैँ हुन्छ मलाई ।

त्यहीबेला एक अधबैँसे भेटिए गिरी थरका । सबै थरीकोे बसोबास छ हेलम्बुको तल्लो बेल्टमा । 

“सेर्माथाङ जान कुनचाहिँ बाटो ठिक होला ?” सोध्यौँ हामीले ।

“दुइटा बाटो छ । जुन बाटो गए नि हुन्छ । पुल तरेर जानुस् । आएको बेला पाल्चोक माईको दर्शन गरे भो नि ।” उनको सुझाव । 

‘पाल्चोक’ देवीको नाम भन्ने कुरा थाहा थिएन । उनैबाट थाहा पायौँ । उता सिन्धु डाँडा र सिन्धु खोला यता पाल्चोक डाँडा र पाल्चोक माई । यसैबाट पो जुरेको रहेछ जिल्लाको नाम ‘सिन्धुपाल्चोक’ । बल्ल पो थाहा भयो ।

“जुराएकै रहेछ । फेरि आइन्छ आइन्न, के थाहा । आएको बेलामा गरौँ न त ।” माधवजी बोले । 

मनलाई इन्द्रावतीले नुहाएर लाग्यौँ उकालो ।

००००
कुलेलम ठोके जयजी । अलि पछि थिएँ म । पुल तरेपछि दुईटा आयो बाटो । पहाडलाई फन्को मारेको छ दुइटैले । 

सडकमा काम गर्नेहरूलाई सोध्यौँ– “पाल्चोकी माई जान कुन बाटो समात्ने ?”

‘जुन चाहिँ समाते नि पुग्ने त्यहीँ हो ।” जवाफ आयो । 

जयजीले समातेछन् एउटा, मैले समातेछु अर्कै । अलि माथि पुगेपछि उनीहरू हामीलाई पर्खँदारहेछन्, हामी उनीहरूलाई । फोन लागेपछि पो थाहा भयो । झुक्किएला कि भन्दाभन्दै साँच्चिकै झुक्किएछौँ ।

हामीले लिएको बाटो चाहिँ छोटो रहेछ । पन्ध्र मिनेटको फरक प¥यो दुवाचौर पुग्न । ६,९६६ मिटर अग्लो दोर्जेलाक्पाले देखायो सम्पूर्ण नाङ्गो काय । त्यो दृश्यले रोक्यो हामीलाई । लाग्यो– एकछिन त कुनै प¥यो जयजीहरूलाई ।

सूर्यको लहर छाएको छ प्रत्येक पाखापखेरामा । सुनौलो कार्पेट बिछ्याएजस्तो । पहँलो रङ घोप्ट्याएजस्तो । घामको रङ, माटोको रङ, फूलको रङ र तोरीको रङ । पारिलो घाम ताप्दै तोरीबारीको सुनौलो रङमा भुलेथ्यौँ हामी जयजीहरू नआइपुगुन्जेल । एकझर पानीको पर्खाइमा छन् कृषकहरू, डोलाएर राखिएका बारीका पाटामा मकै छर्न । 

००००
पुगियो पाल्चोकी माईको मन्दिर । हिन्दु धर्मालम्बीहरूको आस्था । एउटा ठूलो शक्तिपीठ । तेत्तिस करोड देवी–देवतामध्येको एक । देवी भागवतमा भनिएको छ– 

या देवी सर्वभूतेषुः मातृरुपेण सस्थिता ।

नमस्तस्यौ । नमस्तस्यौ ।। नमस्तस्यौ नमो नमः ।। 

अर्थात् जुन देवी सबै प्राणमा ा मातृरूप भई विराजमान छिन्, उनै भगवतीलाई प्रणाम छ । नेपालको प्रत्येक पाइलापाइलामा देवी माताको बास छ । माताले सबैको रक्षा गर्छिन् र उनको आशिर्वादले पाप नाश हुन्छ भन्ने विश्वास छ । मनोकामना पुरा गर्न मान्छेले देवी–देवताको पूजा–अर्चना, व्रत–उपवास, भोग–बली आदि गर्छन् । हिन्दु धर्मावलम्बीहरूको माईप्रतिको भए ०७२ को महाभूकम्कपमा किन त्यति धेरै मान्छेहरू मरे त सिन्धुपाल्चोकमा ? प्रश्नहरूको ज्वार उठेर पाल्चोक डाँडो उठेको थियो मनभित्र । 

गिरी जाति यहाँका पूजारी । नित्यपूजामा व्यस्त थिए उनी । उनीसँग कुरागर्न नपाए पनि मन्दिर परिसरमा सरसफाई गर्दैगरेका खड्का थरका एकजना पाको मान्छेसँग सम्वाद ग-यौँ हामीले । 

