२३ असार २०८१ आइतबार
image/svg+xml
विचार

सशस्त्र प्रहरीकाे आरोहण : सशस्त्र शिविरदेखि सर्वोच्च शिखरसम्म

२०८० साल असारमा सशस्त्र प्रहरी बल नेपालले सगरमाथा आरोहण गराउनका लागि नामावली संकलन गरेको थियो। उक्त समयमा केही इच्छुक अधिकृतहरूले नामावली पेश गर्नुभएको थियो। त्यस समयमा म पनि प्रधान कार्यालयमा नै कार्यरत रहेकाले जाने इच्छा गरें। तर २-३ महिनासम्म पनि त्यस कुरामा केही प्रगति भएको थिएन।

दसैंको समयतिर सगरमाथाको कुरा चल्न थाल्यो। बेलायती राजदूतावासको एक कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालज्यूसँग थिए।  पूर्व बेलायती सैनिक सुवास राईले यो विषयमा कुरा गरेको सुनें। म अग्लो कदको  हेर्दा सर्लक्क परेको देखेपछि  मेरो नाम प्रस्ताव गर्नुभयो। त्यसको १० दिनपश्चात् संसारका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सबैभन्दा कम उमेरमा चढेका विश्व कीर्तिमानी आरोही मिग्मा डेभिड शेर्पासँग भेट भयो। चैत्रमा सगरमाथा चढ्न जाने निधो गरियो।

तयारी

मिग्मा डेभिडसँगको भेटपछि तालिम सुरु गरें। बगलामुखी विशेष कार्यदल गणमा ‘हाई अल्टिच्युट सर्च एन्ड रेस्क्यु’ तालिम प्राप्त गरेका असई दन्त छन्त्यालसहितको टिमले  सगरमाथा आरोहणका लागि आवश्यक पर्ने तालिमको पाठ्यक्रम निर्माण गर्‍यो र सोही अनुरूप तीन महिनाको तालिम लिएँ। तालिमको सो क्रममा काठमाडौं वरपरका सबैजसो डाँडाहरू चहारें। यसबाट आत्मविश्वास बढ्यो।

यो भन्दाअघि मेरो अनुभव अन्नपूर्ण सर्किटको ५४ सय मिटर अग्लो थोराङ पास मात्र थियो। तर हिमाली भेगहरूमा वर्षको एक पटक पुग्ने पछिल्ला केही वर्षहरूको अभ्यासका कारणले मनमा आत्मविश्वास थियो। सो समयमा सगरमाथा आरोहणसम्बन्धी विभिन्न चलचित्रहरू हेरेँ तथा किताबहरू पढेँ।

खिमलाल गौतमको ‘पन्ध्रौं चुली’ किताब तीन पटक पढेँ। योभन्दा अघि सगरमाथा आरोहण गर्नुभएका नेपाल प्रहरीका सई पुरुषोत्तम नेपालीसँग निरन्तर सम्पर्कमा नै थिएँ। उहाँको ढाडसले मनोबल बढ्दै गयो। जानुभन्दा एक हप्ताअघि मात्र लुगा तथा गियरहरू खरिद गर्ने निर्णय भयो।

चैत २९ गते सगरमाथाको आधार शिविर जानुअघि सगरमाथा आरोहणका लागि आवश्यक पर्ने कपडा तथा गियरहरूको लगभग १२ लाख जतिको खर्च आयो। सम्पूर्ण सामानहरू खरिद गरेपछि मलाई लैजाने मिग्मा डेभिडसँग सामान चेक गराएँ।

पहिलो चरण

चैत २९ गते राति साढे बाह्र बजे काठमाडौंबाट रामेछापका लागि प्रस्थान गरियो। रामेछापबाट नौ बजेतिर लुक्लाका लागि उडान भरियो। विश्वको सबैभन्दा खतरनाक विमानस्थलमा हवाईजहाज अवतरण हुने बेलामा साँच्चै नै मन त सिरिङ्ङ हुने नै रहेछ। पुनः त्यो जहाज चढ्न नपरे हुन्थ्यो जस्तो लाग्यो।

