२३ असार २०८१ आइतबार
image/svg+xml
विचार

विद्यार्थी स्वयम् नै ज्ञानवीज

, ,,

बदलिँदो समयसँगै विद्यार्थीको मनोसामाजिक रुचि र चाहनामा पनि फरक हुँदै आउँछ। तिनलाई सिकाउने नयाँ-नयाँ प्रविधि र विधिको खोजी तीव्र गतिमा हुनुपर्छ। हामी भने परम्परागत प्रविधि र विधिमै अल्मलिएरका छौं। अनि कसरी विद्यार्थीको सिकाइ प्रभावकारी हुने ? हरेक विद्यार्थीको मनोसामाजिक अवस्था बुझेर सोअनुसार सिक्ने-सिकाउने कार्यमा सबैको ध्यान केन्द्रित हुनु जरुरी छ, अन्यथा हाम्रा उत्पादित जनशक्ति आफ्नो मुलुकमा काम नपाएर अन्य देशका लागि निम्न स्तरको काम गर्ने कामदारका रूपमा भौंतारिने हुन्छन्।

अधिकांश अनुभवी शिक्षकलाई कसरी शिक्षण गरियो भनी प्रश्न राख्दा जवाफ आउँछ– विद्यार्थीलाई शिक्षण त गरियो, तिनका रुचि र चाहनाअनुसार फरक फरक शिक्षण विधि प्रयोग गरिएन। हरेक बालकको आफ्नै चाहना हुन्छ। चाहना बालकैपिच्छे फरक हुन्छ।

 तिनलाई स्वतन्त्रतापूर्वक आफ्नो रुचिअनुसार पढ्नलेख्न दिनुपर्छ। हाम्रा विद्यार्थीका कुरा सुन्नुभन्दा शिक्षकले आफ्नै अनुभव र आफूसँग भएको ज्ञान बाँड्ने कार्य मात्र गर्छन्। यस किसिमको क्रियाकलापले शिक्षण सिकाइमा प्रभावकारिता ल्याउन सक्दैन। यसर्थ शिक्षकले आफ्नै चस्माबाट मात्र हेर्ने जुन दृष्टिकोण छ, त्यो नै आजको सन्दर्भमा गलत छ।

हरेक शिक्षक फरक हुन्छ, हरेक बालक फरक हुन्छ, हरेक व्यक्ति फरक हुन्छ। यस्तै हरेकको क्षमता फरक हुन्छ। बालबालिकाको सम्बन्धमा तिनको चाहना, रुचि र क्षमता ख्याल गरी शिक्षकले सिकाइ प्रक्रियालाई अघि बढाउनु पर्छ। विद्यार्थीमा अन्तरनिहित समस्यालाई शिक्षकले अनुमानका भरमा समाधान खोज्नेभन्दा विद्यार्थी स्वयम्बाट समस्याको कारण थाहा पाउने कोसिस गर्नुपर्छ।

कक्षाकोठामा अध्यापन कार्य गर्दा शिक्षकले पढाउने पाठको प्रश्नहरूको उत्तर शिक्षक स्वयम्ले लेखेर घोक्न लगाउने र गणित पढाउने शिक्षकले गणितका समस्या समाधान गरेर कापीमा सार्न लगाउने परिपाटी अझै विद्यमान रहेसम्म शिक्षणसिकाइ प्रभावकारी हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ। शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझी, मानसिक स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ।

शिक्षकले विद्यार्थीको मनोविज्ञान सामान्य प्रतिकूल देखिएमा प्रारम्भमै परामर्शको मार्ग अवलम्बन गर्नुपर्छ। विद्यार्थीमा परेको मानसिक आघातको उपचार हुन नसकेमा आखिरमा बौद्धिक अपांग बन्न सक्ने सम्भावना हुन्छ। यसर्थ शिक्षकले बालबालिकाको सामान्य मानसिक अवस्थाको ख्याल राखी पठनपाठनलाई सन्तुलित ढंगले अगाडि बढाउनुपर्छ। शिक्षकले विद्यार्थीको ज्ञान प्रस्फुटनका लागि वातावरण मिलाइदिने कार्य गर्नुपर्छ।