“हाम्रा पुर्खाहरूले स्थापना गरेको मन्दिर हो यो । जमिन बिराउदैबिराउँदै यहाँ आइपुगेछन् । खनिखोस्री गर्दै जाँदा एउटा जराबाट दूध र अर्कोबाट रगत निस्केछ र खोज्दै जाँदा शिला भेटेछन् । भगवान रहेछ भन्नेकुरा प्रस्ट भइ‘गो । त्यसपछि मन्दिर स्थापना गरेछन् । यहाँ भएका समुदाय तमाङ गिरी र खड्का जाति मिलेर पुजाको काम गर्ने गरेका रहेछन् । गिरीले दैनिक पूजा गर्ने, तमाङले राँगो खोज्ने, खड्काले मार हान्ने र दशैँका बेला छातीमा जमरा उमार्ने जिम्मेवारी रहेको छ ।” उनले सुझाए । 

भक्तजनका लाइन लम्बिँदै थियो मन्दिरमा । पुजासामग्रीका साथमा कसैले बोका डो¥याएका, कसैले काखीमा कुखुरा र हाँस च्यापेका । के माईले बली नै माग्छिन् र ? पाल्चोकी माई त बिनाभोग पनि खुसी हुन्छिन् होइन र ? मान्छै किन यति निर्मम हुन्छन् ? कति निरिह हुन्छन् है पशु ! कसैको मनोकामनाका लागि जीवन उत्सर्ग गर्न तयार रहेका पशु–पन्छीका मायाले चिमोटिरहेथ्यो मेरो हृदय ।

जबसम्म मान्छेहरू गरिब रहन्छन् तबसम्म मन्दिरमा मान्छेहरूको भिड लाग्ने गर्दछ–रहस्यवादी रजनिशका कुरा याद आयो । के ती सबै भक्तहरू गरिब नै हुन् त ? प्रश्न गरेथेँ आफैँलाई ।

फेरि सोच्छु– आस्थाको केन्द्र हो, भिड हुने नै भयो । मन्दिरमा जत्तिकै भिड देख्छु म गुम्बा, मस्जिद र चर्चहरू पनि । तर एउटा कुरा खेलरिह्यो मनमा– यति सानो ठाउँ त्यहीँ पर छ गुम्बा, जहाँ काटमार केही हुँदैन । यहीँ यति ठूलो बली चढाइन्छ । फेरि कालिका पुराणको कुरा सम्झन पुग्छु म–

यज्ञार्थे बलयः सृष्टाः स्वयमेव स्वयम्भुवा ।

अतस्त्वां घातयान्येद्य तस्माद्यज्ञे बधोबधः ।। 

अर्थात्, पशुलाई बलि यज्ञका लागि सृष्टिकर्ता ब्रह्माले सृष्टि गरेका हुन् । म तिमी पशुलाई छेदन गर्छु, यो तिमीलाई बध गरेको होइन । 

के कालिका पुराणले न्याय दिन्छ त पशुलाई ? के हो, के हो ! बुझ्नै कठिन । झन् बुझ्यो झनै कठिन ।

००००
एघार बजिसकेको थियो, पाल्चोकमा लाद्रो अलिकति भरेर उकालो लाग्दा । उकालोकै कहरले रुन्चे आवाज निकाल्दै थियो बाइकले । टुप्लुकिन्छ ककनी । सुरु हुन्छ ह्योल्मो बस्ती । खुब चुरिफुरी गर्दै थिए स्वेत छोर्तेनलाई घेरेका ध्वजाहरू । उज्यालिएको थियो सिङ्गो बस्ती नै मानौँ दोर्जेलाक्पा हिमालै बस्तीमा आएर टुसुक्क बसेजस्तो । तिरमिराएथे हाम्रा आँखा छोत्र्तेनको चमकले । 

उतिबेला हामी त्यही बाटो भएर मेलम्ची बजार झरेका थियौँ । बस्ती त बाक्लिए छ मज्जैले । फुस्फसाएँ म माधवजीसँग ।

फेरि अर्को एउटा सानो बस्ती आइपुग्छ । बस्तीको बीचमा छ भब्य गुम्बा । गुम्बाको नाम साङाग छ्योलिङ गुम्बा । गुम्बाको अगाडि फराकिलो चउर र चउरको बीचमा फर्फराइरहेको छ– निलो, रातो, हरियो, पहेँलो र सेतो रङको एउटै लुङ्दा । छेउमा फेरि प्रत्येक रङको लाइनै चारचारवटा छुट्टाछुट्टै लुङ्दा । सिपालु हातले चलाएको कुचीले रङ पोतिएका छन् गुम्बाको खम्बा, टुँडाल र भित्ताहरूमा । अहा, कुन कलाकारको कला होला यो ! क्या मिठो संयोजन रङहरूको ! हेरिरहुँजस्तो ! देख्दैमा शान्त अुनुभूति हुने ।  

