२० असार २०८१ बिहीबार
image/svg+xml
विचार

कोरिया-नेपाल किसानी सहकार्य

हिजो–आज, नेपाली पत्रपत्रिकामा किसानले धान रोपिरहेका तस्बिर देख्दा छुट्टै आनन्द मिल्छ। कोरिया र नेपाल दूरीका हिसाबले टाढा रहे तापनि धेरै समानता रहेकोबारेमा हामी जानकार नै छौँ। हामी बिहान, दिउँसो र बेलुका खानाका रूपमा चामल प्रयोग गर्छौं। नेपालमा पनि बिहान र बेलुका खानाका रूपमा चामल प्रयोग गरिन्छ। धानबाली लगाउने समय पनि कोरिया र नेपालबीच लगभग समानता रहेको छ। कोरियामा हरेक वर्ष मे १५ देखि जुनको अन्त्यसम्म धानवाली लगाइन्छ भने नेपालमा पनि मेको अन्त्यबाट जुलाइको पहिलो हप्तासम्म धान खेती लगाइन्छ।

कोरियामा अनिवार्य सैनिक तालिमका बखत क्याम्प नजिकैको खेतमा धान रोप्ने समयमा किसानहरूसँग मिलेर धान रोपेको र छ्याङ (भाते जाँड) पिएको सम्झना ताजै छ। नेपालमा जस्तै धान खेती कोरियाली कृषिको एउटा महत्त्वपूर्ण हिस्सा रहेको छ। खाद्य सुरक्षाका दृष्टिले खाद्य आत्मनिर्भरताका लागि कृषि क्षेत्रको विकास अपरिहार्य छ भन्ने लाग्छ। कृषिमा आत्मनिर्भर हुनु तथा बढी भएको उब्जनी बाहिरी मुलुकमा निर्यात गर्न सक्ने देशहरू प्रगतिपथमा लम्कनका लागि  तुलनात्क रूपमा   सहज  स्थानमा हुन्छ जस्तो लाग्छ।

नेपालको परिवेशमा, केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो राष्ट्रिय कृषि गणनाअनुसार परिवार संख्या बढेको देखाएको छ भने कृषि क्षेत्रफल घटेको देखाएको छ। कृषि गणनाअनुसार नेपालका कुल परिवारमध्ये ६२ प्रतिशत मात्र कृषक परिवार रहेको पाइएको छ। १० वर्षअघि कुल परिवारमध्ये ७१ प्रतिशत परिवार कृषक थिए ।

नेपालको कृषिमा आबद्ध व्यक्तिसँग भन्दा कृषि क्षेत्रमा सरोकार नभएका व्यक्तिसँग जमिन धेरै हुनु, युवा जनशक्ति विदेश जानका लागि लालायित हुनु, कृषि क्षेत्र शिक्षित युवा पुस्ताको आकर्षक पेसा हुन नसक्नु, सिँचाइ सुविधाको कमी, परम्परागत खेती प्रणालीले निरन्तरता पाउनु, उत्पादन लागत उच्च हुनु, श्रम तथा लगानीको तुलनामा पर्याप्त उत्पादन नहुनु, उत्पादित वस्तुले बजारमा उचित मूल्य नपाउनु आदिले कृषि क्षेत्रलाई पछि पारेको देखिन्छ।

त्यसैगरी कृषि उत्पादनले परिवारको जीवनयापन नधान्ने भएकाले मानिस कृषि पेसामा इच्छुक नदेखिएको अवस्था रहेको छ। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण मौसमको नियमिततामा आएको परिवर्तनले पनि कृषिमा निर्भर हुने क्रम घट्दै गएको हुन सक्ने देखिन्छ। यही वर्ष फेब्रुअरीमा जनकपुर भ्रमण गर्ने अवसर मिलेको थियो। उक्त क्षेत्रमा कृषकहरूसँग भलाकुसारी गर्दा तराई क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएकाले कृषि पेसामा समस्या बढ्दै गएकोबारे पनि स्मरण गराउन चाहन्छु।