हामी आरोहण दलका नौ जना सदस्य, केही भरियाहरू र दुई जना गाइडहरूसहितको टोलीको लुक्लादेखिको यात्रा सुरु भयो। लुक्लाबाट आधार शिविरसम्मको यात्रा सात दिनमा सम्पन्न भयो। लुक्ला समुन्द्र सतहबाट २८ सय ६० मिटरको उचाइमा पर्छ भने सगरमाथा आधार शिविर ५३ सय मिटरमा पर्छ।

पहिलो दिन लुक्लाबाट फाक्दिङसम्मको यात्रा तय गरियो। करिब पाँच घण्टाको हिँडाइमा फाक्दिङ पुगियो। राम्रा र सुविधासम्पन्न होटलहरू रहेको फाक्दिङबाट भोलिपल्ट नाम्चेका लागि प्रस्थान गरियो।

नाम्चे सोलुखुम्बुको बजारजस्तै रहेछ। काठमाडौंकै मूल्यमा सगरमाथा आरोहण नै गर्ने सामान तथा गियरहरू पाइँदो रहेछ। क्याफे तथा बजार नै लुक्लाका मुख्य आकर्षण हुन्।

करिब ३४ सय मिटरको उचाइमा रहेको लुक्लामा दुई रात बसियो। यस क्रममा करिब चार हजार मिटरमा रहेको एभरेस्ट भ्यु होटलसम्म पुगेर उचाइ अनुकूलित वातावरणमा रमाइयो। नाम्चे सगरमाथा आधार शिविरभन्दा अघिको सबैभन्दा ठुलो बजार हो। मलाई आवश्यक पर्ने केही सामानहरू खरिद गरेँ। दुई रातको बसाइ राम्रो रह्यो।

पहिलो रातमा मेरो टाउको निकै दुख्यो। मैले मेरो गाइडलाई जानकारी नगराई लेक लाग्दा खाने औषधस् खाएँ र मन मनै सोचेँ, ‘लुक्लामै यस्तो छ, के सगरमाथा चढ्न सकिएला?’

भोलिपल्ट बिहान उठ्दा पनि टाउको दुखाइ ठिक भएन। त्यतिबेला मेरो साथी  पोल्यान्डका क्रिस्पिन थिए। पेसाले उनी सर्जन भएकाले मैले मेरो समस्या उनलाई सुनाएँ। उनले मेरो टाउको दुख्नुको कारण मैले लगाएको चस्मा हो भन्ने पत्ता लगाएँ।  मैले चस्मा फेरेँ।

त्यसपछि मेरो टाउको दुखाई एक घण्टामै सन्चो भयो । यो बाटोबाट पहिलोपल्ट सगरमाथाको दर्शन भयो। सगरमाथालाई पहिलोपटक यति नजिकबाट देख्दा मुटु ढक्क फुलेजस्तो भयो। शिर निहुराएर दर्शन गरेँ र प्रार्थना पनि गरेँ। एभरेस्ट भ्यु होटलबाट अमादब्लम हिमाल एकदमै सुन्दर देखिन्छ। त्यो देख्दा उकालो र त्यहाँसम्मको यात्राको सबै थकाइ मेटिएको थियो।

नाम्चेबाट अर्को दिन दिबुचेमा बास बसियो। दिङबुचे ४४ सय मिटरको उचाइमा रहेको बजार हो। दिङबुचेमा दुई रात बसियो। यस क्रममा दिङबुचे इलाकामा रहेको पाँच हजारको मिटरमा रहेको भ्यु प्वाइन्टसम्म पुगियो।

दिङबुचेबाट फेरिचे हुँदै लोबुचे पुगेर बास बसियो। लोबुचे पाँच हजार मिटरमा पर्छ। लोबुचेको खाना तथा बसाइ त्यति गतिलो थिएन तैपनि एक रात बिताइयो।