गुम्बाको देब्रेभागको झ्यालको भित्ता उप्किएको थियो । एकजना स्थानीयले भने– पहिले सानो गुम्बा थियो । निकै पुरानो हो रे । यो चाहिँ नयाँ बनाएको हो । उद्घाटन गरेको तीन हप्ता नबित्दै भुईंचालेले मर्काइ‘गो । यता तिरका भएका गुम्बाहरू सबै ढले । धन्न यो चाहिँ बाँकी रह्यो ।

जङ्गलको जालो पन्छाएर कोरिएको छ सडक सञ्जाल । एकोहोरो कुदिरहेका छौँ हामी । अर्को डाँडो आउँछ । निगाले डाँडो । डाँडोले त अहिले पहिचान फेरि सकेछ । लुङदारका रङ फिँजाइएको छ डाँडैभरि । थाप्लोमा ध्यानमग्न छ गुरु पद्यसंभवको प्रतिमा । 

एकैछिन अल्मल्यायो निगाले डाँडोले । कहिले चराले अल्मल्याउने, कहिले मान्छेले, कहिले आफैँ । अल्मलिँदै थियौँ हामी । 

आफ्नै गतिमा घुमिरहेको छ घडीको सुई । सुईसित चल्न सकेनौँ हामी ! घुइँकिँदै गर्दा मनमनै गुन्गुनाउँछु म उही हिमाली सेलो–

आमा याङ्ग्रीको काखैमा

चौँरी त चर्ने पाखैमा...

सडकको अवस्था, लुतुरे बाइकको क्षमता र हाम्रो वजन । आधा घण्टा त लागि गो सेर्माथाङ पुग्न । 

सिधै गुम्बामा पुगेका थियौँ हामी । लगभग दुई सय बर्ष पुरानो गुम्बा । खेवा तासीको सेर्माथाङको निशानी हो सेर्माथाङ गुम्बा । भूकम्पले खालिगराएको रहेछ ।  

ह्योल्मो भाषामा ‘छेर्मा’को अर्थ काँडाघारी र ‘थाङ’को अर्थ चउर । काँडाघारी भएको चउर भएकोले छेर्माथाङ भन्दा भन्दै अपभ्रंस भएर सेर्माथाङ भनिन थालेको कुरा कार्मा तोप्के तोप्के लामाले बताए हामीलाई ।

हेलम्बुको सेरोफेरो नियाल्यौँ हामीले गुम्बाको डिलमा उभिएर । पारिलो घाम तापिरहेका थिए, हिउँदभरि हिउँको बिस्कुन सुकाउने ह्योल्मो बस्तीहरू  । 

“खोइ त तार्केघ्याङ ?” माधवजीको सोधनी । “ऊ त्यो परको हरियो पहाडको कुइनेटोबाट भित्रपट्टि ।” जयजीको जवाफ । 

शान्त र सौम्य थियो गाउँको वातावरण । लाग्दै थियो– अलिकति भूकम्पले नबिथोलिदिएको भए के पो भइसक्ने रहेछ ! रसिलै छ त हिउँदमा तुषारो र हिउँले ढाक्ने सेर्माथाङ ? अघिल्लो पटक आउँदा ह्योल्मो संस्कृतिसँग नजिकिँदाको क्षण सम्झँदै स्मृतिको धमिलो पर्दा च्यातेर आफैसँग सोधेँ मैले ।

सेता हिमाल, हरिया पहाड र रङ्गिन बस्ती । साँच्चिकै स्वर्गतुल्य छ हेलम्बु । यसैले त मिलारेपाले आफ्नो गीतमा बर्णन गरेका थिए रे यहाँको मनोरम प्राकृतिक सौन्दर्यको । 