शिक्षकले विद्यालयमा आफ्नो सिकाइ प्रविधि र विधिबाट प्राप्त उपलब्धिको मूल्याङ्कन गरिरहेका हुन्छन्। विज्ञान विषयमा शिक्षकले प्रयोगात्मक कार्य, परियोजना कार्य, चार्ट तथा चित्र आदि क्रियाकलाप गराई मूल्याङ्कन गर्न सक्छ। भाषा विषयको शिक्षकले कविता, निबन्ध, कथा, संवाद, लेखरचना आदि लेख्न लगाएर विद्यार्थीको मूल्याङ्कन गर्न सक्छ।

विद्यार्थीले सम्पादन गरेका हर क्रियाकलापको सही रूपले निष्पक्ष मूल्याङ्कन गरिनुपर्छ। सिकाइ क्रियाकलापको अभिन्न अंगका रूपमा लिनुपर्ने कुरालाई हाम्रो राष्ट्रिय पाठ्यक्रमले अंगीकार गरेको छ। सिकाइ क्रियाकलापका रूपमा विद्यार्थीको बुझाइ क्षमता, प्रयोग गर्ने सिप, विश्लेषण गर्ने क्षमता, समालोचनात्मक सोचाइ र सिपको विकास र व्यवहारमा परिवर्तनजस्ता कुराको मूल्याङ्कन नभई हुँदैन।

हाम्रा विद्यालयहरूमा शिक्षकले विषयवस्तु पढाउँदा गुणात्मक सिकाइलाई कम महत्त्व दिन्छन्। कक्षामा बोटविरुवालाई संरक्षण गर्नुपर्छ, त्यसमा पानी दिनुपर्छ भनेर सिकाउँछौं। परीक्षणमा प्रश्न गर्छौं– बोटविरुवा जोगाउन के गर्नुपर्छ? पानी हाली जोगाउनुपर्छ भनी उत्तर दिएको पाइन्छ। तर यी विद्यार्थीले आफ्नो करेसाबारीमा रोपेका बिरुवामा पानी राख्न खोज्दैनन्। यस्तो सिकाइको परियोजना के नै रह्यो र? खाली पढाएर मात्र के अर्थ रह्यो र जब पढेर जानेका कुरा व्यावहारिक जीवनमा प्रयोग हुँदैन भने। पढाएपछि राम्रो हुन्छ भन्ने कुरा सबैले बुझेका छौं तर सार्थक सिकाइबिनाको पढाइले व्यावहारिक जीवनमा सिकाउँदैन।

हामीकहाँ निजीभन्दा सार्वजनिक विद्यालयको शैक्षिक स्तर कमजोर छ भन्छौं। विकसित देशहरूमा सार्वजनिक विद्यालयको गुणस्तर झन् राम्रो हुन्छ। ती विद्यालय अभिभावकको रोजाइमा बढी पर्छन्। उदाहरणका लागि बेलायतमा २४ हजार विद्यालय छन्। तीमध्ये करिब ९३ प्रतिशत सरकारी विद्यालय छन्। त्यहाँ निःशुल्क पढ्न पाइन्छ। शिक्षक योग्य र सक्षम हुन्छन्। उनीहरू आफ्नो पेसाप्रति कटिबद्ध र इमानदार देखिन्छन्। हाम्रो देशमा पनि कतिपय योग्य शिक्षक छन्। तिनले विद्यार्थीको भविष्यको पनि ख्याल राख्ने गरेका छन्। तर हाम्रा विद्यालयमा आवश्यक शिक्षाका पूर्वाधार भने कमी छ।