लोबुचेबाट आधार शिविर र खुम्बु ग्ल्यासियर प्रस्ट देखिन्छ। १० वर्षअगाडि खुम्बु ग्ल्यासियर निकै तलसम्म फैलिएको थियो तर अहिले यो पग्लिएर थोरै मात्र अंश बाँकी छ। यो देख्दा जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको थाहा हुन्छ। लोबुचेपश्चात् गोरक्सेप हुँदै आधार शिविरसम्म सातौं दिनमा पुगियो।

आधार शिविर

सगरमाथा आधार शिविर समुन्द्र सतहबाट ५३ सय मिटरको उचाइमा रहेको छ। आधार शिविर छेउमा खुम्बु ग्लेसियर रहेको छ। आधार शिविरमा सुविधा सम्पन्‍न तारे होटेलले प्रदान गर्ने सुविधा प्राप्त गर्न सकिन्छ। आधार शिविर मैले सोचेभन्दा सुविधा सम्पन्‍न र आरामदायी पाएँ।

केही दिन खुम्बु ग्लेसियरमा हिउँमा हिँड्ने, डोरीको प्रयोग गरी हिँड्ने, आफ्नो सरसामान र इक्युपमेन्ट लिएर हिँड्ने, साधारण स्वास्थ्य उपचार तथा अक्सिजनको प्रयोगसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक तालिम प्राप्त भयो। यसबाट आरोहणका लागि आवश्यक पर्ने स्किल प्राप्त भयो। चार दिनको तालिमपश्चात् म लोबुचे हिमाल आरोहणका लागि तयारीमा जुटें।

लोबुचे आरोहण

२६ अप्रिल २०२४ को ०८ः२० बजेको समयमा लोबुचे हिमाल आरोहण गरें। लोबुचे हिमाल खुम्बु क्षेत्रमा पर्ने धेरै चडिने हिमालहरूमध्य एक हो। जुन समुन्द्र सतहबाट ६ हजार एक सय १९ मिटर उचाइमा रहेको छ। लोबुचे हिमालको उचाइ मेरा लागि त्यतिबेलासम्मको सबैभन्दा अग्लो उचाइ थियो 

लोबुचेको आरोहण गर्दा खुम्बु आइसफलमा सिकेका कुराहरूको व्यावहारिक प्रयोग भयो। यसले सगरमाथा आरोहणका लागि आवश्यक पर्ने आधारभूत कौशल प्रदान गर्‍यो।

लोबुचेको आरोहणका क्रममा देखिने हिमशृंखला देख्दा नेपाल कति सुन्दर रहेछ भन्‍ने देखिन्छ तर जलवायु परिवर्तनका कारणले हिमाली क्षेत्रमा आएका परिवर्तनहरू सुन्दा र देख्दा भने मन कटक्‍क खान्छ, के गर्न सकिन्छ होला भन्‍ने प्रश्‍न मनमा खेलिरहन्छ।

पर्वतारोहण गर्न चाहने जो कोहीका लागि पनि यी हिमालहरू उपयुक्त गन्तव्य हुन सक्छन्। यसै क्षेत्रमा रहेका आइल्यान्डपिक र मिरापिकजस्ता ६ हजार वरपर उचाइ भएका हिमालहरू पर्यटक तथा नेपालीहरूका रोजाइमा पर्ने हिमाल हुन्।

खर्चका हिसाबले पनि यी हिमालहरू चढ्न कम खर्चिलो तर अनुभवका हिसाबले हिमाल आरोहणको उत्कृष्ट अनुभव लिन सकिने यी हिमालहरूले वार्षिक करोडौं राजस्‍व संकलन तथा सयौं रोजगारी सिर्जना गरेका छन्। यिनीहरूको प्रवर्धनमा राज्य तथा सम्बन्धित निकायले थप जोड दिनुपर्ने जस्तो लाग्यो। लोबुचे चढिसकेर पुनः सगरमाथा आधार शिविरमा फर्कें। फर्कंदा थप आत्मविश्‍वाससाथ फर्कें।

