२० असार २०८१ बिहीबार
image/svg+xml
विचार

गणितमा किन धेरै विद्यार्थी अनुत्तीर्ण?

गणित भन्नाले गणना गर्ने, परिमाण पत्ता लगाउने, आकार पत्ता लगाउने, नापी तथा नक्साङ्कन गर्नेलगायत संख्या र परिणामसम्बन्धी एक शास्त्र हो। यो अवधारणामूलक विषय हो। यसको वास्तविक अवधारणा, तथ्य र सिद्धान्तबोध नहुँदासम्म गणित शिक्षण र सिकाइ प्रभावकारी हुन सक्दैन।

हाम्रा धेरै विद्यालयमा गणित विषय अध्यापनका क्रममा अवधारणात्मक स्पष्टतासहित व्यावहारिक शिक्षण नहुँदा विद्यार्थी धेरै असफल हुने गरेका देखिन्छ। विद्यालय तहका अनिवार्य विषयमध्येको एक महत्त्वपूर्ण व्यावहारिक विषय गणित हो। यो आफैँमा सोचेजस्तो कठिन र पट्यारलाग्दो नभए पनि परम्परागत सैद्धान्तिक घोकन्ते परिपाटी र व्यावहारिक अभ्यासको कमीले धेरै विद्यार्थी यसमा असफल हुन्छन्।  गणित विद्यालय तहको प्रारम्भबाटै पढाइन्छ। गणितीय ज्ञान, सिप र क्षमता औपचारिकरूपमा (विद्यालय तहमा) मात्रै नभई अनौपचारिकरूपमा हरेक मानिसले बुझेर वा नबुझेर प्रयोग गरी आआफ्नो हरहिसाब राखेको देखिन्छ।

भर्खरै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा, एसइई २०८० को नतिजाअनुसार अनिवार्य गणितमा अनुत्तीर्ण (नन ग्रेड) हुने विद्यार्थी एक लाख ७७ हजार ९८५ जना छ। यो शिक्षामा सम्मिलित विद्यार्थीकों ३८ प्रतिशत हो। यो अन्य विषयमा अनुत्तीर्ण संख्याभन्दा धेरै हो। किन यो नतिजा प्रत्येक वर्ष दोहोरिरहेको छ ? यही नतिजालाई आधार मान्दै जीवनोपयोगी शिक्षाका नाममा गणितलाई पाठ्यक्रमबाटै हटाउने प्रक्रिया सुरु भएको पनि सुनिन्छन्। यसरी गणित विषयमा विद्यार्थी धेरै असफल हुनुका कारण धेरै हुन सक्छन्। तीमध्ये केही यहाँ चर्चा गरिएको छ।

योजनाबद्ध शिक्षण र शैक्षिक सामग्री अभाव

प्रारम्भिक कक्षादेखि शैक्षणिक योजना नबनाई हचुवाको भरमा किताबी ज्ञानलाई मात्र आधार मानेर शिक्षण गर्नाले गणितमा बढी विद्यार्थी असफल हुने गर्छन् भने अर्कोतर्फ यो विषय धारणामूलक छ। त्यसैले गणितका धारणा, सिद्धान्त तथा तथ्य विद्यार्थीसामु स्पष्ट पार्न शैक्षिक सामग्रीको प्रयोग गर्नु आवश्यक छ। हाम्रो गणित शिक्षण तथा सिकाइका क्रममा शैक्षिक सामग्री प्रयोग कम हुन्छ। यसले विद्यार्थीमा विषयवस्तुको धारणा स्पष्ट नभई विद्यार्थी धेरै असफल हुन्छन्।

शिक्षण प्रभावकारी नहुनु

शिक्षण सिकाइ प्रक्रिया जुन तरिकाले अघि बढ्छ, सिकाइ उपलब्धि त्यसैअनुसार प्राप्त हुन्छन्। हाम्रा शिक्षकहरूले कक्षाको सुरुदेखि नै पाठ्यक्रमलाई मूल आधार बनाइ पाठ्यपुस्तकलाई एउटा साधनका रूपमा मानी शिक्षण निर्देशिकाअनुसार पाठयोजना बनाइ त्यसैअनुरूप शिक्षण गर्नुपर्नेमा यसो नगरी किताबी ज्ञानलाई मात्र आधार मानी शिक्षण गर्नाले विद्यार्थीका सिकाइ उपलब्धि प्राप्त हुन सक्दैनन्।

निरन्तर अभ्यासको कमी

भनिन्छ– गणित नौ दिनमा नौलो, हुन्छ बीस दिनमा बिर्सन्छ। आज जानेको हिसाब भोलि पुनः अभ्यास गरिएन भने वा निरन्तर अभ्यास गरिएन भने र कापीमा मात्र सजाइयो भने विषयवस्तु सधँै नयाँ लाग्छ। निरन्तर अभ्यास न विद्याथीले कक्षा कार्यमा गरेको हुन्छ न घरमा नै।

