२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्य

असार

गाउँमै छोडियो
    बाले बुनेको पुरानो घुम
    निदालमा घुसारेको करङ भाँच्चिएको छाता
    खिया लागेको कोदाली
    हिलो सम्याउने फ्याउरी

असारले छोपेको यो बेला सहरमा छु
    यी हिलाम्य सडकले
    यो झमझम झरीले
    उतैतिरको झल्को दिइरहेछ

गाउँमा
हलक्क बढेका मकैका पातमा पानी बर्सिंदा
मुहान फुटेर कुलेसाहरु कुलकुलाउँदा
उँभोतिरबाट छहराहरु छङछङी बग्दा
कर्णप्रिय लाग्छ,
त्यो प्रकृतिको संगीत
त्यो पहाडी खोलाको गीत

झरीको भाषा झरीको संगीत बुझ्दैन सहरले
बरु पचाइसकेको छ
हरेक वर्ष हिलाम्य सडकको रोपाइँ
जथाभावी गाडीको कर्कश आवाज
कान टट्याउने मान्छेका हल्लाहरु
भुस्याहा कुकुरका बेहोसी भुकाइहरु

यो असारमा
असाध्यै पुलकित हुन्छ भुइँकुहिरो ओढेर गाउँ
खेतका समाहाबाट पोखिन्छन् मान्छेका खुसीहरु
अमृतसरिको वर्षा जिउभरि थापेर खेततिर धाउँछ बस्ती
हिलोमा चोबलिएर हिलोमै हिरा रोप्छ किसान

कति मनोहर ⁄
पातमा टल्किएको पानी
र झरीमा रुझेको जवानी
कति सुन्दर ⁄
पाखाभरि फुलेको असारे पूmल
दबदबे हिलोमा घामको टलक

हेरिरहूँ लाग्छ
झरीले नुहाएको गाउँ
झरीले नुहाएका केटाकेटीहरु
बादल भरिएको आकाश
र कुहिरोसँग लुकामारी खेल्दै गरेका पहाडहरु
सुनिरहूँ लाग्छ
भ्यागुताको ट्वार–ट्वार
झ्याउँकीरीको मोहिनी गुञ्जन
साँझपख स्यालको एकोहोरो हुइँया
र रोपाहारको छुपुछुपु संगीत

लाग्छ यो बेला,
घाम घुम ओढेर कतै, रमिता हेर्दैछ
जून जँुगामा ताउ लाउँदै बादलसँग बुर्कुसी मार्दैछ
अप्सराहरु असारे गाउँदै छन् –गैरी खेतमा
ताराहरु बेठी लाउँदै छन् –टारी खेतमा

हो,
उतै छ भरिलो असार
उतै छन् झरिला मान्छेहरु
र उतै छन्–
दैलामाथि गौंथलीका गुँड
झरीमा ओत दिने वरपीपल
खेताला बिसाउने चौतारी
पहरो रसाएर टम्म भरिएका पँधेराहरु

प्रकाशित: २३ असार २०७५ ०१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App