खुम्बुका समस्या 

आधार शिविरमा आधारभूत बन्दोबस्तीको प्रबन्ध कुशल ढंगले मिलाइएको हुन्छ। यद्यपि खान, बस्न र आधारभूत स्वास्थ्य सेवामा कठिनाइ भने हुने नै भयो। घरपरिवारबाट टाढा बस्नुपर्ने भएको र परिवार तथा आफन्तजनले पनि चिन्ता मात्र व्यक्त गर्नु स्वाभाविक थियो। मसँग आरोहण गर्ने सबैको यस्तै समस्या पाएँ।

आधार शिविरमा देखिने मुख्‍य समस्यामध्ये खुम्बु कफ (खोकी) एक मुख्य समस्या हो। खुम्बु कफले एक पटक समात्यो भने त्यो निको हुने सम्भावना ९० प्रतिशत हुँदैन, निको हुने औषधी पनि हुँदैन। यसको औषधी भनेको नाम्चे, लुक्ला वा काठमाडौं झर्नु हो। खुम्बु कफका कारणले खोक्दा खोक्दै छातीको मसल्स टियर हुने तथा छातीको करङ नै भाँचिन्छ।

यसबाट बच्ने उपाय भनेको कोभिडमा आइसोलेसनमा बसेजस्तो कसैलाई नभेटी कतै नडुली आफ्नो टिममा मात्रै सीमित बस्नु रहेछ। आधार शिविरमा अन्य समूहका मानिस तथा आरोहीहरू अरूको क्याम्पमा आएको त्यति रुचाउँदैनन्। यो खुम्बु कफकै कारणले गर्दा हो।

त्यस्तै आधार शिविरको अर्को समस्या रुघा हो। यो पनि सरुवा रोग भएका कारणले सबै जना एकदमै सतर्क रहन्छन्। तत्काल उद्धारका लागि हेलिकोप्टर आउन समस्या नभए तापनि मौसमका कारणले कतिपय उद्धारहरू ढिलो भएको पाइयो।

सगरमाथाका शेर्पा

शेर्पाहरूले हिमाल आरोहणलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्छन्। तर हिजाेआज हिमालबाट शेर्पाहरू बिस्तारै बिस्तापित हुँदै अमेरिकी तथा युरोपेली मुलुकहरूतिर पलायन हुँदै गएको पाइयो। आरोहणमा काम गरेर केही रकम कमाएका शेर्पा दाजुभाइका छोराछोरीले त्यो पेसा अँगालेको कमै मात्र देख्न पाइयो। यो पनि सोचनीय विषय हो।

शेर्पाहरूलाई कसरी नेपालमै बस्न प्रेरित गर्ने? त्यसतर्फ पनि हामीले सोचिहाल्नुपर्ने स्थिति आइसकेको रहेछ। हिमालमा काम गर्ने जुनसुकै जात थरका भए तापनि शेर्पा उपनाम दिइने रहेछ।

शेर्पाहरूले आरोहणका लागि आवश्यक पर्ने सामग्रीहरू जस्तै अक्सिजन, पाल, खानेकुरा आधार शिविरभन्दा माथिल्ला क्याम्पहरूमा पहिल्यै पुर्‍याउँछन्।

सगरमाथामा आधार शिविरबाहेक चार वटा क्यामहरू रहेका छन्। क्याम्प १-६२०० मिटरमा, क्याम्प २-६४०० मिटरमा, क्याम्प ३-७१०० मिटरमा, क्याम्प ४-७९०० मिटरमा रहेका छन्।

आरोहणका सम्पूर्ण आधार भनेकै शेर्पाहरू हुन्। आरोहीहरूभन्दा अघि नै उनीहरू क्याम्प ४ सम्म धेरैपटक पुगिसक्ने हुनाले उनीहरूको शरीर वातानुकूलित भइसकेको हुन्छ। जसले गर्दा स्वास्थ्यमा कम मात्र समस्या आउँछ। शारीरिक बनावटका हिसाबले शेर्पाहरू प्राकृतिक रूपले नै त्यसै स्थानका लागि बनेका हुन्छन्। उनीहरूको जिनमा नै त्यस स्थानसँग घुलेर बस्न सक्ने क्षमता प्राप्त गरेका हुन्छन्।

