२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको विदेश मन्त्रीमा जयशंकरको पुनरागमनः नेपालसँगको सम्बन्ध होला त सुधार ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। जसमा उनले ५ महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा पुरानै मन्त्रीहरूलाई दोहोर्याएका छन्।

सोमवार मन्त्रिपरिषद् विस्तार गर्दै मोदीले विदेश मन्त्रीको जिम्मेवारी पुनः डा. एस जयशंकरलाई दिएका छन्। जसले गर्दा भारतसँग नेपालको सम्बन्धमा कुनै नयाँपन आउँला जस्तो देखिँदैन।

नेपालले ४ वर्ष अघि सार्वजनिक गरेको कालापानी, लिपुलेक, लिम्पयाधुरासहितको चुच्चे नक्सा लगायतका विवादमा समाधान खोज्न भारतसँग कुनैपनि छलफल वा कुराकानी हुन सकेको छैन। विवाद समाधान गर्न नेपालले प्रस्ताव पठाए पनि भारतले त्यसलाई मानेको छैन। यस विषयमा दुबै देशबीच कुनै संवाद नै नभएका कारण दुई देशबीचको सम्बन्धमा अझैपनि चिसोपना कायमै छ।

भारतले २०७६ कात्तिक १६ मा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक ग¥यो। त्यसपछि दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कोसिस गरे तर, भेट्न सकेनन्।

भारतले एकतर्फी रूपमा राजनीतिक नक्सा जारी गरेपछि नेपालले कूटनीतिक नोट पठाएर असहमति जनायो। चीनले पनि आफ्नो तर्फबाट राजनीतिक नक्सा जारी गर्दा त्यसमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भारततर्फ नै देखायो।

नेपालले दुईपटक मितिसहित वार्ताको प्रस्ताव पठाए पनि उसले औपचारिक जवाफ दिएन र अझै दिएको छैन। भारतले भनेकै मितिमा वार्ता गर्न तयार रहेको कुरा नेपालले जानकारी गराए पनि भारतले त्यसमा कुनै चासो दिएको छैन।

बरु कोभिड–१९ को संकटका बेला नेपाली भूमिमा सडक उद्घाटन ग¥यो। त्यसपछि पनि नेपालले कूटनीतिक नोट पठाएर असहमति जनायो। तर, त्यतिबेला समेत विदेशमन्त्री रहेका जयशंकरले त्यसमा कुनै प्रतिक्रिया जनाएनन्।

भारतले नेपालसँगको विवादलाई गम्भीरतापूर्वक नलिएका कारण दुबै मुलुकबीच हालसम्म कुनैपनि बैठक नै बस्न सकेको छैन। नेपालका नेताहरूसँग जयशंकरको सम्बन्ध राम्रो छैन। संविधान निर्माणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर नेपाल आउँदा उनले निर्वाह गरेको भूमिका र मन्त्रीका रूपमा नेपाल आउँदा पनि उनको एउटै रवैया देखियो।

जयशंकरको नेपालप्रतिको हेराइ असल मित्रका रूपमा देखिँदैन। पछिल्लो पटक नेपाल भ्रमणमा आउँदा पनि उनी रुष्ट बनेर फर्केका थिए। एकैदिन चिनियाँ दूत र उनको भ्रमण परेका कारण उनी रुष्ट बनेका थिए।

अब फेरि उनी मोदी क्याबिनेटमा पुरानै मन्त्रालयमा आएका छन्। उनको पुनरागमनले नेपालसँगको सम्बन्धमा कस्तो असर पर्छ र थाति रहेका मुद्दामा छलफल हुन्छ या हुँदैन भन्ने हेर्न बाँकी छ।

पछिल्लो केही समयदेखि भारत–नेपाल सम्बन्ध घडीको पेन्डुलम जस्तै सङ्कटको एक कुनाबाट अर्को कुनामा गइरहेको छ। यसलाई सुधार्न भारतले विषेश पहल गर्नुपर्ने परराष्ट्र मामिलाका जानकार राजेश्वर आचार्यको भनाइ छ।