विगतमा कोरिया पनि कृषिप्रधान देश थियो र हाम्रो देशको कुल जनसंख्यामध्ये ८० प्रतिशत कृषि पेसामा आबद्ध थिए। औद्योगिकीकरण र सहरीकरणका कारण धेरै मानिस ग्रामीण क्षेत्र छाडेर कृषि पेसाबाहेक अन्य पेसा खोज्न सहरी भेगमा बसाइँ सर्ने क्रम बढ्दै गएर हाल ग्रामीण भेगको जनसंख्या धेरै घटेको अवस्था छ।

हाल ग्रामीण भेगमा वृद्ध जनसंख्या मात्र बाँकी हुन गएको अवस्था छ। त्यसैगरी राष्ट्रिय अर्थतन्त्रमा कृषिको हिस्सा पनि घटेर गएको छ। तथापि कृषि एक पेसा, व्यवसाय मात्र नभई देशको सांस्कृतिक तथा खाद्य सुरक्षाको आधार भएकाले विकासशील तथा विकसित देशले पनि कृषि क्षेत्रको विकासका लागि नीतिगत सहजीकरण गर्दै आएका छन्।

नेपालको अवस्था दक्षिण कोरियाभन्दा फरक भए तापनि हामीले जसरी नै विभिन्न परिवर्तनका चरणहरू अनुभव गर्नेछ भन्ने लाग्छ। अर्थ मन्त्रालयले गत वैशाखमा सार्वजनिक प्रतिवेदनअनुसार नेपालको कुल जनसंख्याको ६२ प्रतिशत रोजगारी कृषि क्षेत्रमा छ भने राष्ट्रिय अर्थतन्त्रको २४.६ प्रतिशत हिस्सा ओगटेको छ। कृषि क्षेत्र संकुचित हुँदै गएको अवस्था र भविष्यमा झनै संकुचित हुन सक्ने अवस्था चिन्ताजनक विषय हो भन्ने लाग्छ।

तथापि कृषि उत्पादकत्व बढेमा कृषि क्षेत्रमा सुनौलो भविष्य देख्न सकिन्छ नै। सरल गणितीय हिसाबले भन्नुपर्दा नेपालको कृषि क्षेत्रको उत्पादकत्व हालको स्तरभन्दा कम्तीमा दोब्बर बढ्न सक्ने देखिन्छ। नेपालको विश्वव्यापी जैविक विविधता र वातावरणमैत्री कृषि विधिले नेपाली कृषि उत्पादनको विशिष्टीकरणमार्फत विश्व बजारमा माग सिर्जना गर्न सक्ने क्षमतामा रहेको छ।

हालको विश्व समुदाय अर्गानिक खानाको महत्त्वलाई बढावा दिँदै गएको अवस्थामा नेपालले उक्त स्थान लिन सफल हुन्छ भन्ने लाग्छ। नेपालको दिगो विकासका लागि कृषि क्षेत्र पनि अन्य क्षेत्र जस्तै प्रचुर सम्भावना छ भन्ने मेरो बुझाइ छ।

कृषि सहकार्य कोरिया सरकारले नेपाललाई १५ वर्षदेखि प्रमुख विकास सहयोग साझेदार देशका रूपमा निर्धारण गरेर कृषि, स्वास्थ्य क्षेत्र तथा व्यावसायिक शिक्षालाई प्रमुख क्षेत्रका रूपमा विकास सहयोग परियोजनालाई प्रवद्र्धन गर्दै आएको छ। नेपालको कृषि क्षेत्रको सहकार्यलाई महत्त्वपूर्ण रूपमा लिएर बालीको उत्पादकत्व वृद्धि गर्न, बजारसँग मूल्य शृंखला जोड्न तथा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पर्न गएको प्रभावलाई न्यूनीकरण गर्दै विभिन्न परियोजना प्रवर्धन गर्दै आएका छौँ।