आरोहणभन्दा अघि नै सगरमाथाको चुचुरोसम्म शेर्पाहरूले नै डोरी टाँगी बाटो बनाउने गर्छन्। खुम्बु आइसफलदेखि क्याम्प २ सम्मको बाटो बनाउने शेर्पाहरूलाई ‘आइसफल डाक्टर’ उपनामले चिनिन्छ भने त्योभन्दा माथि छुटै कम्पनीले टेन्डरमार्फत डोरी टाँग्ने काम गर्छन्, जसलाई रोप फिक्सिङ टिम भन्‍ने गरिन्छ।

आरोहणका क्रममा शेर्पाहरू आरोहीसँगै आरोहण गर्ने गर्छन्, यस क्रममा उनीहरूले आरोहीको अक्सिजन तथा अन्य सामग्रीहरू बोक्ने र आरोहीलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने गर्छन्। शेर्पाबिना आरोहण असम्भव छ।

आरोहणमा गुनासो

आरोहण दलले सगरमाथामा आफूले गरेको दिसालाई प्याक गरी आधार शिविरमै ल्याउनुपर्छ। शेर्पाहरूले यसलाई गुनासो उपनाम दिएका छन्। आआफ्नो गुनासो आफै बोकेर आधार शिविरसम्म ल्याउनुपर्छ। यसलाई समिट ७ भन्‍ने प्रचलन रहेछ। आरोहण गर्ने र आफ्नो दिसालाई समिट गर्नु सगरमाथा सरसफाइको महत्त्वपूर्ण कार्य हो। मैले पनि सोही अनुसार गरें।

रोटेसन

आरोहण गर्नुपूर्व सगरमाथाको क्याम्प ३ सम्म पुगेर आउने कार्यलाई रोटेसन भन्‍ने गरिन्छ। यसका लागि हामीले बिहान २ बजेदेखि यात्रा सुरु गर्‍यौं। आधार शिविर–खुम्बु आइसफल–क्याम्प १– क्याम्प २ र क्याम्प ३ यो हाम्रो रोटेसनको रुटिन थियो।

बिहान २ बजे मौसम एकदमै चिसो हुने र खुम्बु आइसफलमा रहेको बरफ बलियो हुने, बरफमा गाडिएका पिकेटहरू मजबुत हुने र यात्रा गर्न सुरक्षित हुने हुनाले आरोहीहरू रातको समयमा नै खुम्बु आइसफल पार गर्ने गर्छन्। खुम्बु आइसफल निला बरफहरूको ढिक्‍का हो, जुन सयौं फिट अग्ला र चाक्ला छन्। बरफहरूबीच परेका चिरा/दरारहरूलाई क्रयावास भनिन्छ।

आइसफल डाक्टरले तिनै निलो हिउँमा खोपेर डोरीलाई अड्‍याउने गर्छन् र हिउँका चिराहरू पार गर्न भ¥याङ लगाउँछन्। दिउँसोको समयमा सगरमाथामा एकदमै गर्मी हुन्छ। टिसर्ट लगाएर हिँड्न सकिने हुन्छ। यस्तो अवस्थामा ‘ब्लु आइस’ पनि केही पग्लन सक्ने सम्भावना रहन्छ। तसर्थ आरोहणको यात्रा रातिको समयमा सुक्षित मानिन्छ।

हामी पनि त्यसै आइसफलमाथि टाँगिएको डोरी समाउँदै र भर्‍याङ उक्लँदै खुम्बु आइसफल पार गर्‍यौं। क्याम्प १ पुग्दा बिहानको नौ बज्यो। खुम्बु आइसफल निकै डरलाग्दो र खतरायुक्त छ। तालिममा सिकेका कुराहरूलाई अक्षरशः पालना नगर्दा ज्यान नै जाने जोखिम पनि हुन्छ। कतिपय आरोहीहरू डोरी छाडेर आफूखुसी लाग्दा मृत्यु भएको पनि पाइयो।

