२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यान्मारमा सङ्कटकालको अवधि ६ महिना बढाइयो

म्यान्मारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले थप ६ महिनाका लागि सङ्कटकालको अवधि बढाइएको छ।

बुधवार बसेको परिषद्को बैठकले सङ्कटकालीन अवस्थालाई ६ महिनासम्म बढाउन सहमति जनाएको हो। यस कदमले सेनाले निर्वाचन गराउन गरेको प्रतिबद्धतामा पुनः ढिलाइ हुने भएको छ।

जुन्ताले विज्ञप्तिमा भनेको छ, ‘स्थिति सामान्य नभएको र आतङ्कवादीहरूसँग मुकाबिला गर्ने प्रक्रिया जारी राख्न सक्षम हुनुपर्ने भन्दै कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले आगामी छ महिनाका लागि सङ्कटकालीन अवस्थालाई बढाउने घोषणा गर्नुभएको छ।’

सन् २०२१ फेब्रुअरीमा सेनाले आङ सान सु कीको सरकारलाई अपदस्थ गर्दा व्यापक विरोध प्रदर्शन भएको थियो र सेनाको कदमप्रति असहमति व्यक्त गर्नेमाथि कारवाही गर्दै सङ्कटकाल घोषणा गरेको थियो।

नयाँ निर्वाचन गराउने वाचा गरेको जुन्ता सरकारले मुलुकका धेरै भागमा आफ्नो सैन्य विद्रोहका लागि सशस्त्र विरोधको सामना गरिरहेको भन्दै सङ्कटकाललाई धेरै पटक बढाएकाले निर्वाचन गराउन ढिलाइ भइरहेको छ।  

म्यान्मारको सेनाले तयार पारेको सन् २००८ को संविधानमा अधिकारीहरूलाई सङ्कटकाल हटेको छ महिनाभित्र नयाँ निर्वाचन गराउनुपर्ने व्यवस्था गरिएको छ। जुन्ता सरकारले उक्त संविधान अहिले पनि लागु भएको जनाएको छ। एक स्थानीय अनुगमन समूहका अनुसार असहमति व्यक्त गर्नेमाथि गरिएको कारवाहीमा चार हजार चार सयभन्दा धेरै मानिस मारिएका छन्। रासस

प्रकाशित: १८ माघ २०८० ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App