गत वर्ष नोभेम्बर महिनामा कोरियाका कृषि मन्त्रीले नेपाल भ्रमण गरी दुई देशबीचको कृषि सहयोगलाई थप विस्तार गर्न कोरिया–नेपाल कृषि सहयोगसम्बन्धी एमओयुमा हस्ताक्षर भएको छ। कोरियाली कृषि मन्त्री ४० वर्षभन्दा लामो समयदेखि कृषि प्रविधि तथा नीतिमा जानकार रहेकाले उहाँको भ्रमणका बेला नेपालले पनि उन्नत बीउ र उन्नत कृषि प्रविधिको प्रयोग गरे छोटो समयमा कृषि उत्पादकत्व डेढ गुणाले बढ्ने प्रक्षेपण गरेका थिए।

यस वर्षको फेब्रुअरीमा, सिन्धुली जिल्लाको कमलामाईलाई कोरिया–नेपाल पाइलट डेरी गाउँको रूपमा तोकिएको थियो। सन् २०२३ को डिसेम्बरमा कोरियाबाट विमानमा नेपाल आएका एक सय एक होल्स्टेन उन्नत जातका गाईले यही वर्ष फेब्रुअरीमा पहिलो बाच्छीले जन्म लिएकी थिइन्।

दक्षिण कोरियाले ७० वर्षअघि अमेरिकाबाट दुधालु गाई तथा दुग्ध प्रविधि प्राप्त गरी हालको विश्वस्तरको दुग्ध उद्योग स्थापनामा महत्तवपूर्ण भूमिका खेलेको अनुभव हामीसँग छ। नेपालको परिवेशमा पनि यसले सार्थकता पाओस् भन्ने हाम्रो सोचाइका साथ नेपालमा यसको सुरुवात गरेका हौँ। केही महिनाभित्र नै करिब ५० वटा बाच्छा–बाच्छी जन्मने सुखद क्षणको पर्खाइमा रहेका छौँ। हामीलाई विश्वास छ, यस क्षेत्रबाट उत्कृष्ट गाईको नश्ल तथा मनग्य दूधले नेपालको पशु पालन क्षेत्रको विकास तथा विस्तार हुँदै नेपालको दुग्ध उद्योगको प्रतिस्पर्धामा सुधार गर्न बलियो आधार बन्नेछ।

कोरियामा हाल इपिएस प्रणालीमार्फत लगभग १४ हजार पाँच सय जना नेपाली कामदार कृषि तथा पशु पालन क्षेत्रमा कार्यरत छन्। कोरियामा कृषि तथा पशु पालन व्यवसायमा काम गरेको अनुभव भएका व्यक्तिको संख्या पनि दशौं हजार छ। कोरियामा पाँचदेखि १० वर्ष कामको अनुभवको सदुपयोग गर्दै कृषि क्षेत्रमा व्यवसाय सुरु गरेका धेरै उदाहरण छन्।

गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ स्वर्ण जयन्तीको अवसरमा हाम्रो दूतावासले कोरियामा रोजगारको अनुभवमा आधारित २६ वटा सफल व्यावसायिक कथाहरू समावेश गरी ‘तपाईँ पनि मालिक बन्न सक्नुहुन्छ’ पुस्तक प्रकाशन गरेको थियो।

पुस्तकमा नेपालमा कृषि व्यवसाय सञ्चालन गरी सफल भएका उदाहरणमध्ये कोरियाको कृषि क्षेत्रमा कामको अनुभव भएका र नेपालमा फर्किएर सोही क्षेत्रमा रोजगारी सिर्जना गर्ने तथा नेपालको कृषि उत्पादकत्वमा सुधार ल्याउन उत्प्रेरकका रूपमा कृषि व्यवसाय गरिरहेका जितेन्द्र बानियाले रसिलो एग्रिकल्चर नामक कम्पनीमार्फत ५० भन्दा बढी जिल्लाबाट एक सय ५० भन्दा बढी कृषि उपजहरू बजारमा उपलब्ध गराएको तथा २० भन्दा बढी जिल्लामा कलेक्सन सेन्टर खडा गरेर उत्पादन वृद्धिमा पहल गरेको सुखद उदाहरण रहेको छ।