यसरी क्याम्प १ पुगेपछि एक रात त्यहीं बिताइयो। भोलिपल्ट क्याम्प २ का लागि प्रस्थान गरियो। क्याम्प १ बाट क्याम्प २ नजिकै देखिन्छ, पाँच घण्टामा पुगिन्छ। क्याम्प २ आधार शिविरजत्तिकै सुविधा सम्पन्‍न क्याम्प हो। यहाँसम्म उद्धारका लागि हेलिकोप्टर आउन सक्ने हुनाले सुरक्षित पनि मानिन्छ। क्याम्प २ मा मासुभात खाइयो, आनन्द लाग्यो।

भोलिपल्ट हामी क्याम्प २ बाट क्याम्प ३ का लागि निस्क्यौ। निकै गर्मी भएको कारणले टिसर्ट लगाएर नै यात्रा गर्‍यौं। क्याम्प ३ को उचाइ सात हजार एक सय मिटर रहेको छ। जुन लोत्से हिमालको काखमा पर्छ र लोत्से हिमालबाट खस्ने ढुंगाहरूले लागी आरोहीहरू घाइते भएको समेत देखियो।

यसरी क्याम्प ३ सम्म पुगेपछि पुनः फर्किएर क्याम्प २ मा आएर सुत्यौं। सात हजार मिटरको उचाइ बिनाअक्सिजन पुग्नु शरीरलाई त्यसका लागि तयारी गर्ने मौका रहेछ। क्याम्प २ मा फर्किएर सुत्दा अघिल्लो बेलुकीको भन्दा आरामको निन्द्रा लाग्यो।

भोलिपल्ट हामी बेस क्याम्पका लागि अगाडि बढ्यौ। दिउँसो दुई बजेतिर आधार शिविर पुग्यौं। रोटेसन गरिसकेपछि मलाई अब चाहीं सगरमाथा चढिन्छ भन्‍ने पूर्ण विश्‍वास जाग्यो। शरीरमा सामान्य थकावटबाहेक अन्य केही समस्या आएन। कतिपय आरोहीहरू रोटेसनका क्रममा नै बिरामी भई आरोहणलाई स्थगित गर्छन्। यसपश्‍चात् हाम्रो काम आराम गर्ने र आरोहणका लागि उपयुक्त दिनको पर्खाइमा बस्नु मात्रै थियो।

आरोहण

सगरमाथा विश्‍वको सबैभन्दा अग्लो अन्तर्राष्ट्रिय सिमाना हो। सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट पहिलो आरोहीका रूपमा सगरमाथामा पाइला टेक्न पाउनु मेरा लागि ठुलो मौका थियो।

सशस्त्र प्रहरी बल, नेपालको प्रमुख कार्यादेशहरूमध्येको एक मानिने सीमा सुरक्षामा एक फड्को मार्न संगठनले दिएको जिम्मेवारी र विश्‍वासले आरोहणका लागि उत्साह र प्रेरणाको काम गरेको थियो। साथै यत्रो ठुलो जिम्मेवारी पाएकोमा केही कारणले आरोहण सफल हुन सकेन भने के गर्ने होला भन्‍ने डर पनि मनमा थियो।

यिनै डर र उत्प्रेरणामिश्रित भावसहित मिति २०८१ जेठ ३ गते सगरमाथा आरोहणका लागि आधार शिविरबाट बिहान एक बजे यात्रा सुरु ग¥यौं। पहिलो दिन क्याम्प २ मा गएर बसियो। थप अर्को एक रात पनि क्याम्प २ मा नै आराम गरियो। हाम्रो आरोहणको मिति जेठ ७ गतेका लागि तय गरिएको थियो। यसका लागि सगरमाथाको हावाको वेग र मौसमको विश्‍लेषण गरी मिति तय गरिएको थियो।

भोलिपल्ट ५ गते बिहानको ब्रेक फास्टपश्‍चात् क्याम्प ३ तर्फ प्रस्थान गरियो । लगभग ६ हजार आठ सय मिटरमा पुगेपछि अक्सिजन लिन सुरु गरियो। सात हजार मिटरको उचाइमा यो भन्दाअगाडि रोटेसनका क्रममा पुगिसकेको हुनाले त्यहाँसम्म पुग्न खासै गाह्रो भएन।