सार्थक र दिगो ज्ञानबिनाको सिकाइको प्रयोजन रहँदैन। विद्यार्थीको सिकाइ उपलब्धिको सही मापनबिना माथिल्लो कक्षामा उचाल्ने उदार नीति लिएका छौं। केटाकेटीले जानेका हुन् वा नहुन्, कक्षोन्नति गरिन्छ। अनि माथिका कक्षामा पुगपछि झन् कमजोर देखिने र शैक्षिक स्तर पूर्णरूपले गिर्दो अवस्थामा पुगेको भान हुने गरेको छ। हुन त प्राथमिक शिक्षा नै वास्तविक शिक्षाको आधार भएकाले प्रारम्भिक तहबाटै सुधार्दै लग्नुपर्छ।

शिक्षक सक्षम र सक्रिय भएर शिक्षण सिकाइमा लागेमा शिक्षण सुधार हुन सक्छ। अब्बल शिक्षकको सिकाइप्रति विद्यार्र्थी आकर्षित हुन्छन्। यस्ता कुरालाई ख्याल गर्न नसक्दा नै आज सामुदायिक विद्यालयका शिक्षकप्रति उचित सम्मान हुन सकेको छैन। विद्यार्थीले गुणस्तरीय शिक्षा नपाएकाले योग्य नागरिकको उत्पादन नभएको हो। यस्तो हुनुमा कसैले शिक्षालाई दोष दिने गरेका छन् भने कसैले स्वयम् विद्यार्थी वा सरकार दोषी भन्दै हिँडेका छन्। यसरी एकले अर्कालाई दोष थोपरेर पन्छिन मिल्दैन। विगतका कमीकमजोरीबाट पाठ सिकी भविष्यको नीति र कार्यक्रम तय हुनुपर्छ।

शिक्षा नै मानव विकासको आधार स्तम्भ हो। शिक्षाको आदर्श वा उद्देश्यको पृथक्ताका दुई आधार देखिन्छन्। पहिलोले मानिसलाई रित्तो भाँडो ठानेर त्यसमा ज्ञान भर्ने र दोस्रोले ज्ञानको बीज स्वयम् उसैसँग हुन्छ भन्ने हो। खाली वातावरणमा जुटाउने काम हुनुपर्छ। यसरी विद्यार्थीले उद्देश्यअनुसार विद्यालयमा गएर ज्ञान सिक्ने र उनीहरूको रित्तो दिमागलाई परिपूर्ण गराउने दायित्व नै शिक्षक हो। यो धारले प्राचीन परम्परादेखि नै मान्यता पाउँदै आएको सोच हो।

दोस्रो धारमा बालबालिका स्वयम् सक्षम हुन्छन्। उनीहरूलाई बाहिरबाट ज्ञान भर्नुपर्दैन। ज्ञानको बीज हरेक बालबालिकासँग हुन्छ। त्यसमा शिक्षकले खाली सहजकर्ताका रूपमा काम मात्र गर्ने हो। आफूलाई सर्वज्ञ ठानेर विद्यार्थीलाई आदेश दिने काम शिक्षकको होइन भन्ने धारणा विश्वविख्यात अमेरिकी शिक्षाविद् जोन हल्टले व्यक्त गरेका छन्।

बालबालिकाका लागि आफूखुसी चल्न, खेल्न, बस्न, नाच्न, हाँस्न, पढ्न नपाउँदा मौलिकता र सिर्जनात्मकतामा समेत ह्रास हुने र आफ्नोपन कुण्ठित हुन पुग्ने हुन्छ। बच्चादेखि नै तिनका अस्मिता, पहिचान, स्वाभिमान र आत्मविश्वास बचाउने कार्य हुनुपर्छ।

यसो नभई बालबालिकालाई बढी नियन्त्रणमा राखी अभिभावक तथा शिक्षकको आदेश वा भनाइ मात्र पालना गराउने कार्य भएमा तिनका रुचि, चाहना र स्वतन्त्र व्यक्तित्व दबेर जाने, केवल कारखानामा उत्पादित वस्तुजस्तै बन्ने हुन्छन्। यस किसिमको दबाबमा बालबालिकालाई हुर्काउन हुँदैन।

प्रकाशित: ३० वैशाख २०८१ ०६:३० आइतबार

Psychosocial interest and desire of students technology and method tradition