रघुवीर चन्द्रवंशीले कोरियाबाट फर्किएर सुनसरी जिल्लास्थित बराह क्षेत्रमा ११ विघा क्षेत्रफलमा विभिन्न किसिमका तरकारी खेती गर्दै आएका छन्। सुन्दर कृषि नामकरण गरेर सुरु गरेको व्यवसाय आज छिमेकी जिल्लाहरूमा पनि कृषि व्यवसायलाई सम्भावना भएको व्यवसायको रूपमा अगाडि बढाएबारे उल्लेख भएको छ।

रघुवीरले कोसी प्रदेशमा तरकारी खेतीमार्फत कृषि व्यवसायको इज्जत बढाएका छन्। त्यसैगरी कोरियाको अनुभव भएका व्यक्तिले नेपालमा पशु पालन तथा दूधजन्य व्यवसाय, कफी तथा अन्य कृषि व्यवसाय सञ्चालन गरेर नेपालको कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

ग्रामीण क्षेत्र नै जीवनको आधार कोरियामा एउटा भनाइ छ– ग्रामीण क्षेत्र हामी सबैको जन्मस्थान हो। कृषि पेसा हाम्रो जीवनको आधारभूत जरा हो । नेपालको सन्दर्भ पनि हाम्रो जस्तै हो भन्ने लाग्छ। हाल नेपालले ठूलो मात्रामा कृषिजन्य वस्तु आयात गरिरहेको छ तर सार्वजनिक–निजी सहकार्यबाट उत्पादकत्वमा सुधार गर्न सके कृषिजन्य वस्तु निर्यात गर्ने मुलुकका रूपमा परिणत हुन सक्छ भन्ने लाग्छ। त्यसका लागि नेपाल सरकारले धेरै नीतिगत प्रयास गरिरहेको छ भन्ने मेरो बुझाइ छ। यस वर्ष कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ स्वर्ण जयन्ती मनाउँदै गर्दा हामी नेपालको कृषि क्षेत्र विकासका लागि हातेमालो गर्दै सकारात्मक नतिजा दिलाउने चरणमा छौँ।

नेपालको प्रचुर सम्भावना रहेको कृषि क्षेत्रलाई नेपाली माटो सुहाउँदो किसिमले अगाडि बढ्नु आजको आवश्यकता हो भन्ने लाग्छ। समुन्नत राष्ट्र निर्माणका लागि खाद्यान्न बाली, तरकारी, फलफूल, दूध, मासु, अण्डा आदिको उत्पादन र उत्पादकत्व बढाउनका लागि गर्नु ढिला गर्नुहुंदैन भन्ने लाग्छ। हावापानी तथा भूमि सुहाउँदो खेती गर्नु पनि त्यत्तिकै आवश्यक देखिन्छ।

नेपालको ऊर्वर माटोमा कोरियाको आधुनिक कृषि प्रविधिमार्फत यस क्षेत्रको विकासका लागि कोरिया सरकार कृषि मन्त्रालयले आगामी वर्ष २०२५ बाट नेपालमा अनुसन्धान केन्द्र स्थापना गरेर उन्नत धान, आलु खेतीलगायत कृषि बाली उत्पादनमा साझेदारी गर्ने योजना छ। कृषि क्षेत्रमा कोरियाको अनुभव तथा सिप हस्तान्तरणका लागि कृषि अनुसन्धान केन्द्र कोपिया सेन्टर स्थापना चरणमा छ। हामी नेपालको वास्तविक आवश्यकतालाई मध्यनजर गर्दै असल मित्रका रूपमा निरन्तर हातेमालो गर्दै अगाडि बढ्ने छौँ। गाउँ हाम्रो मातृभूमि तथा जीवनको आधार हो।

-थेयङ नेपालका लागि दक्षिण कोरियाली राजदूत हुन्।  

प्रकाशित: ६ असार २०८१ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App