जुन उचाइमा हामी अक्सिजनको प्रयोग गरिरहेका थियौं, त्यो उचाइमा शेर्पाहरू बिनाअक्सिजन भारी बोकेर चुरोट पिउँदै हिँडेको देख्दा अचम्म पनि लाग्यो। क्याम्प ३ बाट माथि एकदमै जटिल र चुनौतीपूर्ण छ। जटिलता भूगोलका हिसाबले र चुनौती सम्पूर्ण हिसाबले।

क्याम्प ३ मा रात बिताइयो। सानो पाखो बारीजस्तो ठाउँमा हिउँ फालेर टेन्ट गाडिएको हुन्छ। दिसा गर्न पनि शेर्पाको मद्दतले डोरीमा समाएर पूर्ण रूपले सावधानी अपनाएर मात्र निस्कन मिल्ने, केही भइहालेमा सिधै खसेर क्याम्प २ मा पुग्ने अवस्था रहेकाले क्याम्प ३ मा बस्दा निकै डर पनि लाग्यो। क्याम्प ३ बाट माथि अक्सिजन लगाइरहनुपर्छ, नत्र बिरामी भइन्छ।

शेर्पाहरूले आफ्नो टेन्टमा सानो आगोमा हाम्रा लागि खाने कुरा तयार गर्न हिउँ पगालेर पानी उमाले, हाम्रो सामान मिलाइदिए र हेरचाह गरे। उनीहरूलाई पनि थकाइ लाग्दो हो, गाह्रो भएको हुँदो हो र चिसो भएको हुँदो हो तर त्यसका बाबजुत पनि हामीलाई साथ दिए।

सगरमाथाको चुचुरोमा

शेर्पाहरू आमाजस्तै हुने रहेछन्। शेर्पाहरूलाई थाक्ने छुट नै रहेनछ किनकि शेर्पाले थकाइ मारे भने आरोहीले जीवनबाट नै थकाइ मार्नेरहेछन्। सम्पूर्ण शेर्पाहरूलाई मनैदेखि धन्यवाद!  भोलिपल्ट बिहान साढे चार बजे फेरि शेर्पाको आवाज आयो-सर उठ्नुस्, ब्रेक फास्ट रेडी छ। शेर्पाहरू तीन बजेदेखि उठेर हाम्रा लागि ब्रेक फास्ट तयार गर्न लागेका रहेछन्। शेर्पाहरू साँचै अचम्मकै हुँदा रहेछन्।

मौसम एकदमै प्रतिकूल थियो। हिउँसहितको तीव्र गतिको हावा चलेकाले पाँच बजे हिँड्ने भनेको सात बजे मात्रै यात्रा सुरु गरियो। हावाको वेगमा कुनै कमी थिएन। १० मिटर अगाडिसम्म मुस्किलले देख्‍न सकिन्थ्यो। यात्रा सुरु गरिसकेकाले पछाडि फर्कने कुनै कुरै थिएन।

मनमनै सोचें -सजिलो त जसले नि चढ्छ, फौजीले यस्तै बेला चढ्ने हो। तालिम गरेको र कठिन परिस्थितिमा पनि अगाडि बढिरहन सक्नु नै बहादुरी हो भन्‍ने सोच्दै सोच्दै पाइला बढाउँदै थियौं।

हाम्रो गति एक मिनेट बराबर पाँच कदमको थियो। लगभग ६५ डिग्रीको भिरमा एउटा डोरीको विश्‍वासमा सबै जना अघि बढ्दै थियौं। क्याम्प ३ बाट ‘यल्लो ब्यान्ड’ पुग्न ६ घण्टा लाग्यो। जुन तीन घण्टाको मात्र बाटो हो। ‘यल्लो ब्यान्ड’ पत्थरको भाग हो, जसलाई पार गर्न कठिन र चुनौतीपूर्ण हुन्छ। ‘यल्लो ब्यान्ड’ पार गरेपछि लोत्से हिमालको क्याम्प ४ देखियो।