मिलारेपाले ध्यान गरिरहेका बखत उपदेश लिन आएका चारजना भिक्षुणीलाई प्रकृति वर्णनले भरिएको गीतमार्फत नै स्वागत गरेका थिए रे । यहाँ फूल्ने फूल, बतासले नाचिरहेको रूखहरू, बाँदरका बच्चा रमाउँदै खेलेको, नानाथरी चराहरूको चिरबिर, भमराहरू भुन्भुनाउँदै उडिरहेको, आकासमा दिनरात इन्द्रधनुष देखेको, उचाइ, हिउँ, कुहिरो एकान्तभाव अवस्थाहरू खुसी भएको लगायतका कुराहरू ब्यक्त गरेका थिए रे । बघिनी भयानक श्वरमा गर्जंदा तिनका असहाय डमरूहरू निश्चलरूपमा खेलिरहेको दृश्यले महाकरुणा जागेको कुराहरू ब्यक्त गरेका थिए रे । सन् १९६२ मा कर्मा सिसि चाङले अनुसन्धान गरेर लेखेको पुस्तकमा  छ भन्नेकुरा सुनेका थिएँ ।

नमो रत्न त्रायाय

नमः आर्य जनान 

सागर वैरोचना

भुहाराजाया, तथागताया

अरहते सम्यकसा बुद्धाया, 

नमः सर्ब तथागताया 

नमः आर्य अवलोकितेश्वराया ... 

आर्य अवलोकितेश्वर मन्त्रले गुञ्जिरहेको थियो हेलम्बु । यही ध्वनी र लयले भरिएको थियो मेरो मन । अपार शान्ति र आनन्दको तरङ्ग सञ्चार भइरहेथ्यो शरीर र मनमा । शब्दहरूकै हाउभाउमा फर्फराइरहेका छन् घरैपिच्छे टाँगिएका लुङ्दा र लुङ्दारहरू र त्यसैले प्रेमील बतास छरिरहेको  अनुभुत हुन्छ । न विगतको कुनै स्मृति, न भविष्यको कल्पना । ठम्याउन सकिरहेको थिइनँ मैले म को हुँ र जीवन के हो भन्ने कुरा । भनिन्छ– यो मन्त्रोच्चारण गर्दा दया, प्रेम र करुणा वृद्धि हुन्छ । त्यसैले होला हेलम्बुप्रति प्रेमको सागर उर्लिरहेको छ मभित्र । अचम्मको अनुभूति गराइरहेको छ यतिखेर यो मन्त्रले । 

बुद्धको चार आर्य सत्य र अष्टाङ्गिक मार्गमा चलिरहेको छ हेलम्बु । संस्कारजन्य कर्मभन्दा कर्मजन्य संस्कार मनपर्छ मलाई । इश्वरको खोजि गर्नुभन्दा मानवको सेवा गर्नू भनेका थिए बुद्धले । तर मूर्ति पूजामा अल्मलिने हामीहरू यसैमा अल्मलिएका छौँ । मिसन स्पिरिट चलाउने इसाईहरू त्यसैमा ब्यस्त छन् । फेरि धर्मकै नाममा राजनीति गर्नेहरूको पनि कमी छैन यहाँ । धार्मिक प्रदूषण हटाउन र विश्वमै शान्तिको नारा घन्काउन बौद्ध धर्म चाहिएको छ यहाँ । त्यसैले त मलाई भन्न मन लाग्छ–बुद्धम् शरणम् गच्छामि, धंमम् शरणम् गच्छामि, यद्यपी धर्म सम्बन्धि कयौँ जिज्ञासा छन् मसँग । 

लामै संवाद भयो कर्मा तोप्के लामासँग, गुम्बाको आँगनमा टहलिँदै गर्दा । कस्तो छ त यहाँको अहिलेको पर्यटनको अवस्था ? संवादलाई निरन्तरता दिएँ मैले ।

“भुइचालोपछि बिग्रेको पर्यटनमा बिस्तारै सुधार हुँदैछ । हेलम्बुमा होटल र होमस्टे बनिरहेका छन् । भूकम्प स्मारक पार्कको निर्माण हुँदै छ । धार्मिक पर्यटन प्रर्वद्धनका लागि १०८ फिट अग्लो बुद्धको मूर्ति बनाइदै छ । हेलम्बु र लाङटाङ पदयात्रा जोड्ने सहजमार्ग निर्माण हुँदै छ ।” सफलताका कथाहरू सुनाए उनले ।

आसावादी थिए उनी हेलम्बुको पर्यटनको भविष्यप्रति । नहुनु पनि किन ! अमूल्य बस्तुहरू छन् यहाँ । गुरु रिम्पोछेको पाउको छाप । उनले तपस्या गर्दा खाना पकाउँदा प्रयोग गरेका ढुङ्गा । तपस्याको क्रममा राखिएका किताबहरू (ढुङ्गाको रूपमा परिणत भइसकेका) । भगवान शीवले तपस्या गर्दा पार्वती रजश्वला भई बसेको गुफा । यी सबै पर्यकीय आकर्षण हुन् । क्यानोनिङ, प्याराग्लाइडिङ र बन्जी जम्पजस्ता पर्यटकीय गतिविधिको विकास गर्न सकिन्छ । साँस्कृतिक हिसाबले पनि त्यत्तिकै महत्वपूर्ण छ । लोसार पर्वमा लाग्ने छिजु नाचलाई पनि पर्यटकीय उपज बनाउन सकिन्छ ।