नागरिक न्यूजसँगको कुराकानीमा उनले भने, ‘जयशंकर अनुभवी मान्छे हुन्। उनले विदेश कुटनीति राम्रोसँग बुझेका छन्। तर, दुई छिमेकी मुलुकबीचको विवादलाई समाधान गर्ने विषयमा उनको खासै चासो नदेखिनु राम्रो भने होइन।’

उनले दुई देशबीच नक्सामात्रै नभई राष्ट्र बैँकमा जम्मा भएको भारतीय रुपैयाँ, दुबै देशबीच मैत्री सन्धीमा परिवर्तनको मुद्दा र सेनामा अग्निवीरको योजनाका कारण भारतीय सेनामा गोरखा सैनिकको रुकेको भर्ना, बढ्दो व्यापार घाटा र ठप्प हवाई मार्ग जस्ता विभिन्न मुद्दामा भारतसँग छलफलनै हुन नसकेका कारण यसपटक भने सम्बन्ध सुधारका लागि पहल होला की भन्ने आशा गर्न सकिने बताए।

आचार्यले समस्या समाधान नगरेसम्म, छलफलमा बस्दै नबसिकन दुई देशबीच उत्पन्न विवादलाई साम्य गर्न नसकिने भएकाले वार्ताको माध्यमबाट खुलेर एक अर्काको कुरा राख्ने वातावरण बनाएर विवाद टुङ्ग्याउनुपर्ने बताए।

उनले थपे, ‘अहिले मोदीको एक सरकार छैन। उनको भारतीय जनता पार्टीले बहुमत हासिल नगरेका कारण गठबन्धनको सरकार बनेको छ। त्यसकारण नेपालसँगको सम्बन्धलाई सुधार्न मोदी सरकारले पहल गर्न सक्छ कि भन्ने आशा छ।’

अर्का परराष्ट्र मामिलाका जानकार रमेशनाथ पाण्डेले भने भारतमा प्रधानमन्त्री मोदीको १० वर्ष परानो नेतृत्त्वले निरन्तरता पाएको भन्दै मोदीले आफ्ना अनुभवी मन्त्रीहरूलाई महत्त्वपूर्ण मन्त्रालयहरूमा दोहोर्याएको बताए।

उनले नेपाल–भारतका बीचमा इतिासले छाडेका र हालै थपिएका अप्रिय बोझहरू थुप्रो लागेको भन्दै त्यसलाई सेलाएर सहयोग र सद्भावको आधारमा नेपाल–भारत सम्बन्धको श्री गणेश गर्नुपर्ने बताए।

‘दुई देश बीचको सम्बन्धलाई नयाँ ढङ्गबाट सुरु गर्नका लागि दुई देशबीचमा पत्यार र विश्वास हुनुपर्छ’ उनले भने, ‘तर, दुर्भाग्यवश नेपाल र भारतको बीचमा पत्यार र विश्वासको सञ्चितीको अभाव छ।’ 

प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएर फर्केपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यो भ्रमण असाधारण भएको प्रतिक्रिया दिए।

उनले मोदीसँगको वार्ता सकारात्मक भएको दाबी पनि गरे। प्रधानमन्त्री दाहालले यस्तै दाबी पहिलेपहिले पनि गर्दै आएको भन्दै परराष्ट्रविद् पाण्डेले भने, ‘तर, दुबै देश बीचको सम्बन्ध न्यानो भने हुन नसकेको कुरा जगजाहेर छ।’

स्वयं प्रधानमन्त्री दाहालले पनि यसपटक भारतीय प्रधानमन्त्री मोदीसँगको वार्तामा धेरै पहिले स्थापित सबै संयन्त्रहरू सक्रिय बनाउने र विगतमा भएका सहमतिहरू कार्यान्वयन गर्नमा भारत सकारात्मक भएको बताउनुले दुबै देश बीचको सम्बन्ध चिसिएको पुष्टि गरेको पाण्डेले टिप्पणी गरे।

यथार्थमा नेपालको दुबै छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध चिसिएको छ र यो सुखद भने नरहेको पाण्डेको भनाइ छ।

प्रकाशित: २९ जेष्ठ २०८१ १६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App