बेलुकी पाँच बजे क्याम्प ४ मा पुगियो। प्रायः क्याम्प ४ मा दिउँसो दुई बजेतिर नै पुग्नुपर्ने हो तर मौसमका कारण पाँच बजे पुगियो। क्याम्प ४ को उचाइ करिब आठ हजार मिटर रहेको छ। जहाँबाट माथिको भागलाई डेथ जोन भनिन्छ। समिटका लागि राति १२ बजे हिँड्ने भइयो।

१२ बजे पनि एकदमै तीव्र गतिमा हिउँसहितको हावा चलिरहेकै भए पनि यात्रालाई निरन्तरता दिँदै अगाडि बढियो। त्यतिबेलासम्ममा मेरो टिममा सबैभन्दा बलियो म र मेरो शेर्पा थियौं। हामी अरू आरोहीहरूलाई पछि पार्दै अगाडि बढ्दै थियौं।

एक्‍कासि मेरो शेर्पाले मेरो चस्माले कामै गरेन भन्यो। चस्मामा बाफ पानी बनेर जमेको रहेछ, केही नदेखिने भयो। मसँग भएको अर्को चस्मा निकालेर उसलाई दिएँ। केही समयपछि मेरो चस्मामा पनि सोही समस्या आयो। चस्माअगाडि बरफ जम्यो, केही देखिएन। शेर्पाको डोरी समाउँदै अगाडि बढ्दै थियौं, बिहान तीन बजेतिर हावा चल्न बन्द भयो।

नाङ्गा आँखाले नै माथि चढिरहेको थिएँ। लोत्से हिमाल तल देखिन थाल्यो, अमादब्लम, लोबुचे सबै तल देखियो। चन्द्रमा आँखाको समानान्तर देखियो। एकदमै अद्‍भुत र मनोरम दृश्य देख्‍न पाएँ। बिहान साढे पाँच बजे बालकुनीमा पुग्यौं।

सगरमाथाको चुचुरो त्यहाँबाट प्रस्ट देखिन्थ्यो। बालकुनीबाट केही माथि दाहिनेपट्टि एउटा मृत शरीर एक्‍कासी देखियो, झसङ्ग बनायो। शेर्पाका अनुसार क्याम्प ४ देखि माथि सयौंको संख्यामा यस्ता शवहरू छन् भन्‍ने कुराको जानकारी पाएँ। हिलारी स्टेप नजिकै पनि अर्को शव देखियो।

बादल लागिरहेकाले धेरै परसम्म देख्न सकिने अवस्था थिएन। सावधानी अपनाउँदै बिस्तारै बिस्तारै पाइला चाल्दै थियौं, त्यति बेलासम्ममा मैले दुई वटा अक्सिजन सिलिन्डरहरू प्रयोग गरिसकेको थिएँ। एक्‍कासी अगाडि खादा र तोरण फरफराइरहेको देखेँ अनि शेर्पाले भन्यो– सगरमाथाको चुचुरो यही हो।

सगरमाथाको चुचुरोमा २०८१ जेठ ७ गते बिहान

१०ः२० बजे पुग्न सफल भएँ। सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सगरमाथा पुग्ने पहिलो अधिकृतका रूपमा आफूलाई त्यस ठाउँमा उभ्याउँदा छाती गर्वले ढक्‍क फुल्यो।

करिब दुई घण्टाको चुचुरोको बसाइपश्चात् क्याम्प ४ हुँदै दोस्रो दिन आधार शिविरमा फिर्ता भइयो। सगरमाथा चढ्नुभन्दा झर्न बढी जोखिमपूर्ण हुन्छ भन्‍ने सुनेको थिएँ, साँच्चै रहेछ।

आरोहीले आरोहणका क्रममा आफ्नो सम्पूर्ण शक्ति खर्च गरिसकेकाले फर्कने क्रममा निकै थाकेको हुने, चढिसकियो अब फर्किने त हो नि भनेर सुरक्षा सावधानी नअपनाउने कारणले झर्ने क्रममा धेरै दुर्घटना हुने रहेछन्। आरोहण गर्दा र झर्दा उत्तिकै सावधानीपूर्वक कदम चाल्नुपर्ने रहेछ।

प्रकाशित: २६ जेष्ठ २०८१ ०८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App