२० असार २०८१ बिहीबार
image/svg+xml
विचार

बिर्सिइएका बहादुर शाह

नेपाल एकीकरणका योद्धा बहादुर शाहको जन्म २६८ वर्षअघि असार ६ गते भएको थियो। उनी राष्ट्र निर्माता पृथ्वीनारायण शाहका कान्छा छोरा हुन्। जतिबेला उनी जन्मेका थिए त्यति नै बेला पृथ्वीनारायण शाहको नेतृत्वमा कीर्तिपुरमा घमासान युद्ध भइरहेको थियो।

युद्धकै रापतापमा जन्मेका बहादुर शाहले सात–आठ वर्षको उमेरदेखि नै लडाइँ–भिडाइबारे ज्ञान हासिल गरेका थिए। बाबुको स्वर्गारोहणपछि दाजु सिंहप्रताप शाहसँग खटपट परेर केही वर्षसम्म वनारसमा निर्वासित भए। यही कारण विदेशीहरूको रणनीतिसँग पनि यिनी परिचित थिए।

पृथ्वीनारायण शाहबाट हिमवत्खण्डका ५४ जति हिन्दु राज्यलाई एकीकृत गर्र्ने अभियानको सन्दर्भमा उनको स्वर्गारोहणपछि बहादुर शाहले विशाल नेपाल कायम गर्न अथक प्रयत्न गरेका थिए। बहादुर बहादुर शाहले मुलुक मात्र जितेका थिएनन् मुलुकमा राम्रो बन्दोबस्तसमेत मिलाउन सकेका थिए। थुप्रै हिन्दु राज्यलाई सकभर लडाइँ नगरी आश्रित राज्य बनाउने नीति लिएका थिए।

यस नीतिको फलस्वरूप पाल्पा, मुस्ताड, जाजरकोट, सल्यान, बझाङ, गढवालसम्मका अनेक राज्य नेपाल अधिराज्यमा सम्मिलित गराउन सकेका थिए। अहिले भारतमा रहेको चारधामहरू केदारनाथ, बद्रीनाथ, अमरनाथ, सोमनाथ पनि विशाल नेपालमा समाहित थिए। यो हिसाबले यमुनासम्म साँध भई सिरमोढसँग सन्धि भएकाले पश्चिमतर्फ शान्ति कायम थिएको थियो। यी सबै सर्त कायम राख्न सक्षम बहादुर शाहको योगदान नेपालको इतिहासमा अविस्मरणीय छन्।

बहादुर शाहको नीति विशाल नेपालमा सरिक भएको र चीनप्रति नजिक हुन लागेकामा अंग्रेजहरू सन्तुष्ट थिएनन्। इस्ट इन्डिया कम्पनी भारतबाट नेपाल तथा तिब्बतसँग व्यापार बढाउन उत्सुक थियो। हेटौँडाको बाटो हुँदै भोटमा अंगे्रजी माल सामग्रीहरू प्रवेश गराउन पाए भोटको ठूलै भागमा विस्तार पाउने थियो भन्ने मनसायमा थियो। उनको वीरता देखेर अवधका नबाबले पनि नेपालसँग मित्रताकै व्यवहार गर्ने नीति लिएको थियो।

चीनसँग सम्बन्ध कायम भएपछि अंग्रेज पनि नेपालसँग दच्किन लागेको थियो। त्योबेला अंग्रेज मौका हेरेर पर्खिबसेकामा बहादुर शाहविरुद्ध नेपालका कुरौटे, भरौटे भाइभारदारहरूलाई अनेकौं तिकडम गर्न पछि परेनन्। अनेकौँ षड्यन्त्रबाट नेपालका सपुत बहादुर शाहको १८५४ साल असार १४ गते ४० वर्षकै उमेरमा बन्दी अवस्थामै हत्या गरियो।

बहादुर शाहको मित्रवत् कूटनीतिका कारण खराब सम्बन्ध रहेको चीनसँग सन्धि भयो। सन्धि भएपछि चीनका बादशाहकहाँ नेपालबाट पाँच वर्षमा राजदूत जाने व्यवस्था भयो। त्यस सन्धिमा शस्त्रधारी सैनिकबाहेक प्रत्येक नागरिकलाई भोट, चीनका राज्यमा पर्यटन गर्ने, कारखाना खोल्ने, व्यापार गर्ने अनुमति प्राप्त हुने, नेपाल भोट कुनैले अर्काको जमिन दखल गर्न खोजेमा दुवै देशका सरकारी प्रतिनिधिले पेकिङ दरबारलाई निर्णयको अन्तिम सूचना पठाउने, विदेशी शक्तिले नेपालउपर आक्रमण गरेको खण्डमा चीनले अवश्य नेपालको सहायता गर्नेछ, चीनले नेपाललाई मैत्रीपूर्ण उपहार पठाउने र प्रतिनिधिमण्डल पेकिङ आउँदा जाँदा प्रत्येक किसिमको सुविधा हुने प्रवन्ध मिलाउनेछ भन्ने उल्लेख भयो।

चीनका बादशाहले राजा रणबहादुरलाई सम्मान गर्ने र नेपालको तर्फबाट चीनको बादशाहलाई उपहार पठाउने चलन पनि त्यसबेलादेखि चल्यो। नेपालको इतिहासमा चीनसँग सन्धि गर्ने पहिलो बहादुर शाह नै   हुन्। तर, नेपाल एकीकरणका हस्ती बहादुर शाह जस्तो महान् सपुतलाई अझसम्म नेपालको राष्ट्रिय विभूति घोषणा नगरिएकाले उनीमाथि अन्याय भएको छ। बहादुर शाहको जन्म नुवाकोटमा भएको र उनको मरण पनि नुवाकोटमा नै भएकाले रसुवा–नुवाकोट मार्गको नाम बहादुर शाह मार्ग हुनुपर्छ भन्ने धेरैको माग छ। जीवनभर देशका  लागि लडेर अल्पायुमै जीवन गुमाएका यस्ता महान् सपुतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरौँ।  

प्रकाशित: ६ असार २०८१ ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App