उनले सुनाए– “रसुवा, नुवाकोट र सिन्धुपाल्चोक छुनेगरी घोप्टेघ्याङदेखि पाकेडाँडा, ठाडेपाटी, च्योछदी, सेमिसिदाङ, भेम्थाङ, ढुक्फु, आमा याङ्ग्री, ज्योमथाङ, शेर्माथाङ हुँदै, बुद्धपार्कसम्म ६० किमिको हेलम्बु ग्रेट ट्रेल निर्माणको काम थालनी भएको छ ।”

अहा, कति खुसीको कुरा !

ऊबेला पदयात्राका क्रममा गुलभञ्ज्याङमा विश्राम लिँदै गर्दा से लिमले भनेका कुरा सम्झेँ मैले । उनले भनेका थिए– “ह्वाइ डन्ट योर गवरमेन्ट बिल्ड अ टे«ल कनेक्टिङ दोज हिल्स लाइक द ग्रेट वाल अफ चाइना ? इट क्यान वि अ मेजर टुरिस्ट अट्य्राक्सन ।” 

राम्रो थियो उनको बिचार । साँच्चै उनले कल्पना गरेजस्तो ग्रेटवाल भइदिए त यहाँको पर्यटन कस्तो होला ! 

नेपालको राजनीतिक खिचातनीले गर्दा अरुण–३ जस्तो महत्वको  योजना विफल भएको थियो । सिक्टा सिँचाई योजनामा बाइल्याटर वा मल्टिल्याटरल सहयोग आएको थिएन । कयौँ योजना गर्भमै तुहिएका थिए । एक दशक बितिसक्दा पनि सुरसार गर्न सकेको थिएन मेलम्ची खानेपानी परियोजनाको । हाम्रोजस्तो देशले चीनको ग्रेट वालको अवधारणामा टे«ल निमार्ण गर्ने भनेको असम्भवप्रायः लाग्थ्यो । 

निकैबेर घोरिएर मैले लज्जाउँदै भनेको थिएँ– “इट्स नेक्स्ट टु इम्पोसिवल इन द कन्टेक्ट अफ नेपाल ।” 

तर यही कुरा आज सुन्न पाउँदा गर्वले छाती फुल्यो । हेलम्बुको मात्र हैन, यो त देशकै शान हो । अहिले लाग्दैछ– हामीमा इच्छाशक्ति भए खुसीका तरङ्गहरू ल्याउन सकिँदोरहेछ आफ्नै लागि र समस्त नेपालीका लागि । यी पहाडका शिरमा ग्रेट ट्रेलको रेखा कोरिएपछिको दृश्य कति सुन्दर होला ! त्यसैले तान्ने छ संसारभरका मान्छेलाई । र, यही रेखामा अडिने छ हेलम्बुको जीवन र नेपालको अर्थतन्त्र । आफ्नै सवालको आफ्नै जवाफ मेरो ।

नाट्यकर्मी पुरुजी भन्दै थिए– “मैले यहाँको संस्कृति, परम्परा सामाजिक परिवेश र रहनसहनलाई रङ्गमञ्चमा उतार्नुपर्छ । अलिकति समय लिएर आउने छु ।”

दुई बजिसकेछ । खाना खाएको छैन । पुग्नु छ काठमाडौँ । मेलम्चीबाटै ७० किमि छ । तार्केघ्याङ लगभग पन्ध्र किमिको  कच्चीबाटो जाउआउ गर्दा यतै साँझ पर्छ । के गर्ने त ? सल्लाह भयो हाम्रो ।

“किउल, तिम्बु र तालामाराङ हुन्दै फर्कंदै त छौँ । हेलम्बुको फेरो मारिहाल्छौँ, तार्केघ्याङ मात्र नपुगिने त हो नि ! उद्देश्य लगभग पुरा भइगो । फेरि आउने बाटो पनि राख्नु त प¥यो नि ! लेट्स गो ब्याक टु काठमान्डु !” समाधान निकाले जयजीले ।

भविष्य अनिश्चितताको गर्भमा हुने भए पनि सही थियो उनको युक्ति  । सहमति भयो ।

बादलले चुम्दै थियो क्षितिज र खोस्दै थियो हिमालका फूलजस्तो मुस्कानलाई । 

प्रकृति सौन्दर्य