विद्यार्थीकेन्द्रित विधि अभाव

विद्यार्थीलाई शिक्षण सिकाइमा संलग्न बनाउन, प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न, शिक्षणलाई अर्थपूर्ण, व्यावहारिक र प्रभावकारी बनाउन विद्यार्थीकेन्द्रित विभिन्न विधि प्रयोग गर्नुपर्छ। गणित विषय अध्यापनमा विद्यार्थीलाई ‘गरेर सिक’ विधि प्रयोग गरी उनीहरूमा रहेको क्षमता प्रस्फुटन गराउनु शिक्षकको महत्त्वपूर्ण कार्य हो। तर सैद्धान्तिक ज्ञानलाई मात्र जोड दिनाले विद्यार्थी बढी असफल हुन्छन्।

व्यावहारिक उदाहरण र पुनर्बलको ज्ञान नहुनु

आधारभूत तहमा गणितको धारणा बसाले मात्र विद्यार्थीले माध्यमिक तहको गणितका समस्या हल गर्न सक्छन्। त्यसैले सानो कक्षाका विद्यार्थीलाई गणित विषयसँग सम्बन्धित व्यावहारिक उदाहरण दिनु अति आवश्यक छ तर आधारभूत तहबाट विद्यार्थीलाई धारणाको सट्टा घोकन्ते विद्याको बानी बसाल्न हामी लागिपरेका हुन्छौँ। यस्तो हुँदा उनीहरूले कुनै पनि स्पष्ट गणितीय ज्ञान, धारणा र तथ्य आर्जन गर्न सक्दैनन्।

मूल्याङ्कन प्रक्रियालाई सिकाइमा प्रयोग नगर्नु  

शिक्षण सिकाइ क्रियाकलापपश्चात विद्यार्थीमा अपेक्षित उपलब्धि के/कति मात्रामा प्राप्त भए वा भएनन् भनी लेखाजोखा गर्नुलाई मूल्याङ्कन भनिन्छ। मूल्याङ्कन शिक्षण सिकाइको एक महत्त्वपूर्ण भाग हो। विद्यालयमा मूल्याङ्कनका रूपमा निर्णयात्मक मूल्याङ्कन मात्र गरी कक्षा चढाउने प्रावधान बढी छ। जसबाट उसको समस्या पत्तो लाग्दैन। अनि विद्यार्थी कमजोर हुन्छ।

पृष्ठपोषणको अभाव

जब विद्यार्थीको मूल्याङ्कन गरिन्छ तब उसको त्यस विषय वस्तुप्रतिको ज्ञान, सिप, कमी/कमजोरी सहर्ष पत्ता लाग्छन्। साथै उसको व्यक्तिगत आनिबानी, रुचि, चाहना, इच्छाहरू पनि थाहा हुन्छ। विद्यार्थीका सिकाइसम्बन्धी समस्या पत्तालगाइ ती समस्या समाधान गर्न दिइने सुझाव वा समस्या समाधानप्रति प्रेरित गर्नु नै पृष्ठपोषण हो। तर हाम्रा धेरैजसो शिक्षकलाई पृष्ठपोषण भन्ने नै थाहा छैन।

विषयगत शिक्षक नहुनु

२०७५ सालमा सरकारले गरेको सर्वेक्षणमा माध्यमिक विद्यालयमा हजारौँ गणित शिक्षकको दरबन्दी आवश्यक रहेको उल्लेख छ। त्यसमध्ये अधिकांश दरबन्दी अहिले पनि खाली नै छ। यसले गर्दा विद्यार्थीको कोर्स समयमै नसकिनेलगायत दक्ष विषयगत शिक्षकको अभावमा शिक्षण सिकाइ प्रभावकारी हुँदैन। गणितमा धेरै विद्यार्थी असफल हुनुको अर्को मुख्य कारण यो पनि हो।

त्यसैले जबसम्म माथि उल्लिखित तथा अन्य विविध समस्याको समाधान गरिँदैन, तबसम्म विद्यार्थी गणित जस्तो महत्त्वपूर्ण विषयमा सँधै असफल भइ नै रहन्छन्। शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझी तिनीहरूका रुचि, चाहना र क्षमताका आधारमा बढीभन्दा बढी शैक्षिक सामग्री, दक्ष विषयगत शिक्षकको व्यवस्था, सूचना प्रविधिको प्रयोग, सिकाइको अनुकूल वातावरण निर्माण, विद्यार्थीकेन्द्रित विधिहरू प्रयोग गरी शिक्षणलाई अर्थपूर्ण बनाउनुपर्छ। शिक्षकले विद्यार्थीलाई कुनै पनि विषयवस्तुमा पोख्त बनाउनका लागि बढीभन्दा बढी कक्षा कार्य (अभ्यास) गराउनुपर्छ।

त्यस्तै बढीभन्दा बढी व्यावहारिक उदाहरण प्रयोग गरी शिक्षणलाई धारणामूलक बनाउनु आवश्यक छ। तब मात्र विद्यार्थीले गणितका धारणा, तथ्य तथा सिद्धान्त बुझी गणितीय समस्याको उचित तरिकाले समाधान गरी गणित विषयलाई सरल, सजिलो साथै रोचक विषयका रूपमा ग्रहण गरी सफलता हात पार्न सक्छन्।

प्रकाशित: १६ असार २०८१ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App